बाङ्ग्लादेशबाट भारत हुँदै यात्रुवाहक बस नेपालमा

  • 25 एप्रिल 2018
बाङ्ग्लादेशको राजधानी ढाकाबाट हिँडेका दुई वटा बा्ङ्गलादेशी यात्रु बस मेचीपुलमा

बाङ्ग्लादेश, भारत र नेपालबीचको सीधा यात्रुवाहक बस आवागमनका लागि परीक्षण सञ्चालन भए पनि स्थायी आवागमन अझै अनिश्चित रहेको नेपाली अधिकारीहरूले बताएका छन्।

तीन देशबीच सीधा यातायात सञ्चालनका लागि परीक्षणमा प्रयोग गरिएका गत सोमवारबाट बाङ्ग्लादेशको राजधानी ढाकाबाट हिँडेका दुई वटा बाङ्ग्लादेशी बस बुधवार नेपाल आइपुगेका छन्।

तर तीन देशबीच स्थायी यात्रुवाहक बस सञ्चालनका लागि गर्नुपर्ने कामहरू अझ बाँकी रहेकाले कहिलेदेखि पूर्ण सञ्चालनमा आउँछ भन्ने निश्चित नभएको यात्रामा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले बताए।

उनले भने, "तीन देशबीचको यात्रामा रहेका सवारी साधनको बीमा, बसका कर्मचारीहरूको यात्रामा चाहिने पासपोर्ट तथा अन्य कागजपत्र, यात्रुहरूलाई चाहिने भिजा लगायतका विषयमा टुङ्गो लाग्न बाँकी नै छ। यसलाई टुङ्ग्याउन अझै केही महिना त लाग्छ।"

स्थायी सञ्चालन?

तीन देशबीचको सीधा यात्रुबस सञ्चालनको परीक्षण यात्रामा बा्ङ्गलादेशका ३२, भारतका १२ र नेपालका छ जना सरकारी अधिकारीहरू रहेका छन्।

यात्रामा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अर्का वरिष्ठ डिभिजनल इन्जिनियरका अनुसार यात्रु बस सञ्चालनका लागि त्रिदेशीय सम्झौता भएपछि स्थायी सञ्चालन हुनेछ।

स्थायी सञ्चालनका लागि सडकको अवस्था ठिक रहेको उनले बताए।

नेपाल र भारतबीच खुला सीमा भएका कारण भिजाको आवश्यकता नपर्ने तर भारत र बाङ्ग्लादेशवबीच भने आवतजावतका लागि भिजा चाहिने भएकाले यात्रु बस आवागमनमा समस्या हुनसक्ने बताइन्छ।

'बाधा हुँदैन'

यात्रामा रहेका भारतीय अधिकारीहरूले भने कुनै प्रतिक्रिया दिन चाहेनन्।

नेपालमा रहेको बाङ्ग्लादेश दूतावासका प्रथम सचिव मोहम्मद मा. हकले तीन देशबीचको सहमति भएकाले यात्रु बस सञ्चालनमा बाधा नपुग्ने दाबी गरे।

उनले भने, "अहिलेको परीक्षण सञ्चालनमा पनि तीन देशकै अधिकारीहरू सम्मिलित छन्। त्यसैले कुनै समस्या हुन्न भन्ने लाग्छ।"

बाङ्ग्लादेश, भुटान, भारत र नेपालबीच सीधा यात्रु बस आवागमनका लागि सन् २०१५ को जुन १५ मा सम्झौता भएको थियो।

भुटानबाहेक सबै देशका सदनहरूले उक्त सम्झौता अनुमोदन गरिसकेका छन्।

परीक्षण सञ्चालनमा पनि भुटानको सहभागिता छैन।

सम्बन्धित सामग्री