जनावर उपहार मात्रै दिने कि लिने पनि

  • 17 अगस्ट 2018
गैँडा तस्वीर कपीराइट RSS

नेपालले एक महिनाभित्र दोस्रो जोडी एकसिङ्गे गैँडा चीनलाई उपहार दिएको छ। यसलाई कूटनीतिकै अर्को स्वरूप मानिएको छ।

यस्तो खाले कूटनीतिमा उपहारहरू लिने र दिने भइराख्छ। विभिन्न देशसँग जनावरहरू आदानप्रदान गर्ने काम नेपालका लागि नौलो होइन पनि।

तर नेपालभित्र अर्को ठूलो प्राणी उद्यान स्थापना नगरेसम्म विदेशबाट जनावरहरू उपहारकै रूपमा लिन समेत कठिन हुने विज्ञहरूले औँल्याएका छन्।

कूटनीतिक सम्बन्ध र अनुसन्धानका दृष्टिले महत्त्वपूर्ण मानिने यस्तो अभ्यासबाट फाइदा लिन नेपालले अन्य देशमा पाइने जनावरहरू समेत ग्रहण गर्नसक्ने पूर्वाधार बनाउन ढिलो गर्न नहुने उनीहरूको मत छ।

अभ्यास

कूटनीतिक तहमा उपहारस्वरूप दिइने जनावरहरू अधिकांश उनीहरूको पूर्ण सुरक्षा सुनिश्चित हुनेगरी चिडियाखानाजस्ता क्रित्रिम संरक्षणगृहमा राखिन्छन्।

नेपालले अमेरिका, जर्मनी, सिङ्गापुर, जापान एवम् भारत र चीनलाई सबैभन्दा बढी सङ्ख्यामा गैँडा नै उपहार दिएको छ।

त्यसपछि भने घरियाल गोहीका अण्डा र बच्चा दिइएको सरकारी विवरणले देखाउँछ।

नेपालले भने थाइल्यान्डबाट हिप्पो अर्थात् जलगैँडा, चीनबाट गोही, मलेशियाबाट नेपालीमा वनमान्छे भनिएको सियामाङ, अस्ट्रियाबाट अस्ट्रिच, भारतबाट सिंहपुच्छ्रे बाँदरजस्ता विभिन्न जनावरहरू उपहार नै पाएर जाउलाखेलस्थित सदर चिडियाखानामा राखेको छ।

चिडियाखानामा केही वर्षअघि सम्म जिब्रा र सिंह पनि थिए।

चुनौती

झन्डै छ हेक्टर क्षेत्रफलमा रहेको सदर चिडियाखाना अरू अन्तर्राष्ट्रिय चिडियाखानाको दाँजोमा सानै मानिन्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
चीनलाई गैँडा हस्तान्तरण

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, "सूर्यविनायकमा हामी २४५ हेक्टरमा प्राणी उद्यान बनाउँदैछौँ। त्यो बनेपछि त बाहिरबाट जनावरहरू ल्याउनैपर्छ।"

कूटनीतिक अभ्यास बाहेक पनि विभिन्न देशका चिडियाखानाहरूले आफ्नोमा धेरै भएका जनावरलाई साटफेर गर्ने प्रचलन रहेको छ।

तर प्रस्तावित नयाँ प्राणी उद्यान नबनेसम्म त्यसो गर्न सम्भव नभएको चिडियाखानका अधिकारीहरू बताउँछन्।

भारतलाई सन् १९८५ मा गैँडा उपहार दिँदा नेपालले उताबाट पाएको हात्तीलाई कोशीटप्पु वन्यजन्तु आरक्षमा राखेको थियो।

तर उपहारमा पाइने सबै जनावहरूलाई प्राकृतिक वासस्थानमा छाड्न नसकिने अधिकारीहरूको मत छ।

अवसर

प्राकृतिक वासस्थानबाट लोप हुन लागेकालाई जोगाउन र उनीहरूको प्राकृतिक वासस्थानमा केही महामारी भएमा अन्यत्र वंशाणु सुरक्षित राख्न सकिने भएकाले समेत जनावरको आदानप्रदान बढेको पाइन्छ।

सदर चिडियाखानाको प्रमुख रहिसकेकी राष्ट्रिय प्रकृति संरक्षण कोषकी कार्यक्रम निर्देशक सरिता ज्ञवाली भन्छिन्, "हाम्रो चिडियाखानाको ठाउँ धेरै सानो छ, त्यसैले अहिले हामी आफैले बाहिरबाट जनावर लिन खोजिरहेका छैनौँ।"

संसारभरिका चिडियाखानाहरू शैक्षिक केन्द्र, अध्ययन केन्द्रका रूपमा रहेका पाइन्छन्।

सदर चिडियाखानामा मात्र अवलोकनका लागि वार्षिक १० लाख भन्दा बढि मानिसहरू आउने गर्छन्।

सम्बन्धित सामग्री