विनाशकारी समुद्री आँधी हङ्कङ हुँदै चीन

  • 16 सेप्टेम्बर 2018
म्याङकुट टाइफुन तस्वीर कपीराइट EPA

शक्तिशाली समुद्री आँधी म्याङ्कुट टाइफुनले चीनको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्तमा विनाश निम्त्याइरहेको छ। त्यहाँ प्रतिघण्टा १६२ किलोमिटरको वेगमा हुरी चलिरहेको छ।

हङ्कङबाट आएको उक्त आँधीबाट बच्न ग्वान्डङ प्रान्तले उच्च सतर्कता अपनाएको छ।

हङकङमा म्याङ्कुट टाइफुनले गगनचुम्बी घरहरू नै हल्लाइदिएको थियो र झ्यालहरू उडाइदिएको थियो।

फिलिपिन्समा म्याङ्कुट टाइफुनबाट मर्नेहरूको सङ्ख्या ४९ पुगेको छ।

प्रभाव

भीषण वर्षाका कारण गएको पहिरोले सबैभन्दा धेरै ज्यान लिएको बताइएको छ।

म्याङ्कुटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी मानिएको छ।

उक्त आँधी जेङ्मेन सहरनजिकै रहेको चिनियाँ तटमा स्थानीय समयानुसार आइतवार मध्याह्न प्रवेश गरेको सरकारी सञ्चारमाध्यले जनाएको छ।

हजारौँ मानिसलाई ग्वान्डङबाट हटाइएको छ र अधिकारीहरूले सबैभन्दा उच्च तहको सतर्कता जारी गरेका छन्।

हङ्कङमा पनि अधिकारीहरूले उनीहरूको सबैभन्दा उच्च तहको सतर्कता जारी गरेका छन्।

तस्वीर कपीराइट EPA

चेतावनी

आँधीले उडाएका सामानबाट जोगिन मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिइएको छ।

त्यहाँ ११७ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ।

केही स्थानमा पानीको सतह साढे तीन मिटरसम्म माथि आएको छ र त्यहाँ जिउँदा माछाहरू सडकमा बगेका थिए।

अधिकांश पसलहरू र सा‍र्वजनिक सेवाहरू बन्द गरिएको थियो र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा ८०० भन्दा बढी उडानहरू रद्द गरिएको छ।

यसले गर्दा एक लाखभन्दा बढी यात्रुहरू प्रभावित भएका छन्। तर सबै जनाले जारी गरिएका चेतावनीलाई वास्ता गरेनन्।

हङ्कङका बासिन्दा हाओ चेनले समाचार संस्था एफपीसँग भने, "आज बिहान म कुद्न गएको थिएँ। मलाई ताजा हावा खान मनपर्छ र सडकमा कोही पनि थिएन, गाडीहरू पनि थिएनन्। सामान्य दिनमा हामीले यस्तो देख्न सक्दैनौँ।"

असर

छिमेकी मुलुक मकाउले उसको इतिहासमै पहिलो पटक उसका चर्चित जुवाघरहरू बन्द गर्न आदेश दिएको छ।

म्याङ्कुट आँधी मङ्गलवारदेखि कमजोर हुँदै जाने आशा गरिएको छ।

अधिकारीहरूका अनुसार फिलिपिन्समा मानिसहरूको मृत्युको प्रमुख कारण पहिरो रह्यो।

तस्वीर कपीराइट EPA

मृत्यु भएकाहरूमध्ये एकजना शिशु र एउटा बामे सर्ने बच्चा पनि रहेको बताइएको छ।

सडक र सञ्चारसम्पर्क विच्छेद भएका कारण विस्तृत विवरणहरू आउने क्रम अझै जारी छ।

म्याङ्कुट फिलिपिन्सको मुख्य द्वीप लुजोनबाट शनिवार प्रवेश गरेको थियो।

चिन्ता

पचास लाख मानिसहरू सो आँधीमा परेका थिए। टाइफुनले पारेको आर्थिक क्षतिबारे पनि चिन्ता व्यक्त गरिएको छ।

एक प्रमुख कृषि प्रान्त कागायानको खेतहरूमा म्याङ्कुटले व्यापक क्षति पुर्‍याएको छ।

फिलिपन्समा नियमित रूपमा टाइफुन आइरहन्छन्। तर म्याङकुटले त्यहाँको राष्ट्रिय अभिलेखमा रहेको हालसम्मकै सबैभन्दा शक्तिशाली हायान आँधीलाई सम्झाएको छ।

सन् २०१३ मा आएको उक्त टाइफुनले सात हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

यद्यपि त्यसयता तयारी गर्ने र मानिसहरू हटाउने प्रक्रियामा सुधार आएको छ।

यसपटक त्यहाँ चेतावनीहरू जारी गरिएका थिए, विद्यालयहरू बन्द गरिएका थिए र सेनालाई तयारी अवस्थामा राखिएको थियो।