धान उत्पादन: के नेपाल आत्मनिर्भर हुन लागेको हो

  • 26 अक्टोबर 2018
धान खेती
Image caption ६० प्रतिशतभन्दा बढी धान रोपाईं हुने क्षेत्र बर्खे पानीमा निर्भर रहने हुँदा उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको छ

अघिल्ला केही वर्षका तुलनामा यसपटक सन्तुलित वर्षा भएकाले मुख्यगरी मनसुनी वर्षामा निर्भर रहेको धान उत्पादन यो वर्ष १० प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण कृषि मन्त्रालयले गरेको छ।

६० प्रतिशतभन्दा बढी धान रोपाईं हुने क्षेत्र बर्खे पानीमा निर्भर रहने हुँदा उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको छ।

प्रक्षेपण अनुसार भएमा पाँच वर्षमा चामलमा आत्मनिर्भर हुने सरकारी लक्ष्य नजिक पुग्न त सकिनेछ, तर सिंचाइ प्रणालीलाई विस्तार गर्न नसकिए त्यो जुनकुनै बेला तलमाथि भइरहने विज्ञहरू बताउँछन्।

प्रक्षेपण

भने अनुसार भएमा अघिल्लो वर्ष साढे ५२ लाख मेट्रिक टन उत्पादन भएको धान यस पटक ५८ लाख मेट्रिक टनसम्म पुग्ने देखिन्छ।

आयातको तथ्याङ्क हेर्दा झण्डै छ लाख मेट्रिक टन धान अपुग देखिएकोमा यो वृद्धिले आत्मनिर्भर हुन आवश्यक लक्ष्यको नजिक पुराउने अधिकारीहरू बताउँछन्।

उत्पादन वृद्धिको कारणबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, "यो वर्ष धान रोप्ने बेलादेखि नै मौसम अनुकूल रह्यो र बीचबीचमा समेत पानी परिरह्यो। विगतमा कुनै बेला खडेरी पर्ने त कुनै बेला बाढी पहिरोले समस्या सिर्जना गर्थ्यो।"

आधार

बालीमा लाग्ने रोग, किराको आक्रमण, खेती भएको क्षेत्रफल र मौसमी अनुकूलतालाई आधार मानेर त्यस्तो प्रक्षेपण गरिएको हो।

त्यसको निश्चित विवरण धान कटानी सकिने मङ्सीर महिनाको अन्त्यसम्ममा आउनेछ।

जग्गा प्लटिङका कारण खेतीयोग्य जमिन कम भएता पनि अहिले चैते धान रोपाईंको क्रम बढेकाले समग्र उत्पादनमा असर नपर्ने राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रका धान संयोजक रामवरण यादवले बताए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
धानविद् भोलामानसिंह बस्नेत

उनी भन्छन्, "हाम्रो रोपाई हुने झण्डै १५ लाख हेक्टरमा प्लटिङ् गरिएर घर, सडक बन्ने काम भए तापनि अहिले बढेको चैते धानका कारण कुन उत्पादनमा त्यसको तत्काल असर देखिएको छैन।"

वैदेशिक रोजगारीका कारण खेती गर्ने जनशक्तिमा कमी भइरहेको बताइए पनि बढ्दो यान्त्रिकरणले त्यो अभाव खट्किन नदिएको अधिकारीहरू बताउँछन्।

चुनौती

मनसुन राम्रो भईदिंदा तीन वर्ष अघिको तुलनामा यो वर्ष रोपाईंको क्षेत्रफल ९ प्रतिशतले बढेको पाइएको छ।

तर सिंचाइजस्ता व्यवस्थामा सुधार नगरे मनसुन अनुकूल नहुँदा जुनसुकै बेला धान उत्पादन घट्न सक्ने जानकारहरू बताउँछन्।

तस्वीर कपीराइट Reuters

कृषि तथा वनविज्ञान विश्वविद्यालयकी प्राध्यापक कल्याणी मिश्र भन्छिन्, "तराईका उर्वर जमिनको संरक्षण गर्न आवश्यक छ र सिंचाइका कारण प्रयोगमा आउन नसकेका जमिनलाई उपयोग गर्नुपर्छ। कम उत्पादन हुने पहाडी भेगमा उन्नत र नयाँ जातका धान रोप्न उत्प्रेरित गर्नुपर्छ।"

समग्रमा देशको धान उत्पादन बढ्ने अनुमान भइरहंदा पूर्व तराईका पर्सादेखि सप्तरीसम्म भने अवस्था विपरित बाला पसाउने बेलामा पानी पर्न छाडेका कारणले त्यहाँ अघिल्लो वर्षभन्दा १५ प्रतिशतसम्म उत्पादन घट्न सक्नेछ।

धान उत्पादनमा आत्मनिर्भर बन्न उन्नत बिउ र सिंचाइमा हुने लगानीले मात्र उत्पादन स्थिर बनाउन सहयोग पुर्‌याउने जानकारहरू बताउँछन्।

सम्बन्धित सामग्री