'प्रधानमन्त्रीको ज्वरो र रक्तचाप नियन्त्रणमा'

  • 29 अक्टोबर 2018
PM तस्वीर कपीराइट Rss
Image caption थप संक्रमणबाट जोगाउन अस्पतालमा समेत प्रधानमन्त्रीलाई निकै कमसँग भेट्न दिइएको छ

छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको पाइएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर हुँदै गएको चिकित्सकहरूले जनाएका छन्।

केही दिनदेखि प्रधानमन्त्री निवास वालुवाटारमै आराम गरिराखेका उनको स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि सोमबार बिहान प्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुर्याइएको थियो।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दशैं सकिएसँगै रूघा-खोकीको समस्या झेल्न थालेका उनलाई शुक्रबारदेखि ज्वरो समेत आउन थालेको थियो।

कारण

आफ्नो स्वास्थ्य बिग्रिएकै कारण शनिवार आयोजित नेपाल कम्युनिस्ट पार्टीको चियापानमा सहभागी नभएका प्रधानमन्त्री ओली आइतबार मन्त्रिपरिषद्को बैठकमा केहीबेर मात्र बसेका थिए।

एक दशकअघि मृगौला प्रत्यारोपण गरेका उनले दशैंमा धेरैलाई टिका लगाइदिएका थिए। त्यसैबेला संक्रमण भएको हुनसक्ने उनका निजी चिकित्सक डा. दिव्या सिंहले बताइन्।

उनले भनिन्, "वहाँलाई दशैं सकिएपछि रूघाखोकीको समस्या देखिएको हो। दशैंमा टिका लगाउन निकै भिडभाड बढेको थियो। मृगौला प्रत्यारोपण गरिसकेको व्यक्ति भएकाले वहाँलाई निको नहुँदै धेरै मानिसहरू भेट्न आएभने संक्रमण हुन सक्ने हुँदा सिसियुमा राखिएको हो।"

थप संक्रमणबाट जोगाउन अस्पतालमा समेत प्रधानमन्त्रीलाई निकै कमसँग भेट्न दिइएको छ।

निगरानी

चिकित्सकहरूका अनुसार शुरुमा रूघाखोकी लागेर छातीमा संक्रमण शुरू भएता पनि निमोनिया नभएको चिकित्सकहरुले जनाएका छन्।

ब्रोङ्काइटिसको समस्या देखिएको र उनलाई आराम पनि हुने भएकाले अस्पतालमै राखेर एन्टीबायोटिक्स औषधिको अवधि पुरा गर्ने उनीहरूको योजना छ।

उपचार टोली संयोजक डा. अरूण सायमीका अनुसार प्रधानमन्त्रीलाई दिइएका केही औषधिले गर्दा सुगर तलमाथि पार्न सक्ने भएकाले निगरानीमा राख्नुपरेको हो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
चिकित्सकले बिरामीलाई कति समय दिनुपर्छ र किन?

उनले भने, "वहाँको मृगौला र मुटुमा केही समस्या देखिएको छैन, मुख्य कुरा छातीको संक्रमण नै हो। खोकी नै मुख्य समस्या भएकोले त्यो नियन्त्रण गर्न हामीले दिने एउटा इन्जेक्सनले सुगरको मात्रा बढाउन सक्ने भएकाले त्यसलाई नियन्त्रणमा राख्दै उपचार गरिराखेका छौं।"

चिकित्सकहरूका अनुसार सोमवार साँझसम्ममा प्रधानमन्त्रीको ज्वरो र रक्तचाप दुवै नियन्त्रणमा आएका छन्। अस्पतालले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै सोमबार साँझ दोस्रो प्रेस विज्ञप्ती जारी गरेको थियो।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले संक्रमण रोक्ने विभिन्न औषधी खाइरहेका छन्।

तर अत्यधिक व्यस्तता र भेटघाटले उनको स्वास्थ्यलाई जोखिममा पार्ने गरेको उनी निकटहरुको भनाइ पाइन्छ।

सम्बन्धित सामग्री