कतारसँग कृषिमा कस्तो सहकार्य हुनसक्छ?

Nepal-Qatar

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

पछिल्ला वर्षमा साउदी अरब लगायतका केही खाडी राष्ट्रहरूले कतारमाथि लगाएको नाकाबन्दी यथावत रहेको अवस्थामा उसले कृषिमा देशभित्रै र बाहिर ठूलो लगानी बढाएको जानकारहरू बताउँछन्।

आफूलाई आवश्यक पर्ने कूल कामदारमध्ये ठूलो सङ्ख्यामा नेपालबाट भित्र्याउने गरेको मध्यपूर्वी देश कतारले अब नेपालको कृषि क्षेत्रमा समेत लगानी बढाएर सहकार्य गर्न खोजेको पाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धि एक समझदारी पत्रमा समेत हस्ताक्षर भएपछि त्यस्तो सहकार्यको सम्भावनाको ढोका खुलेको नेपाल सरकारको विश्वास छ।

मंगलवार भएको समझदारीमा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने भनिएको छ।

सम्भावना

नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिने संकेत गरेको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

त्यससँगै नेपालमा उत्पादकत्व बढाउन कतारको विज्ञता रहेको उन्नत प्रविधि र प्रशोधन उद्योगलाई नेपालमा प्राविधिक सहायता र लगानीका रूपमा ल्याउन खोजिएको कृषि विकास तथा पशुपन्छी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख तेजबहादुर सुवेदीले बताए।

उनले भने, "मत्स्य पालन, कृषि र पशुपन्छीको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने कतार सरकारको रूचिका आधारमा हामी समेत सहकार्य गर्न इच्छुक छौं भनेर समझदारीको खाका बनाएका हौं।"

यसैलाई आधार मानेर बनाइने सहमति र कार्ययोजनाले समझदारीलाई अगाडि बढाउनेछ।

'नाकाबन्दीको पाठ'

पछिल्ला वर्षमा साउदी अरब लगायतका केही खाडी राष्ट्रहरूले कतारमाथि लगाएको नाकाबन्दी यथावत रहेको अवस्थामा उसले कृषिमा देशभित्रै र बाहिर ठूलो लगानी बढाएको जानकारहरू बताउँछन्।

नेपालले समेत अब त्यसको फाइदा लिएर श्रमिक पठाउने देशको रूपमा बनेको आफ्नो परिचय बदल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन्।

अडिओ क्याप्शन सुरु हुँदैछ,

साझा सवाल बहस

उनले भनिन्, "कतारको अहिले नेपालमा म्यानपावरको व्यावसाय मात्र छ जसलाई हामीले फेर्न खोजिराखेका छौं। अहिले सरकार समेत स्थिर रहेको र उनको लक्ष्य आर्थिक समृद्धि भएकैले अन्य क्षेत्रमा लगानी बढाउन आग्रह गरिराखेका छौं।"

कतारमा अहिले रहेका झण्डै चार लाख नेपाली कामदारहरूमध्ये कृषि तथा पशुपालनसँग सम्बन्धित उद्योगमा थुप्रैले काम गरिरहेका छन्।

त्यस्तो सहकार्य हुँदा अहिले त्यहाँ सीप विकास गरेकाहरू स्वदेश फर्केर काम गर्ने वातावरण समेत सिर्जना हुने अधिकारीहरू बताउँछन्।

माग

कतारको बजारमा अहिले अर्ग्यानिक तरकारीको माग उच्च छ।

जबकि विषादीको प्रयोग शुरू भइसकेका ठाउँमा पुन: अर्ग्यानिकतर्फ फर्किन १० देखि १५ वर्षसम्म लाग्ने गरेको पाइएको छ।

तरकारी लगाउने प्रकृयादेखि नै गुणस्तर मापन गर्न सक्ने भर्टिकल्चरजस्ता प्रविधिमा उसको दक्षता रहेकोले त्यसमा हुने सहकार्य महत्त्वपूर्ण हुने कृषि तथा वन विश्वविद्यालकी प्राध्यापक कल्याणी मिश्रले बताइन्।

उनले भनिन्, "एकातर्फ नेपालको कृषि प्रणाली अझैपनि धेरै अर्ग्यानिक नै रहेकाले त्यसलाई अलिकति गुणस्तरिय रूपमा उकासेर र अर्कोतर्फ प्रविधिका रूपमा शहरी संरचनामा खेती गर्न सकिने आकासे वा कौसी खेतीमा कतारबाट सिक्न सकिन्छ।"