विधानबारे यस्ता विवाद छन् कांग्रेसमा

  • 3 नोभेम्बर 2018
कांग्रेस तस्वीर कपीराइट RSS
Image caption फाईल तस्बिर

नयाँ संविधानका आरक्षणसम्बन्धी व्यवस्थालाई पार्टीका सबै तहमा कसरी समेट्ने भन्ने टुङ्गोमा पुग्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरू गरेको विधान संशोधनमा ढिलाइ भएको त्यस पार्टीका नेताहरूले बताएका छन्।

विभिन्न गुटमा बाँडिएको आरोप लाग्ने गरेको उक्त पार्टीमा सभापति शेरबहादुर देउवाका विरोधी खेमाका भनेर चिनिएकाहरूले भने संस्थापन पक्ष तोकिएको महासमिति बैठक सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्।

विधानबारे नै छलफल गर्न भनी काठमाण्ठूमा यही मंसिर ५ देखि ९ गतेसम्म तय भएको महासमिति बैठक पछि धकेलिने अवस्था बनेकाले उक्त पार्टीभित्र विधान संशोधानको विषय पेचिलो बनेको देखिएको कतिपयको बुझाइ छ।

केन्द्रीय विधान संशोधन मस्यौदा समितिका सदस्यहरूका अनुसार संविधान अनुरूपको आरक्षणको व्यवस्था पार्टीका समितिहरूमा कसरी लागू गर्ने भन्नेमा उनीहरू टुङ्गोमा पुग्न सकिरहेका छैनन्।

बुझाइ

त्यो विषय खुला राखेरै भएपनि संशोधन मस्यौदा बुझाउनुपर्ने समितिका कतिपय सदस्यको तर्क पाइन्छ।

सभापति इतर खेमाका नेताहरूले भने हरेक वर्ष हुनुपर्ने महासमिति बैठक सार्न यस्ता बहाना खोजिएको अर्थमा त्यसलाई बुझ्ने गरेका छन्।

नेपाली कांग्रेसका एकजना वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, "पार्टीमा आफूलाई लागेको कुरा भन्ने सदस्यहरूको अधिकारको कुरा हो। तर, त्यसैलाई आधार बनाएर महासमिति बैठक पर सार्ने वा विधान नबनाउने हुन सक्दैन।"

सभापति शेरबहादुर देउवाले आगामी अधिवेशनलाई लक्ष्य गरी आफ्नो पक्षको अवस्था बलियो बनाउने रणनीतिका रूपमा विधान संशोधन र महासमिति बैठकलाई उपयोग गर्न चाहेको कतिपयको बुझाइ छ।

समस्या

त्यसैअनुसार नयाँ विधानमा संघ, प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरू मनोनयन गर्ने व्यवस्था राख्न खोजिएको उनीहरूको आरोप छ।

तर, विधान संशोधन मस्यौदा समितिमा विवाद नभएको र विकल्पहरूमा छलफल भइरहेको एकजना सदस्य महालक्ष्मी उपाध्यायको दाबी छ।

उनले भनिन्, "केन्द्रीय समितिमा संख्या बढाउने र नबढाउने दुवै कुरा आएको छ। तर, अहिले संख्या नबढाउँदा 'क्लस्टर'लाई कसरी व्यवस्थापन गर्ने भन्नेमा चाहिँ हामीले दुई-तीनवटा खाका कोरिरहेका छौँ।"

आरक्षणबारे संविधानमा व्यवस्था गरिएका 'क्लस्टर'लाई पार्टीभित्र समेट्न थप छलफल आवश्यक हुँदा मस्यौदालाई अन्तिम रूप दिन समय लागेको उनले बताइन्।

आलोचना

वामपन्थी दलको नेतृत्वमा दुई-तिहाइ बहुमतको सरकार रहेका बेला प्रमुख प्रतिपक्षको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्ने गरेको कांग्रेस आपसी खिचातानीमा रूमल्लिएको देखिन्छ।

तर, सभापति देउवाले शनिवार एउटा कार्यक्रममा पार्टीभित्रका गुटहरूलाई मिलाउने बताएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोइरालाले महाधिवेशनपछि पार्टी र चुनावपछि सरकारमा देउवाको विकल्प खोजिने बताएका छन्।

सम्बन्धित सामग्री