कांग्रेस किन कमजोर? यसो भन्छन् पार्टीका नेता

  • 15 डिसेम्बर 2018
कांग्रेस तस्वीर कपीराइट RSS

काठमाण्डूमा शनिवारबाट शुरू भएको नेपाली कांग्रेसको महासमिति बैठकमा नेताहरूले आन्तरिक रूपमा एकता नहुनुलाई पार्टी कमजोर हुनुको प्रमुख कारण भएको औँल्याएका छन्।

आमनिर्वाचनको झण्डै एक वर्षपछि पार्टीको नीतिगत समीक्षा गर्न जुटेका कांग्रेस नेताहरूको भेलामा सभापति शेरबहादुर देउवाले विगतमा एकता नहुँदा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताले पार्टी छाड्नुपरेको सम्झिँदै आफूले अब त्यसो हुन नदिने भन्दै कार्यकर्तालाई आश्वास्त पार्न खोजे।

सरकारको आलोचना समेत गरेका कतिपय नेताले त्यसक्रममा बितेको १० महिना सरकारले जस्तै प्रतिपक्षको रूपमा कांग्रेसले पनि खेर फालेको भन्दै प्रतिपक्षका रूपमा आफ्ना नीति-कार्यक्रममा व्यापक सुधार आवश्यक रहेको औँल्याए।

आमनिर्वाचनमा पार्टीभित्रबाटै भएका अन्तर्घात, नेतृत्वको कार्यशैली, केन्द्रमै व्याप्त गुटबन्दी, संगठनको सुस्तता जस्ता विषय उठाउँदै आज बोलेका नेताहरूले पार्टीको अवस्थाबारे गम्भीर आत्मबोध गर्न आवश्यक रहेको बताए।

चिन्ता

मुख्य रूपमा अहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच रहेको भनिएको मनमुटावको पार्टीको कार्यसम्पादनमै असर परेको भन्दै कार्यकर्तामाझ चिन्ता रहेको बताइन्छ।

सोही सन्दर्भमा महामन्त्री सशाङ्क कोइरालाले सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवैजना एक हुन गर्ने प्रयत्न र अग्रसरतालाई सघाउने बताए।

महामन्त्री कोईरालापछि बोलेका उपसभापति विजयकुमार गच्छदारले मञ्चबाटै हात मिलाएर एकताको सन्देश दिन गरेको आग्रहलाई दुवै नेताहरूले स्वीकार गरेपछि कार्यकर्ताहरू खुसीले हुटिङ् गर्दै नाचेको दृश्य देखियो।

अन्तिममा बोलेका सभापति देउवाले एकताबारे धेरै कुरा त गरेनन् त विगतमा संस्थापक नेताहरूले नै पार्टी छाड्नुपरेको जस्तो अवस्था दोहोरिन नदिने बताए।

प्रजातान्त्रिक पार्टी भएकाले आफ्नो विरोध गर्न छुट रहेको बताउँदै देउवाले भने, "अन्याय भयो, मैले गल्ती गरेँ भने भन्नूस् म सुधार्न तयार छु। तर माधवकुमार नेपालभन्दा बढी ओलीविरूद्ध बोल्ने हिम्मत नेताहरूले गर्नुपर्‍यो।"

'अर्थपूर्ण एकता'

वरिष्ठ नेता पौडेलले गुटबन्धी देउताहरूकै पालादेखि रहँदै आएको तर्क गर्दै नेतृत्वले न्यायपूर्ण व्यवस्थापन गर्न सक्नुपर्ने बताए।

एकताको विरूद्धमा आफू कहिल्यै नभएको भन्दै उनले त्यो भावनात्मक नभएर अर्थपूर्ण हुनुपर्नेमा जोड दिए।

"न्यायको प्रत्याभूति भयो भने मैले नपाए पनि मभन्दा बढी योगदान भएको कसैले पायो भनेर आत्माले भन्छ। त्यसकारण आत्मबाटै मिल्ने कुरा गरौँ।"

कांग्रेसले विगतमा समेत चुनाव हारे पनि कार्यकर्ताको मनोबल अहिलेको जस्तो कमजोर नभएको भन्दै संगठन निर्माण र आफ्ना कामको प्रचार गर्ने शैली कम्युनिष्ट पार्टीहरूबाट सिक्नुपर्ने नेताहरूले बताएका थिए।

देशभरिबाट जुटेका महासमिति सदस्यहरूको बैठकस्थलमा हिन्दूराष्ट्र आवश्यक रहेको भन्दै हस्ताक्षर सङ्कलन समेत भइरहेको थियो।

विधान संशोधनको बेला भएकाले पार्टीको नयाँ संरचना र मान्यताका बारेमा बैठकमा चर्को बहस हुने ठानिएको छ।