नेकपा बैठकः १० मध्ये ९ नेताद्वारा सरकारको आलोचना

  • 17 डिसेम्बर 2018
नेकपा तस्वीर कपीराइट Facebook/NCP

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजधानीमा जारी स्थायी कमिटि बैठकमा सोमवार बोलेका अधिकांश सदस्यले वर्तमान सरकार र पार्टी नेतृत्वको आलोचना गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

प्रतिपक्षी र आलोचकहरूले झण्डै दुई तिहाइ बहुमत पाएको नेकपा नेतृत्वको सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भनिरहेका बेला सत्तारुढ दलकै नेताहरूले समेत बैठकमा उस्तै खाले टिप्पणी गरेका हुन्।

बैठकमा पार्टीका दुईजना अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतमको पूरक प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ।

गत शनिवारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सदस्यहरूले बोल्ने पालो भने सोमबारदेखि पाएका हुन्।

विरोध

सोमवार १० जना सदस्यले आफ्ना धारणा राखेकामा ९ जनाले पार्टी नेतृत्व र सरकारका गतिविधिहरूको खुलेर आलोचना गरेको बैठकमा सहभागीहरूले बताए।

अधिकांश सदस्यले अध्यक्षहरूको राजनीतिक प्रतिवेदनमाथि प्रश्न उठाएको जानकारी बैठकमा आफ्नो धारणा राखेका एकजना सदस्य गणेश साहले बताए।

उनले भने, "१० जनाकै अभिव्यक्तिलाई सारांशमा हेर्ने हो भने दुई अध्यक्षबाट आएको राजनीतिक प्रतिवेदनबारे धेरै कमी-कमजोरी त्रुटि र असन्तुष्टि अभिव्यक्त भएका छन्।"

उनका अनुसार सदस्यहरूले पार्टी विधान अनुसार नचलेको, सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार मौलाएको, पार्टी वामपन्थी हो कि होइन भन्ने अवस्था आएको जस्ता टिप्पणी गरेका थिए।

सोमवारको बैठकमा साहसहित स्थायी कमिटी सदस्यहरू वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भूसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, वेदुराम भूसाल र शक्तिबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए।

प्रतिरक्षा

त्यसमध्ये वर्तमान सरकारका मन्त्री समेत रहेका बस्नेतले मात्र सरकारको प्रतिरक्षा गरेको बताइएको छ।

सरकार सञ्चालनका विषयलाई लिएर बैठकमा केही सदस्यहरूले बढी नै आलोचना गरेको र आफूले सन्तुलित धारणा राखेको अर्का एकजना सदस्य हरिबोल गजुरेलले दाबी गरे।

उनले भने, "केही साथीहरूले सरकार र पार्टीका कामकारबाहीलाई बढी नै आलोचना गर्नुभयो। केही कमजोरी चाँहि भएका छन्। अलिकति थोरै जनताको मनोविज्ञान बुझेर सरकारको उपलब्धीलाई प्रस्तुति गरिदिएको भए हुन्थ्यो।"

कतिपय सदस्यहरूले भने हालै काठमाण्डूमा सम्पन्न विवादास्पद 'एसिया प्यासिफिक समिट'मा सरकारको सहभागितालाई लिएर समेत प्रश्न उठाएको बताइएको छ।

पार्टीभित्रैबाट नेतृत्व र वर्तमान सरकारको आलोचना हुन थालेपछि हिजो एउटा कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवम् नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बचाउ गरेका थिए।

महत्त्वाकांक्षी लक्ष्यहरू तय गर्दै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपाको यो बैठकले पार्टी एकीकरणसम्बन्धी कतिपय विवादहरूलाई समेत टुङ्ग्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित सामग्री