‘नख्खु विस्फोट’मा सुरक्षा निकायको कहाँ कमजोरी देखियो

  • 23 फेब्रुअरी 2019
नख्नु विस्फोट

काठमाण्डू उपत्यकामा शुक्रवार समसाँझै एकजना सर्वसाधारणको ज्यान जाने गरी भएको विस्फोटको घटनाले सुरक्षा निकायहरू सुरक्षाको प्रत्याभूति गराउने मामिलामा संवेदनशील नभएको भन्ने देखाएको विज्ञहरूले औँल्याएका छन्।

प्रहरीका अनुसार नख्खुस्थित दूरसञ्चार कम्पनी एनसेलको कार्यालयअगाडि भएको विस्फोटमा घाइते तीन जनामध्ये एकजनाको ज्यान गएको छ भने दुईजना उपचाररत छन्।

उपत्यकाबाहिर पनि देशका आधा दर्जनभन्दा बढी ठाउँमा आगजनी गरेको देखिएको भन्दै प्रहरीले शङ्कास्पद करिब १६ जनालाई पक्राउ गरेको जनाएको छ।

शुक्रवार साँझ सवा आठ बजेतिर भएको उक्त विस्फोटको घटनामा घाइते भएर ललितपुरकै एउटा अस्पतालमा उपचाररत दुई महिला र उनीहरूका आफन्तलाई भेट्न गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगे।

गुप्तचर निकायको भूमिकामाथि प्रश्न

घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने र घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता भेटका क्रममा उनले जनाए।

गृहमन्त्रीको यस्तो प्रतिबद्धता आइरहँदा सुरक्षासम्बन्धी कतिपय विज्ञले भने सुरक्षाको प्रत्याभूति गराउने नेपाल प्रहरी र गुप्तचर निकायको भूमिकामाथि प्रश्न उठाउँदै चिन्ता व्यक्त गरेका छन्।

पूर्व गृहसचिव सूर्य सिलवालले भने, "उपत्यकाभित्रै घटना हुन्छ त्यसको जानकारी हुँदैन भनेको त गुप्तचर निकाय र प्रहरीले कामै गरेको छैन भन्ने देखिन्छ। त्यस्तो मुख्य क्षेत्रमा कसको आवतजावत छ, को आइरहेको छ गइरहेको छ त्यसको सूचना राख्नुपर्ने होइन?"

उनले सूचना कहाँबाट आउँछ र सूचनालाई समयमै आदान प्रदान गर्नुपर्नेमा सुरक्षा संयन्त्रहरूले ख्याल गर्नुपर्ने बताए।

उपत्यकामा भएको विस्फोटसहित नवलपरासी, कास्की, कञ्चनपुर, बुटवल, अछाम, कपिलवस्तु, काभ्रे, रौतहट लगायतका स्थानमा समेत आगजनी भएको भन्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयले देशभरिबाट करिब २२ जनालाई पक्राउ गरेको बताइएको छ।

विस्फोटको घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

'संयन्त्रहरू संवेदनशील र चुस्त छैनन्'

मुख्य सडककै छेउमा रहेको एनसेलको कार्यालयअगाडि, त्यो पनि मानिसहरूको आवाजजावत हुने समयमै र प्रहरीको आवतजावतसमेत हुने उक्त ठाउँमा भएको यो घटनाले सुरक्षा दिन सुरक्षा संयन्त्रहरू संवेदनशील र चुस्त छैनन् भन्ने देखाएको अर्का पूर्वसचिव खेमराज रेग्मीको ठम्याइ छ।

"यस्ता किसिमका हर्कतहरू ठाउँ ठाउँमा बेला कुबेला गरेको देखिन्छ। सरकार शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा चनाखो हुनुपर्ने हो। त्यसमा चाहिँ चुकेको जस्तो देखिन्छ।"

तर प्रहरी प्रवक्ता उत्तमराज सुवेदीको तर्क भने फरक छ।

उनी भन्छन्, सुरक्षा निकायहरू सक्रिय हुँदा हुँदै पनि आपराधिक मानसिकता भएकाहरूले कुनै न कुनै कमीकमजोरी पत्ता लगाएर त्यस्तो अपराध गर्ने गरेका छन्।

"हामीले त कहिल्यै कहीँ पनि अप्रिय घटना नहोओस् भनेरै काम गरिरहेका हुन्छौँ। तर कतिपय ठाउँमा आपराधिक क्रियाकलाप गर्नेहरूले कुनै न कुनै कमजोरी पत्ता लगाएर बसेका हुन्छन्। तर यो घटनापछि हामी सुरक्षालाई थप बलियो बनाउन लागिपरेका छौँ।"

विस्फोटको पछिल्लो घटनाले सुरक्षा व्यवस्थापनमा नयाँ चुनौती उत्पन्न गराएको कतिपयको बुझाइ छ।

सो पृष्ठभूमिमा यस्ता गतिविधि हुन नदिन र सुरक्षा व्यवस्थालाई अझ बलियो बनाउन थप सुरक्षाकर्मीको परिचालन गरिएको प्रहरी प्रवक्ता सुवेदीको भनाइ छ।

सम्बन्धित सामग्री