पक्राउ परेका चिनियाँलाई नेपालमै अनुसन्धान गरिने

नेपाल प्रहरी / फाइल तस्बिर

सोमवार काठमाण्डूका विभिन्न स्थानबाट पक्राउ गरिएका १२२ चिनियाँ नागरिकहरूलाई नेपालमै थप अनुसन्धान गरिने प्रहरी अधिकारीहरूले बताएका छन्।

उनीहरूलाई मङ्गलवार नै अदालतबाट म्याद थपेर हिरासतमै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

उनीहरूलाई काठमाण्डूका विभिन्न प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ पर्नेहरूमा आठ जना महिला छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका निर्देशक डीआईजी निरजबहादुर शाहीले भने, “चौबिस घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भएकाले म्याद थपका तयारी भइरहेको छ। त्यसपछि थप अनुसन्धान हुने छ।”

चीनको भनाइ

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनीहरू सीमापार साइबर अपराधमा संलग्न रहेको र अनुसन्धानकै क्रममा रहेको बताएका छन्।

उक्त कारबाहीमा नेपाल र चीन दुवै देशका प्रहरी संलग्न रहेको उनको भनाइ छ।

नेपाल प्रहरीले भने इन्टरपोलको सहायतमाा चीनबाट सुराकीहरू आएको बताएको छ।

प्रहरीको योजना

पक्राउ परेकाहरुको कागजात, बसाइ, काम गर्ने ठाउँ, पासपोर्ट र विद्युतीय सामानहरू छानबिन भइरहेको डीआईजी शाहीको भनाइ छ।

पक्राउ परेका कतिपयले हालसम्म पासपोर्ट बुझाउन नसकेका उनले बताए।

अनुसन्धानका क्रममा नेपालमा कुनै अपराध गरेको नदेखिएमा र अध्यागमनसम्बन्धी कानुनले नेपालमा बस्न योग्य नदेखिएमा मात्रै उनीहरूलाई चीन पठाउन सकिने शाहीले बताए।

आशङ्का गरिएका अपराधहरू

महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पर्यटक भिसामा नेपाल आएर घर भाडामा लिएर थुप्रै सङ्ख्यामा मोबाइल र कम्प्युटर राखी शङ्कास्पद् रूपमा नियमित काम गर्ने गरेकाले पक्राउ गरिएको बताए।

विद्युतीय सामानका परीक्षण र सोधपूछ सकिएपछि त्यसका आधारमा कुन मुद्दा चलाउने भन्ने टुङगो लगाउने बताइएको छ।

सुवेदीले भने,  “उनीहरूलाई चीन पठाउने कुनै कानुनी बाटो छैन। नेपालस्थित चीनको राजदूतावाससँग समन्वय गरी हामी नै अनुसन्धान गर्छौं।"

"उनीहरूको आपराधिक विगतका बारेमा दूतावासको सहयोग माग्छौँ।”

विगतमा यस्तै उपकरणको प्रयोगबाट चिनियाँ नागरिकहरूले एटीएम ह्याक गरेकाले प्रहरीहरू चनाखो बनेको बताइएको छ।

उनीहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धिकरण, सट्टेबाजी र जुवाजस्ता काममा संलग्न भएको हुन सक्ने आशङ्का प्रहरीको छ।

चिनियाँ भाषा जान्ने अनुसन्धानकर्ता

अनुसन्धानका क्रममा र बयानका क्रममा प्रहरीलाई चिनियाँ भाषा बोल्ने कर्मचारीको आवश्यकता पर्ने बताइएको छ।

यस्तो जनशक्ति प्रहरीभित्र ज्यादै न्यून रहेकोले सोमवारको कारबाहीमा चिनियाँ भाषा बोल्ने मानिसको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

बयानमा सघाउन विश्वभाषा क्याम्पसको सहयोग मागिने सीआइबीका शाहीको भनाइ छ।

नि:शुल्क भिसापछि चिनियाँ बढे

पर्यटक भिसामा नेपाल आउने चिनियाँहरूलाई निशुल्क भिसा दिने व्यवस्था नेपाल सरकारले गरेको छ।

भारतले गरेको नाकाबन्दीका बेला यस्तो निर्णय भएको थियो। यो व्यवस्था लागु भएपछि नेपाल आउने चिनियाँहरूको सङ्ख्या ह्वात्तै बढेको बताइन्छ।

अध्यागमन विभागको तथ्याङ्कमा सन् २०१९ मा एक लाख ५५ हजार चिनियाँले नेपालको भ्रमण गरेका छन्।

त्यस्तै २७२ चिनियाँलाई नेपालले निष्काशन गरेको अध्यागमनको तथ्याङ्कले देखाउँछ।