बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर अवार्ड किन

वन्दना विजय, बीबीसी हिन्दी

आगामी जुलाई २४ तारिखमा जापानको टोक्योमा हुने ओलिम्पिक्स खेल प्रतियोगिताका लागि संसारभर जोडतोडले तयारी भैरहेको छ।

भारतको सन्दर्भमा कुरा गर्नु पर्दा, सन् २००० को सिड्नी ‌ओलिम्पिक्सयता भारतीय खेलाडीहरूले १३ वटा पदक जितेका छन्, र तिनमा पाँच जना महिला खेलाडी पर्दछन्।

सिड्नी ओलिम्पिक्सभन्दा अघिका प्रतियोगितामा भारतले पाएको सबै १३ पदक पुरुष खेलाडीहरूले जितेका थिए। यसबाट पनि त्यहाँको खेल जगतमा हुँदै गरेको परिवर्तनलाई बुझ्न सकिन्छ।

अहिले बीबीसीले पहिलोपल्ट वर्षका उत्कृष्ट भारतीय महिला खेलाडीको घोषणा गर्ने अभियान आरम्भ गरेको छ, जस्ले भारतका उत्कृष्ट महिला खेलाडीहरूले आआफ्नो विधामा दिएका योगदानको सम्मान गर्नेछ।

उपलब्धीको कदर

वर्षको उत्कृष्ट भारतीय महिला खेलाडीको पदवीको घोषणा गर्नुको उद्देश्य देशको खेलजगतमा भारतीय महिला खेलाडीहरूको उपलब्धीको कदर गर्नु रहेको छ।

सन् २०१६ को रियो ओलिम्पिक्समा रेस्लर साक्षी मलिक र ब्याडमिन्टन खेलाडी पिभि सिन्धुले भारतका लागि दुई पदक जितेका थिए।

मतदान गर्न यहाँ जानुहोस्।

ओलिम्पिक्समा रेस्लिंगमा पदक जित्ने मलिक प्रथम भारतीय महिला बनिन् भने जिम्नास्ट दीपा करमाकरले प्रख्यात अमेरिकी खेलाडी सिमोन बाइल्ससँग प्रतिस्पर्धा गरेकी थिइन्।

भारतीय महिला खेलाडीहरूको उपलब्धी नभएको भएर रियोबाट भारतीय प्रतिनिधिमण्डल खाली हात देश फर्कनु पर्ने थियो।

महिला खेलाडीको सफलता

सन् २०१२ को लण्डन ओलिम्पिक्समा भारतले जितेको छ मध्ये दुईवटा पदक महिला खेलाडीले जितेका थिए।

मेरी कोमले बक्सिंग खेलमा पदक जितेर त्यस्तो उलब्धी हासिल गर्ने पहिलो भारतीय महिला बनेकी थिइन्।

लण्डनमा त्यस्तै उपलब्धी हासिल गर्ने अर्को महिला खेलाडी ब्याडमिन्टनकी साइना नेहवाल हुन्।

ओलिम्पिक्सबाहेक सन् २०१९ मा क्रिकेटर हरमनप्रीत कौर १०० वटा ट्वेन्टी२० खेल खेल्ने पहिलो भारतीय खेलाडी (महिला, पुरुष) बनिन्।

त्यसैगरी मिताली राज भारतलाई दुईपटक विश्वकप क्रिकेटको फाइनल्समा पुर्याउने एकमात्र कप्तान (महिला, पुरुष) बनिन्।

सन् २०१८ को एशियस गेम्समा भारतले जितेको ५७ वटा पदक मध्ये लगभग आधा (२८) वटा महिला खेलाडीहरूको थियो।

अन्य कतिपय अव्यक्त खेल सफलताका कथाहरूसँगै तिनीहरूको प्रयासले भारतीय खेलजगतमा महिलाहरूको बढ्दो योगदानलाई उजागर गर्दछन्।

कम प्राथमिकता

तर सार्वजनिक चर्चाका क्रममा यी सफल महिलाहरूको योगदानले पुरुष खेलाडीहरूको सफलताको दाँजोमा कमै महत्व पाउने गर्दछन्।

देशमा पुरुषप्रधान समाज, पूर्वाधारहरूको कमी र सामाजिक बन्देजहरू जस्ता कारणले त्यस्तो असन्तुलनलाई बल दिएको हुनसक्छ।

तर प्रतिकुलताहरू हुँदाहुँदै पनि भारतका महिला खेलाडीहरूले रेस्लिंग, बक्सिंग जस्ता पुरुषहरूको वर्चस्व रहने खेलप्रतिस्पर्धाहरूमा आफ्नो उच्च स्थान स्थापित गरेका छन्।

भारतको एउटा उत्तरी राज्य हरियाणा किशोरहरूको दाँजोमा किशोरीहरूको संख्या न्यून भएको राज्यको रूपमा चिनिन्छ।

त्यहाँ प्रति ९२४ किशोरीहरूको तुलनामा १००० किशोरहरू छन्। तर यो सानो राज्यले कतिपय महिला ओलिम्पिक्स खेलाडीहरू उत्पादन गरेको छ।

यो सबै तथ्यले भारतीय महिला खेलाडीहरूको पक्षमा परिवर्तनहरू भैरहेको देखाउँछन्, र जुन कथा चर्चा योग्य छ।

यो सम्मान किन?

बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर सम्मान कार्यक्रम सन् २०२० को टोक्यो ओलिम्पिक्स अघि खेलजगतमा महिला तथा युवाहरूको संलग्नता प्रवर्द्धन गर्ने बीबीसीको लक्ष्यको एक भाग हो। विजेता चयन कसरी हुनेछ?

बीबीसीले छानेको एक निर्णायकमण्डलले भारतीय महिला खेलाडीहरूको संक्षिप्त सूची तयार पारेको छ।

उक्त निर्णायकमण्डलमा भारतभरका प्रतिष्ठित खेल पत्रकारहरू, विज्ञहरू र लेखकहरू छन्।

निर्णायकमण्डलका सदस्यहरूबाट सबैभन्दा धेरै मत पाएका शिर्षस्थानका पाँच महिला खेलाडीको नाम सार्वजनिक मतदानका लागि मनोनयन गरिएको छ।

मतदान गर्न यहाँ जानुहोस्।