आलोकांचो राजनीतिक सहमति

  • 16 जुन 2010
संविधानसभाको बैठक
Image caption के नेताहरूको दृष्टि संविधान निर्माण गर्ने थलोमा मात्र केन्द्रीत होला

संविधानसभाको म्याद एकवर्ष थपिएपछि अहिलेलाई मुठभेडको खतरा टरेकाले धेरैले राहतको सास फेरेका छन्।

तर तीन ठूला दलहरुबीच शुक्रबार मध्यराती भएको सहमतिपछि उज्याला दिनहरु आउने कुरा अझै पक्का हुन सकेको छैन।

दोहोरो अर्थ लाग्ने सहमति गर्ने अनि त्यसको कार्यान्वयन नहुँदा एक अर्कामाथि दोष थोपर्दै धारे हात लगाउने बानी नेपालका दलहरुका लागि नयाँ होइन। छायाँ खासगरी बाह बुँदे दिल्ली सहमति यता गएको चार वर्ष देखि यो बानी धेरै पटक दोहोरिएको छ।

संविधानसभाको म्याद थप गर्ने तीन सूत्रीय सहमतिमा पनि यसको छायाँ प्रष्टै देखिएको छ।

प्रधानमन्त्रीको राजीनामा आएपछि मात्र म्याद थप गर्न सहमत हुन सकिने अडान राखेको माओवादीले राजीनामाको उधारो प्रतिबद्धतामै आफ्नो अडान छोडेको छ।

सहमतिको सरकारको बाटो खोल्न अहिलेको बहुमतको सरकारका प्रधानमन्त्रीले अबिलम्ब राजीनामा गर्ने कुरा गरिएको छ।

तर यसका लागि शान्ति प्रक्रियाका गर्न बाँकी कामहरु गरेर सहमतिको आधार बनाउनु पर्ने शर्त राखिएको छ।

ती कामहरु कहिलेसम्म पूरा हुने हो त्यो स्पष्ट छैन।

सहमतिको आधार बनेपछि वर्तमान प्रधानमन्त्रीले राजीनामा गर्ने भनिएको हो वा उनले राजीनामा गरेपछि मात्र सहमतिको आधार खोज्न शुरु गर्ने भनिएको त्यो पनि अस्पष्ट छ।

आपसी शंका र अविश्वास गहीरो भएका बेला दलहरुले उक्त सहमतिको आफुखुशी व्याख्या गर्न थालेका छन्।

यस्तो अवस्थामा राजनीतिक गाँठो फुक्ने विश्वास गर्ने आधार देखिंदैन।

केही जानकारहरुका भनाई पत्याउने हो भने, प्रधानमन्त्रीले केही दिनमै राजीनामा गर्ने र नयाँ राष्ट्रिय सरकार बनाउने गोप्य अलिखित सहमति भएको छ।

तर आपसी अविश्वासको गहीरो कुवामा डुबेका दल र नेताहरु नलेखिएको सहमतिको डुंगामा यात्रा गर्न सजिलै कसरी तयार होलान् भन्ने प्रश्न उठ्नु अनौठो होइन।

सहमतिको त्यो यात्रा अगाडि बढने सुरसार देखियो भने पनि "डुंगा" कस्ले खियाउने भन्ने विषयमा कुरा नअड्कने ग्यारन्टी छैन।

सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरामा त गोप्य सहमति पनि नभएको जानकारहरुले पनि लुकाएका छैनन्।

कटाक्ष

के सिंहदरबार र बालुवाटार तिर मात्र अर्जुन दृष्टि राख्न रमाउने दल र नेताहरुको दृष्टि अब संविधान बनाउने थलो नयाँ बानेश्वरतिर मात्र केन्द्रीत होला?

भयो भने त शुक्रबार मध्यरातको सहमतिले पक्कैपनि नेपाललाई घमाइला दिनहरुतिर डो-याउला।

तर त्यसको भोलीपल्टै सुनिएका स्वरहरुले भने अँध्यारो रातको खतराको संकेत गरेका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीप्रति कटाक्ष गर्दै विगतका कुरा धेरै नकोट्याउन र आगतका कुरा गर्न जोड दिएको केही छिनमै वरिष्ठ माओवादी नेता बाबुराम भट्टराईले सहमतिको "चेक" बैंकबाट फिर्ता हुने आशंका व्यक्त गरेका छन्।