नेपालको मैदानमा छिमेकीको खेल

  • 16 सेप्टेम्बर 2010
नेपाल, भारत, चीनको नक्सा
Image caption नेपाल विशाल छिमेकीहरु चीन र भारतको खेल मैदान बन्नसक्ने चिन्ता बढ्दो छ

चीनको कम्युनिष्ट पार्टीको एउटा उच्चस्तरीय टोलीको वर्तमान नेपाल भ्रमणलाई कतिपयले बढ्दो चिनियाँ चासो र चिन्ताको प्रमाणका रुपमा हेरेका छन्।

चीनलाई भारतको एक नम्बरको खतरा भनेका प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत श्याम शरण आएको एक महिना नबित्दै उपप्रधानमन्त्री सरहका वरिष्ठ नेता हे युङ एउटा ठूलो टोलीको नेतृत्व गर्दै काठमाण्डू आइपुगेका थिए।

यसलाई दुई ठूला छिमेकीको बढ्दो प्रतिस्पर्धाको झलकका रुपमा धेरैले हेरेपनि वर्षौंदेखि सतह मुनी रहेको प्रतिस्पर्धा अहिले सतहमाथि बढी छचल्केको मात्र हो।

चेतावनी

धेरै पुरानो इतिहास कोट्याउनु पर्दैन, ६० वर्ष अघि फर्किंदा मात्र पनि के देखिन्छ भने चीनमा साम्यवादी सत्ता स्थापना भएको लगत्तै भारतले नेपालसंग सुरक्षासंग प्रत्यक्ष सरोकार राख्ने १९५० को सन्धी गरेको थियो।

त्यसको करीब दश वर्ष पछि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई चीन भ्रमण नगर्न प्रधानमन्त्री नेहरुले असफल सल्लाह दिएको बताइन्छ।

राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि उनको भारतसंगको सबन्ध चिसिएको बेला चीनका रक्षा मन्त्री चेन यीले नेपालमाथिको हमला चीनमाथि हमला ठानिने चेतावनी दिएका थिए।

त्यस्तै अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका त्यसबेलाका केही विद्यार्थी नेताहरुले काठमाण्डूको एउटा मेलामा राखिएको चिनियाँ स्टल र अध्यक्ष माओजेदुङको फोटो तोडफोड गर्दा त्यसमा भारतीय उक्साहटको शंका गर्दै चिनियाँ राजदुतावासले त्यसमा संलग्न हुनेहरुको उसकै शब्दमा खप्पर फोडिदिने चेतावनी दिएको थियो।

राजा वीरेन्द्रले चीनसंग हतियार ल्याएको रीसमा भारतले लगाएको नाकाबन्दीका बीच भएको आन्दोलनबाट प्रजातन्त्र पुनस्थापित भएको नेपालमा चीनका रक्षामन्त्री ची हाउसियान ले भ्रमण गरेका थिए।

कुनैपनि चिनियाँ रक्षा मन्त्रीको यो पहिलो नेपाल भ्रमण थियो।

विमानको यात्रा अवधिभरी नागरिक पोशाकमा रहेका उनले त्रिभुवन विमानस्थलमा सैनिक पोशाकमा देखिने चाहनामा दिन खोजिएको सन्देश लुकेको थिएन यद्यपि अहिलेको चिनियाँ टोली जस्तै उनी पनि शान्तिका दूत बुध्द लुम्बिनी पुग्न भुलेका थिएनन्।

त्यस्तै भूतपूर्व प्रधानमन्त्रीका रुपमा चीन पुगेका शेर बहादुर देउवालाई चिनियाँ प्रधानमन्त्री ली फंगले नेपालसंगको संबन्ध सुरक्षाका कारणले पनि महत्वपूर्ण भएको बताएका थिए।

वर्षौंपछि चीनको उच्चतहबाट आएको त्यस्तो सार्वजनिक अभिव्यक्ति पहिलो थियो।

बीरगंजमा भारतले महावाणिज्यदूतावास खोल्ने अनुमति पाएपछि चीनले पनि त्यस्तै अनुमतिको अपेक्षा गरेको चर्चा पनि सेलाएको छैन।

‘खतरा’

भारतले जिल्ला जिल्लामा विकास आयोजनाहरुका लागि सिधै सहयोग गर्न थालेको बाटो चीनले पनि पछ्याइसकेकै छ।

उसको संवेदनशील ठान्ने एउटा सीमावर्ती जिल्ला मुस्तांग यसको एउटा उदाहरण हो।

भारत पनि उदीयमान महाशक्ति चीन प्रति उत्तिकै संशकित भएको मात्र होइन आतंकित हुन थालेको छ।

यसको प्रष्ट संकेत प्रधानमन्त्री मनमोहन सिंहको केही संपादकहरुसंगको अफ द रेकर्ड कुराकानीमा व्यक्त गरेको र एउटा दैनिकमा छापिएको हालैको त्यो भनाई थियो जसमा उनले चीनलाई भारतको एक नंबरको खतराको संज्ञा दिएका थिए।

आक्रामक बोली भएका रक्षामन्त्री जर्ज फर्नान्डेजले १२ वर्ष अघि पोखरानमा दोश्रो आणविक परीक्षण गर्दा चीन भारतको नंबर एक शत्रु भएको र विष्फोटन उ प्रति लक्षित भएको बताएका थिए।

भद्र व्यक्तित्व भएका नम्र प्रधानमन्त्री मनमोहन सिंहको भनाई त्यसपछिको कडा अभिव्यक्ति हो।

नेपालमा प्रतिस्पर्धी सुरक्षा चासो र चिन्ता भएपनि भारत र चीनको नेपालमा साझा चिन्ता पनि छन्।

चीनको प्रभाव प्रति ध्यान केन्द्रीत गर्दा नेपालमा बढेको पश्चिमी प्रभाव र उपस्थितिले भारतको प्रभावमा खिया लाग्न थालेको छ।

पश्चिमा उपस्थितिले गर्दा स्वतन्त्र तिब्बतको समर्थनमा चीन विरोधी गतिविधिको अखडा नेपाल बन्न लागेको चिन्ताले चीनलाई सताएको छ।

भ्रमणकारी चिनियाँ टोलीले आफ्ना सबै भेटघाटहरुमा यही कुरामा विशेष जोड दिएको थियो।

दहो पश्चिमा समर्थन रहेको राष्ट्रसंघीय मिसन (अनमिन) र मानव अधिकार उच्चायुक्तको कार्यालयको नेपालमा उपस्थिति चीन र भारत दुबैका लागि टाउको दुखाई भएको छ।

साझा स्वार्थ

नेपाल गृह युध्द वा अस्थिरताको भुमरीमा नराम्ररी फस्यो भने कि त दुबै ठूला छिमेकी टक्कराउने स्थित आउन सक्छ कि त राष्ट्रसंघीय निकायहरुको उपस्थिति फैलिने र लम्बिने संभावना हुन्छ।

दुबै खतरा टार्नुमा ठूलो आर्थिक फड्को मारिरहेका चीन र भारत दुबैले साझा स्वार्थ देख्न सक्नेछन।

त्यसैले ठूला छिमेकीहरुको प्रतिस्पर्धाका बीच मडारिएको अस्थिरताको कालो बादलभित्र नेपालको राजनीतिक उडान जति डरलाग्दो चुनौती बनेको छ उनीहरुको साझा स्वार्थले यो उडान आपतकालीन तर सुरक्षित अवतरणका लागि अवसर पनि हुन सक्छ।