बेलायतमा भूपू गोर्खाहरुको समस्या

  • 10 जुन 2011
जीतबहादुर सुनवार तथा श्रीमती सुनुवार
Image caption सुनुवार दम्पतीले बेलायतको बसाइ आफुले सोंचे जस्तो नभएको बताए

रामेछाप पुर्ख्यौली घर भएका सत्तरी बर्षीय जीतबहादुर सुनुवार झण्डै एक वर्ष अघि श्रीमती लालमाया सुनुवारका साथ बेलायत आईपुगेका हुन्।

ब्रिटिश सेनामा सेवा गरेर सेवा निवृत्त भएपछि उनी औषधिउपचारको सिलसिलामा काठमाण्डू बसिरहेका थिए।

उनलाई घुंडा दुख्‍ने, ढाड दुख्‍ने र पिसाब संबन्धी समस्या छ।

उनकी श्रीमतीलाई हालै क्यान्सर भएको चिकित्सकले बताएका छन्।

उनीहरु अहिले ग्रेटर रसमूर बरो अन्तर्गत अल्डरशट नगरमा बसिरहेका छन्।

गोर्खा बसोबास

लण्डनबाट झण्डै एक घन्टाको रेलयात्रापछि पुगिने अल्डरशटलाई सैनिक नगर पनि भनिन्छ।

यहां ब्रिटिश सेनाबाट सेवा निवृत्त सैनिकहरुको बाक्लो बसोबास रहेको छ, जसमध्ये भूपू गोर्खा र तिनका परिवारहरुको संख्या पनि ठूलो छ।

मे २००९ मा ब्रिटिश सरकारले ब्रिटिश सेनामा कम्तीमा चार वर्ष सेवा गरिसकेका भूतपूर्व गोर्खा सैनिकहरु र तिनका परिवारलाई बेलायतमा स्थायी बसोबास गर्नदिने घोषणा गरेको थियो।

यसअघि सन् १९९७ पछि ब्रिटिश सेवामा काम गरी सेवा निवृत्त भएका भूपू गोर्खा सैनिकहरुलाई मात्र त्यस्तो सुविधा दिईएको थियो।

बेलायतमा स्थायी बसोबास गर्न आउने भूपू गोर्खाहरुले १८ वर्षभन्दा कम उमेरका आफ्ना छोराछोरीहरुलाई मात्र आफुसंग ल्याउन पाउने नियम छ।

श्रीमती लालमाया सुनुवारले १८ वर्ष नाघेकी आफ्नी छोरीलाई नेपालमै छाडेर आउनुपरेको र बुढेसकालमा नयां ठाउंमा आफ्नो र श्रीमानको सेवा गर्ने कोही नभएको गुनासो गरिन्।

उनले बेलायतको महंगीले गर्दा आफुहरुले पाउने भत्ताबाट गुजारा गर्न पनि धौ धौ भैरहेको बताइन्।

रामेछाप गुप्तेश्वर गाविस निवासी ६७ वर्षीय मान बहादुर सुनुवार पनि आफ्नी श्रीमती बिष्णुमाया सुनुवारसहित झण्डै चार महिना अघि बेलायत आईपुगेका हुन्।

ब्रिटिश सेनामा आठ वर्ष भन्दा केही बढी काम गरेर आफु विना पेन्सन सेवा निवृत्त भएको उनले बताए।

“पेन्सन नभएकाले पेन्सन पाउंछौं। खान, बस्न सुविधा पनि पाइन्छ, निशुल्क उपचार पनि हुन्छ भन्ने सुनेर हामी यहां आएका हौं,” सुनुवारले भने।

“तर यहां जीवन गुजारा गर्नपनि निकै गाहारो पर्ने देख्छु,” उनले भने।

भाषाको समस्या

अल्डरशट, फार्नबरो लगायतका क्षेत्रमा भूपू गोर्खालीहरुलाई पुनर्वासमा सघाइरहेको भूपू गोर्खाहरुको एउटा संस्था ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) का महासचिव छत्र राईले बुढेसकालमा बेलायत आईपुगेका धेरै भूपू गोर्खा सैनिक र तिनका परिवारले भाषाको समस्या व्यहोर्नु परिरहेको बताए।

अंग्रेजी राम्रो संग बोल्न र बुझ्नमा कठिनाइ भएकाले बजारमा किनमेल गर्न जान, डाक्टरकहां जान र स्थानीय निकायमा फोन गरेर केही कुरा सोध्नमा आफुहरुलाई निकै कठिनाइ भैरहेको श्रीमती लालमाया सुनुवारले बताइन्।

यस्तो बेला इष्टमित्र र गोर्खालीहरुका केही संघसंस्थाहरुले पनि वयोवृद्ध भूपू गोर्खाहरुलाई सघाउने गरेका छन्।

नेपालसंग झण्डै दुईसय वर्ष पुरानो संबन्ध रहेको मुलुक बेलायतमा काम र अध्ययनको सिलसिलामा बसोबास गर्ने नेपालीहरुको संख्या अहिले करीब एकलाख पुगेकेा स्थानीय संस्थाहरु बताउंछन्।

ती मध्ये ब्रिटिश सेनामा कार्यरत तथा भूतपूर्व गोर्खा सैनिक एवम् तिनको परिवारको संख्या उल्लेखनीय छ।

गत केही वर्ष यता बेलायतमा स्थायी बसोबास गर्नकालागि आउने भूपू गोरखाहरुको संख्या निकै बढेर गएको छ।

तर बुढेसकालमा बेलायत आईपुगेका भूपू गोर्खा सैनिकहरुले भने निकै समस्याहरु व्यहोर्नु परिरहेको छ।

बिजिडब्लुएसका छत्र राईका अनुसार सार्वजनिक ऋण संकट व्यहोरिरहेको बेलायत सरकारले स्थानीय निकायहरुलाई दिंदै आएको अनुदानमा उल्लेख्य कटौती गरिदिएकाले भूपू गोर्खालगायत काउन्सिलको अनुदान सहयोगमा गुजारा गर्ने परिवारहरुलाई निकै मर्का परेको छ।

प्रधानमन्त्रीलाई पत्र

सत्तारुढ कन्जर्भेटिभ पार्टीका एकजना नेता तथा अल्डरशट क्षेत्रबाट निर्वाचित सांसद जेराल्ड होवार्थले हालै प्रधानमन्त्री डेभिड क्यामरनलाई एउटा पत्र लेखी अधिकांश गोर्खा परिवारहरु अल्डरशट ‌क्षेत्रमा आई बसोबास गरेकाले उनीहरुलाई गांस तथा बासको व्यवस्था गर्न स्थानीय काउन्सिलमाथि निकै चाप बढेको बताएका थिए।

उनले त्यस्तो पत्र लेखेको कुरा सार्वजनिक भएपछि बेलायतस्थित नेपालीहरुका संघसंस्थाले त्यसप्रति कडा आपत्ती जनाएका थिए।

तर गत मे महिनामा ग्रेटर रशमुर नेप्लीज कम्युनिटीका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्रदल देवान तथा अन्य पदाधिकारीहरुसंगको एक भेटमा सांसद होवार्थले अल्डरशट क्षेत्रमा गोर्खालीहरुको बसोबास बाक्लिंदै गएकाले उनीहरुलाई आवश्यक सेवा पुगोस् भनि आफुले सरकारको ध्यानाकर्षण गरेको बताएका थिए।

उनले भूपू गोर्खाहरुको समस्या समाधान गर्न आफुले सघाउने आश्वासन पनि दिएका थिए।

सांसद होवार्थको त्यस्तो आश्वासनका बावजुद कतिपयले त गोर्खालीहरुप्रति स्थानीय ब्रिटिश जनताको धारणा नकारात्मक बन्दै जानसक्ने चेतावनी पनि दिएका छन्।

त्यस्तो स्थिति आउन नदिन हालै बेलायत आइपुगेका भूपू गोर्खा सैनिक र तिनका परिवारलाई भाषाको प्रशिक्षण दिनुकासाथै बेलायतमा कृयाशील गोर्खालीहरुका संघसंस्था र गैरआवासीय नेपाली समुदायले पनि सघाउनु पर्ने देखिन्छ।