महिला बक्सरहरुलाई ओलिम्पिक्समा स्कर्ट लगाउन बाध्य नपारिने

  • 3 मार्च 2012
ओलिम्पिक्स रंगशाला
Image caption इतिहासमा नै पहिलो पटक ३६ जना महिला बक्सरहरुले ओलिम्पिक पदकका लागि प्रतिस्पर्धा गर्दैछन्

लण्डन ओलिम्पिक्समा महिला बक्सरहरुलाई स्कर्ट लगाएर खेल्न बाध्य नपारिने बक्सिंग खेलको विश्व प्रशासकीय निकायले घोषणा गरेको छ।

गैरपेशेवर अन्तर्राष्ट्रिय बक्सिंग संघ, एआईबीए, ले यसअघि महिला र पुरुष बीच भिन्नता देखियोस भनेर महिलाहरुले स्कर्ट लगाउनु पर्ने सुझाव अघि सारेको थियो।

केहि बक्सिंग खेलाडीहरुले एआईबीएको आलोचना गरेका थिए। त्यस मध्ये आयरल्याण्डकी विश्व च्याम्पियन बक्सर केटी टेलरले मिनि स्कर्टलाई अपमानजनक भनेकी थिइन्।

चयन

तर एआईबीएको कार्यकारी समितिको बैठकपछि, बक्सिंग खेलाडीले प्रतिस्पर्धाका बेला लगाउने पोशाकको चयन खेलाडीलाई नै गर्न दिने गरी नियममा परिवर्तन गरिएको छ।

खेलाडीको पोशाकका बारे उक्त खेलको प्राविधिक र प्रतिस्पर्धा सम्बन्धि एउटा नियममा परिवर्तन भएपछि त्यसको प्रावधानमा भनिएको छ: “ एआईबीए को अनुमोदन प्राप्त सबै खेलहरुमा महिला बक्सरहरुले शोर्टस् भनिने कट्टु अथवा स्कर्ट मध्ये एक प्रकारको पोशाक लगाउन सक्नेछन्। “

यस्तो खाले प्रष्टिकरण हुनु भन्दा पहिले प्रस्तुत गरिएको “अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा चरणबद्ध तरिकाले मिनी स्कर्ट “ को व्यवस्था लागु गरिने भन्ने सुझावप्रति ब्रिटेनका महिला मुक्केबाजहरुले विरोध गरेका थिए।

फरक

ब्रिटिश लाइटवेट च्याम्पियन नताशा जोनसले भनिन्-“ व्यक्तिगत रुपमा पोशाकको कुरा बाहिरी रुपसंगमात्र सम्बन्धित छ जस्तो मलाई लाग्छ, किनकी स्कर्ट लगाएर ब्यवहारिक रुपमा कुनै फरक पर्छ जस्तो लाग्दैन।

“महिलाले स्कर्ट लगाएको हेर्न चाहने भनेको पुरुषहरुले मात्र हो।

“बक्सर स्वयंले नै आफूलाई मन लागेको पोशाक रोज्न पाउनु पर्छ। कसैलाई जबर्जस्ती निश्चित पोशाक लगाउन बाध्य पारिनु हुंदैन।“

ऐच्छिक

“यो प्रावधान ऐच्छिक हुनुपर्छ,” ब्रिटेनकै युरोपेली फ्लाईवेट च्याम्पियन निकोला एडम्सले भनिन्। “मेरो विचारमा महिला बक्सरलाई स्कर्ट लगाएर खेल भन्नु उचित होइन।

“महिला फुटबल खेलाडीहरुले स्कर्ट लगाएर खेलेको त देखिंदैन।

“बक्सिंग जहिल्यै पनि शोर्ट्स अर्थात कट्टु लगाएर खेलिने खेल हो। अहिले आएर महिला भएकाले गर्दा स्कर्ट लगाउनु पर्छ भन्ने केहि छैन।“

एआईबीएका अध्यक्ष डा. चिंग-कुओ वु ले भनेका छन्-“ हामीले महिलाहरुलाई स्कर्ट लगाउनु पर्छ भनेर कहिले पनि भनेका छैनौं।

“कसैलाई शोर्टस् लगाउन मन पर्छ कोहीले स्कर्ट लगाउलान् त्यसैले हामीले यो विषयलाई ऐच्छिक बनाउने निर्णय गरेका छौं।

“यो बर्ष लण्डनमा हुने ग्रीष्मकालीन ओलिम्पिक्स पहिले भन्दा उत्तम हुनेछ किनकी इतिहासमा नै पहिलो पटक ३६ जना महिला बक्सरहरुले ओलिम्पिक पदकका लागि प्रतिस्पर्धा गर्दैछन्। “