ओलिम्पिक्समा तीन नेपाली खेलाडी छानिए

  • 15 मे 2012
लण्डन ओलिम्पिक्स तस्वीर कपीराइट AP
Image caption लण्डन ओलिम्पिक्स आयोजना हुने मुख्य रंगशाला हालै मात्र उद्घाटन गरिएको थियो

ब्रिटेनको लन्डनमा आगामी जुलाई २७ देखि अगस्ट १२ तारिख सम्म हुने ३० औं गृष्मकालिन ओलिम्पिक प्रतियोगिताको लागि एथलेटिक्स र पौडीका तीन नेपाली खेलाडीको छनोट भएको नेपाल ओलिम्पिक कमिटीले जनाएको छ।

ओलिम्पिक कमिटीले जनाए अनुसार एथलेटिक्समा पुरुष तर्फ टिकाराम थारु र महिलामा प्रमिला रिजाल तथा पौडीबाट श्रेया धिताललाई विश्वको सवैभन्दा ठुलो खेलमेलाको लागि चयन गरिएको हो । पौडीबाट पुरुष खेलाडीको चयन भने जुन महिनापछि मात्र तय हुने भनिएको छ।

दुई महिना अगाडी भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा यी खेलाडीहरु छानिएको नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधानले बताए।

खेलाडीहरुको खेल्ने इभेन्टस भने तय हुन बांकी छ । छानिएका दुवै खेलाडीहरुले छोटो दुरीमा भाग लिनेछन् भने पौडीकी श्रेयाले ५० मिटर फ्रि स्टाइलमा खेल्ने सम्भावना छ।

सपना

ओलिम्पिकमा छानिएपछि सशश्त्र प्रहरीकी खेलाडी प्रमिला रिजालले भनिन्, "यौटा सपना बुनेकी थिएं, पुरा हुने भयो।"

इलाम चिसापानीकी २७ वर्षिय धाविकाले भनिन् - कुनै पनि खेलाडीको लागि ओलिम्पिक अन्तिम सिंढी हो । नेपालको विकट गांउबाट आएर त्यहांसम्म पुग्ने भइयो । मेरो मेहनत सफल भएको छ ।

तस्वीर कपीराइट Jitendra Raut
Image caption प्रमिला रिजालले आफ्नो जीवनको सपना पुरा भएको बताएकी छिन्

२० वर्षिय तिलकराम थारु भने कम उमेरमा ओलिम्पिक पुग्ने एथलेट बनेका छन् । साथै धेरैजसो म्याराथन र मध्यम दुरीमा भाग लिंदै आएको एथलेटिक्समा थारुले छोटो दुरीमा पहिलो पटक दौडिनेछन् ।

प्रमिला रिजाल र नेपाल प्रहरीका तिलकराम थारुले सुदुर पश्चिमाञ्चलमा सम्पन्न छैटौं राष्ट्रिय प्रतियोगितामा छोटो दुरीका ४-४ वटा इभेन्ट्समा स्वर्ण पदक जितेका थिए । यस्तै पौडीकी श्रेया धितालले पौडीको आठ वटा इभेन्ट्समा स्वर्ण जितेर छैटौं राष्ट्रिय प्रतियोगिताको सर्वाधिक पदक जित्ने महिला खेलाडी बनेकी थिइन्।

सन् २०११ मा चीनको सांघाईमा भएको फिना विश्व पौडी च्याम्पियनसिपमा उनी १५० खेलाडी भित्र परेकी थिइन्।

प्रावधान

ओलिम्पिक खेलकुदमा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसीका हरेक सदस्य राष्ट्रले एथलेटिक्स र पौडीबाट दुई दुई खेलाडीले भाग लिन पाउने प्रावधान छ । यसको निर्णय सम्वन्धित संघको सिफारिसमा ओलिम्पिक कमिटीले गर्ने गर्दछ ।

नेपाल ओलिम्पिक कमिटीले ओलिम्पिकको सम्भावित खेलाडीको सुचीमा एथलेटिक्सबाट तिलकराम थारु राजेन्द्र भण्डारी सावित्री नेपाली र प्रमिला रिजाल तथा पौडीमा श्रेया धिताल प्रसिद्ध जंग शाह र शैलेस राणाको नाम दर्ता गरेको थियो ।

जसमध्ये छैटौ राष्ट्रिय खेलकुदमा नेपाली सेनाले सहभागिता नजनाएपछि सेनाका राजेन्द्र भण्डारीले प्रतियोगिता खेल्नै पाएनन् भने सावित्री नेपालीले जम्मा एक वटा मात्र स्वर्ण जितेपछि प्रमिला अगाडी आएकी थिइन्।

पौडीकी श्रेया धितालले सन् २०११ मा भएको फिना विश्व पौडी च्याम्पियनसिपमा १५० खेलाडी भित्र परेपछि लन्डनको लागी योग्य भएकी थिइन् । पुरुष पौडीखेलाडी शैलेस र प्रसिद्ध जंग शाहको छनोट भने आगामी जुन १ देखि ३ सम्म भारतको हैदराबादमा हुने फेडेरेसन कपको प्रतिस्पर्धाबाट हुने नेपाल ओलिम्पिक कमिटीले जनाएको छ।