दिल्लीको मन्दिरमा नेपाली पुजारी

  • 23 मे 2012
दिल्लीको मन्दिरमा नेपाली पुजारी तस्वीर कपीराइट Sanjaya Dhakal
Image caption भारतको राजधानी दिल्लीका कैयौं मन्दिरहरुमा नेपाली पुजारीहरु कार्यरत छन्

भारतको राजधानी दिल्लीका कैयौं मन्दिरहरुमा नेपाली पुजारीहरु कार्यरत छन्।

नेपालको राजधानी काठमाण्डौंमा रहेको हिन्दूहरुको एक प्रमुख मन्दिर पशुपतिनाथमा भारतीय पुजारी अर्थात भट्टहरु रहेको जस्तै भारतको राजधानी दिल्लीमा कैयौं मन्दिरहरुमा नेपाली पुजारीहरु छन्।

उत्तरी दिल्लीस्थित पीतमपुरा भन्ने ठाउँ नजिकै रहेको कोहाट एन्क्लेभमा खासगरी मध्यम वर्गीय भारतीयहरुको घना वस्ती छ।

त्यही वस्ती माझ रहेको एन डी गौरी शंकर मन्दिरमा विगत बीस वर्षभन्दा अगाडी देखि हरिहर शास्त्री मूल पुजारीको रुपमा कार्यरत छन्।

शास्त्री पश्चिम नेपालको स्याङ्गजाका रैथाने हुन्।

तर प‌ढाई तथा कामको सिलसिलामा निकै लामो समयदेखि उनी दिल्लीमा छन्।

“विद्धताको कदरस्वरुप यहाँका मानिसहरुले मन्दिर सञ्चालन गर्न अनुरोध गरे। उनीहरुको अनुरोध स्वीकारेर इमानदारीपूर्वक काम गरिरहेको छु,” उनले भने।

पुजाआजा

सेता मार्बल विच्छ्याइएको, हेर्दै सुन्दर यस मन्दिरमा कलात्मक तरीकाले बनाइएका थुप्रै देवीदेवताका मूर्तिहरु छन्।

अनि ती सबैको हेरविचार र पुजापाठका लागि अन्य नेपाली पुजारीहरुपनि छन्।

अर्घाखाँचीका नामदेव पोखरेल ती मध्येका एक हुन्।

“यहाँ बसेर काम गर्नु भनेको त हाम्रा लागि दुवै थोक हो। एक भगवानको सेवा, अनि दोस्रो कमाउने मेसो। नेपालमै रहेका हाम्रा घरपरिवार चलाउन यसैबाट सकिरहेका छौं,” पोखरेलले भने।

नेपालीहरुसंगै बनारसका सत्यानन्द त्रिपाठीपनि सोही मन्दिरमा खटिएका छन्।

“वास्तवमा हामीबीच तालमेल निकै मिल्छ। म यहाँ काम गर्न पाएर खुशी छु,” त्रिपाठीले बताए।

‘सयौं नेपाली पुजारी’

नेपाली पुजारीहरु कार्यरत मन्दिरहरु दिल्लीमा थुप्रै रहेको बताइन्छ।

“करीब एक हजार नेपाली पण्डितहरु यहाँ कार्यरत छन्। दश जना जतिले त निजी मन्दिर समेत बनाएका छन्,” हरिहर शास्त्रीले बताए।

तस्वीर कपीराइट sanjaya dhakal
Image caption नेपाली पुजारीहरु कार्यरत मन्दिरहरु दिल्लीमा थुप्रै रहेको बताइन्छ

एउटा शिवको मन्दिर दिल्लीको शहादरा भन्ने ठाउँमा नेपालीहरुले सञ्चालन गरिरहेको उनले जनाए।

नेपालीहरुद्वारा सञ्चालित त्यस्ता मन्दिरहरु ठ्याक्कै कति संख्यामा छन् भन्ने कुराको आधिकारीक आंकडा भने उपलब्ध छैन।

दिल्लीस्थित नेपाली दूतावासमा कला, संस्कृति सम्बन्धी मामिला हेर्ने अधिकारी अर्जुन पन्त भन्छन्, “वास्तवमा हामी यस्ता मन्दिरहरु कति छन् भन्ने कुराको आंकडा संकलन गर्ने क्रममा छौं।”

संख्या जति भएपनि यी मन्दिरहरुले प्रवाह गरेका भावनालाई भने धेरैले अनुपम मानेका छन्।

उनीहरु भन्छन् यो नेपाल र भारतबीचको सांस्कृतिक भाइचाराको नमूना हो।