भारतीय नेपालीहरुको भाषा प्रेम

  • 11 अगस्ट 2012
भारतका नेपालीभाषीहरु
Image caption नेपालीभाषी भारतीयहरु भानु जयन्ती लगायतका पर्व उत्साह साथ मनाउंछन्

भारतमा रहेका नेपालीभाषीहरु नेपाली भाषा तथा संस्कृतिको उत्थानमा निकै सक्रिय छन्।

एक करोडभन्दा बढी संख्यामा रहेका नेपालीभाषी भारतीय नागरिकहरुले नेपाली भाषाको सम्बर्द्धन गर्न भारतका विभिन्न ठाउँहरुमा साहित्यिक प्रकाशन तथा नियमित जमघट गर्ने गर्छन्।

नेपाली भाषा भारतमा संवैधानिक मान्यता प्राप्त भाषा हो।

आदीकविको सम्झना

भारतमा रहेका नेपालीभाषीहरुले गत महिना दिल्लीमा भानु जयन्ती मनाउने क्रममा नेपाली भाषाका आदीकविको सम्झनामा निकै रमाइलो गरे।

नाचगान तथा प्रवचनका साथसाथमा उनीहरुले नेपाली भाषाको विकासका मुद्दामा छलफल गरे।

नेपाली भाषालाई भूगोलको घेरामा बाँध्न नहुने उनीहरुको भनाई थियो।

भारतमा रहेका नेपालीभाषीहरुको एउटा प्रमुख संस्था नेपाली सम्मेलनका पूर्व मूलसचिव तथा भाषाविद विष्णुबहादुर गुरुङ्ग नेपाली शब्दको अर्थ व्यापक रहेको बताउँछन्।

“नेपाली शब्दको अर्थमा निहित व्यापकता के हो भने नेपाली भाषा बोल्ने र नेपाली संस्कृतिलाई मान्ने सबैजना जसमा विभिन्न जातीय घटकहरु जस्तै गुरुङ्ग, मगर, राई, लिम्बू पर्छन् - ती सबैको साझा चिनारी हो नेपाली। र त्यस्ता नेपाली भारतको नागरिकपनि हुनसक्छन् वा ब्रिटेनको नागरिकपनि हुन सक्छन् वा अमेरिकाको नागरिकपनि हुन सक्छन्,” गुरुङ्गले भने।

समृद्ध

करीब बीस वर्ष अगाडि नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा राखेर आधिकारिकता प्रदान गरिएको थियो।

हाल नेपाली भाषाको साहित्य तथा प्रकाशनको भण्डार भारतमा समृद्ध रहेको यहाँका नेपाली साहित्यकारहरु बताउँछन्।

खासगरी उत्तर भारत तथा दार्जीलिङ्ग एवं सिक्किममा त्यस्ता प्रकाशनहरु हुने गरेका छन्।

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ्गको आफ्नै निर्माण प्रकाशन समेत छ जसले नेपाली साहित्यहरुको नियमित प्रकाशन गर्ने गरेको गुरुङ्गले बताए।

“संविधानको अष्टम सूचीमा राख्नुको अर्थनै हो कि यस भाषाको साहित्य भण्डार यहाँ भारतमा समृद्ध छ। अनि नेपाली भाषा यहाँको साहित्य एकाडेमीबाट मान्यता प्राप्त भाषा पनि हो। हरेक वर्ष यहाँ भारतका मान्यताप्राप्त बाईस तेईस भाषाका लेखकहरुलाई पुरस्कृत गरिन्छ। त्यसमा नेपालीपनि पर्छ,” उनले भने।

चिन्ता

Image caption भारतमा नेपालीभाषी समुदाय भाषाको प्रचार प्रसार र उत्थानमा सकृय छन्

हाल नेपालभित्र जातजाति तथा भाषाभाषीको नाममा द्वन्द्वको स्थिति पैदा भएकोप्रति भारतका नेपालीभाषी समुदाय निकै चिन्तित देखिन्छन्।

साहित्य र संस्कृतिको माध्यमबाट नेपाली भाषाको विकासमा लागिपर्नु पर्ने उनीहरुको भनाई छ।

सिक्किमका नेपाली लेखक तथा भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार विजेता सानु लामाले भने, “विश्वस्तरमा नेपालीलाई एक सूत्रमा बाँधेर राख्ने नेपाली भाषा, साहित्य, संस्कार र संस्कृति आदिलाई सभ्य समाजले झैं सुरक्षा दिंदै विकसित तुल्याउनु पर्दछ।”

भारतको सरकारी रेडियो, अल इन्डिया रेडियोबाट हरेक दिन तीन पटक नेपाली भाषामा एक, एक घण्टाको कार्यक्रमसमेत प्रसारण गरिन्छ।

उक्त नेपाली कार्यक्रमका एकजना संचालक समेत रहेका गुरुङ्गका अनुसार ती कार्यक्रमहरुमा समाचार, कथा, नाटक तथा फर्माइसी गीतहरु बजाइन्छन्।

दुई समुदाय भारतमा नेपाली भाषा बोल्ने खासगरी दुईथरी समुदाय छन्।

एक, ती मानिसहरु जो नेपाली नागरिक हुन् र जो कामको खोजीमा भारत पुगेका छन्। उनीहरुको संख्या कम्तीमा बीस देखि बढीमा पचास साठी लाखसम्म रहेको बताइन्छ।

अर्काथरी चाहीं भारतीय नागरिक नेपाली भाषीहरु हुन् जो खासगरी उत्तर तथा उत्तरपूर्वी भारतमा बसोबास गर्ने गर्छन्।

उनीहरुको संख्या एक करोडभन्दा बढी रहेको बताइन्छ।

यी समुदायका मानिसहरुले आफुले बोल्ने बोलीको सम्झनामा नियमित कार्यक्रम गर्ने गरेका छन्।

त्यसमा पनि भानु जयन्ती त उनीहरुको लागि बेजोडको चाड बन्ने गरेको छ।