बेमौसमी मिलन

  • 26 जुन 2013
दार्चुलामा आएको बाढी
Image caption मनसूनमात्र नभइ अर्को मौसम प्रणाली पनि सक्रिय भएकोले पश्चिम नेपाल र उत्तर भारतमा भिषण वर्षा भएको बताइएको छ

दक्षिण एसियामा उत्तर पश्चिमतर्फ मनसून फैलँदै गर्दा विपरित दिशाबाट अर्को मौसम प्रणाली असामान्य रूपमा प्रभावशाली हुन पुगेपछि पश्चिम नेपाल र उत्तरी भारतमा भिषण वर्षा भएको विज्ञहरूले बताएका छन्।

उनीहरूका अनुसार ती दुई मौसम प्रणालीहरू अस्वभाविक तरिकाले प्रगाढ रूपमा मिसिन पुगेको हो र त्यस्तो मौसमी परिवर्तन अब नियमित बन्न सक्ने संभावना प्रबल छ।

सामान्यतया यसबेला दक्षिण एसियाली क्षेत्रका अधिकांश भागमा मनसूनी प्रणालीले वर्षा ल्याउने गर्दछ।

सो प्रणाली दक्षिणी भारतबाट माथि लागेर बाङ्लादेश, भारत, नेपाल, पाकिस्तान लगायतका देशहरुका आकाशमा फैलने गर्दछ।

तर यसपटक विपरित दिशा पश्चिमबाट अर्को मौसम प्रणाली, पश्चिमी वायु, अनपेक्षित रूपमा आइपुगेकाले ती दुई मौसमी प्रणाली मिलेर मूसलधारे वर्षा गराएको भारतीय मौसम विभागका निर्देशक बीपी यादवले बताए।

उनले भने, “दुई मौसमी प्रणालीहरू बीच हल्का अन्तर्क्रिया हुनु अस्वभाविक होइन तर यसपटक ती तीन दिनसम्म प्रगाढ रूपमा मिसिएर रहन पुगे र परिणाम स्वरूप वर्षौंपछिको त्यस्त भिषण वर्षा भयो।

“आउँदा दिनहरूमा यस्तै घटना मनसून वर्षा भइरहेको जुनसुकै ठाउँमा पनि हुन सक्छ।“

यादवले मनसून र पश्चिम तर्फबाट आएको अर्को मौसमी प्रणालीबीचको अन्तर्क्रिया त्यती विघ्न तीव्र र लामो थुप्रै वर्ष पछि भएको बताए।

पाकिस्तानमा त २६ वर्षपछि सो पश्चिमी मौसमी प्रणाली बेमौसममा आएको र त्यो निकै अस्वभाविक भएको सो देशको मौसम विभागका पूर्व प्रमुख कमार जमान चौधरीले जनाए।

“सामान्यतया पाकिस्तानमा यो महिना सुख्खा हुनु पर्थ्यो। यो पश्चिमी मौसम प्रणाली अक्टोबर महिनादेखि अप्रिलसम्म सक्रिय रहने गर्दछ, अनि जुलाईदेखि सेप्टेम्बरसम्म मनसूनी वर्षा हुने गर्छ।

“अहिले त पाकिस्तान भरी नै पश्चिमी मौसम प्रणाली छाएको छ र ठाउँ ठाउँमा भिषण वर्षा भइरहेको छ।“

त्यस्तो किन भएको होला भन्ने प्रश्नको जवाफमा चौधरीले भने, “किन यसो भइरहेको छ हामी भन्न सक्तैनौं र यो हावापानी परिवर्तनको कारणले भए-नभएको पत्ता लगाउन केही समय कुर्नै पर्छ।“

जर्मनीस्थित पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट रिसर्च नामक हावापानी परिवर्तनको क्षेत्रमा काम गर्ने एक संस्थासित आबद्ध प्राध्यापक बिल हेरले पनि त्यही आसयको भनाइ राखे।

तर उनले यसो पनि भने, “यो हावापानी परिवर्तन नै हो भनेर भन्न नसकिएनि, यस्ता विपदहरू अब नियमित बन्ने देखिएको छ।

“तापमान बढ्दै गएको वायुमण्डलले थोरै समयमा धेरै वर्षा गराउने क्रम बढीरहेको छ र त्यस्तो विश्वका अन्य ठाउँहरुमा पनि देखिन थालेको छ।“

विश्वव्यापी हावापानी परिवर्तनको प्रभाव भनी केलाई मान्ने, केलाई नमान्ने भन्नेबारे अनिश्चितता रहीरहँदा विश्वभरीको मौसम र त्यसमा पनि वर्षाको ढाँचा पहिले जस्तो नियमित नरहेको कुरा भने निश्चित भइसकेको छ।

त्यसैको एक उदाहरणका रूपमा वैज्ञानिकहरूले पश्चिम नेपाल र उत्तर भारतमा गत हप्ता भएको विनाशकारी वर्षालाई औंल्याएका छन्।