बाढीबारे बेखबर

  • 20 जुलाई 2013
Image caption दक्षिण एसियामा बाढीका विनाशकारी प्रभावहरू बढदै जाने चेतावनी वैज्ञानिकहरूले दिएका छन्

दक्षिण एसियाका प्राय:जसो देशमा बाढीको प्रकोप र त्यसबाट हुने जनधनको क्षति बढ्दै गएको भएतापनि, त्यस्तो विपदबारे सो क्षेत्रका देशहरुबीच पूर्व सूचना आदानप्रदानको योजनाले खासै गति लिन नसकेको अधिकारीहरूले ‌स्वीकारेका छन्।

उनीहरुले वर्षा एवं मनस'नमा देखिएका विनाशकारी परिवर्तनहरूले सो पहललाई युद्ध गतिमा अगाडि बढाउनु पर्ने स्थिति आइसकेको बताएका छन्।

केही दिनअघि भारतको उत्तराखण्डमा आएको बाढीले सुदूरपश्चिम नेपालपट्टि पनि ठूलो क्षति पु-याएपछि दक्षिण एसियाली देशहरूबीच मौसम सम्बन्धी पूर्व सूचना आदान-प्रदान अत्यन्त जरूरी भएको फेरि एकपटक महसूस गरिएको थियो।

सो बाढीबारे पूर्वसूचना र घटना भइसक्दा पनि के भएको थियो भन्ने जानकारी उत्तराखण्डको प्रशासनबाट लिन नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी अधिकारीले बताए।

उनले भने, “त्यसबारे कुनै जानकारी प्राप्त भएको थिएन र उनीहरूसित फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएको छैन।“

त्यसो त भारतबाट नेपाल छिर्ने नदीको संख्या नेपाली भूभागबाट भारतीय सीमाभित्र बग्ने नदीनालाहरूको तुलनामा नगण्य छ।

'भारतलाई जानकारी'

नेपालबाट भारत पुग्ने त्यस्ता नदीहरू मध्ये केहीको पानीको सतहको जानकारी जल तथा मौसम विज्ञान विभागले दैनिक रूपमा भारतलाई उपलब्ध गराउँदै आएको छ।

तर त्यही काम क्षेत्रीय रूपमा भने हुन नसकेको सो विभागका महानिर्देशक राजेन्द्र शर्माले बताए।

“बाढी भन्नासाथै त्यो क्षेत्रीय मुद्दा हो किनभने त्यसले सम्पूर्ण जलाधार नै समेट्छ।

चीन तथा भारतको माथिल्लो भेगबाट प्राप्त हुनसक्ने तथ्याङ्कहरू साह्रै महत्वपूर्ण हुन्छन् तर माथिल्लो र तल्लो जलाधार क्षेत्रबीच त्यसरी तथ्याङ्क आदान प्रदान भइरहेको छैन।“

पाकिस्तानका प्रमुख मौसम विज्ञानविद मोहम्मद रियाजले पनि त्यही आसयको भनाइ राखे।

उनले भने, “भारतबाट पाकिस्तान आउने नदीहरूको सतह एक निश्चित उचाइमा पुगेपछि मात्र दुई देशको सहमतिमा गठन भएको इन्दस जल आयोगलाई जानकारी दिइन्छ, तर त्यतिले पुग्दैन किनभने त्यति बेलासम्म हामीले जनधन जोगाउन खासै केही तयारी गर्न पाएका हुँदैनौं।

“जस्तै चित्राल र अखनोर भन्ने ठाउँबीच चेनाब नदीको खण्ड निकै लामो छ , तर त्यहाँको केही पनि जानकारी हामीले पाउँदैनौं जबकी सो नदीमा पानीको सतह अलिकति बढ्दा पनि पाकिस्तानलाई खतरा हुने गर्दछ।“

'अलग अफगानिस्तान'

रियाजका अनुसार उनको देशले अफगानिस्तानबाट त भारत जति पनि नदीमा पानीको सतहबारे जानकारी पाउने गरेको छैन।

सन् २०१० मा पाकिस्तानमा आएको विनाशकारी बाढीका प्रमुख कारणहरूमा अफगानिस्तानबाट पाकिस्तानी सीमाभित्र छिर्ने काबुल नदीमा ह्वात्तै बढेको पानीको सतह थियो।

“त्यो बाढी आउँदा अफगानिस्तानबाट हामीले कुनै पूर्व जानकारी पाएका थिएनौं र अहिले पनि हामीबीच बाढी र नदीमा पानीको बहावबारे जानकारी आदान प्रदान हुने गर्दैन,” रियाजले भने।

तर बाङ्लादेशका अधिकारीहरूले चाहिं छिमेकी देशहरूबाट बाढी सम्बन्धी जानकारी पहिलेको तुलनामा केही पाउन थालिएको बताए।

चीनको तिब्बतबाट ब्रम्हपुत्र नदीको पानीको सतहको जानकारी मनसुन याममा नियमित रूपमा पाउने गरिएको बाङ्लादेशका बाढी सम्बन्धी पूर्व जानकारी दिने कार्यालयका प्रमुख अमिरूल होस्सेइनले जनाए।

उनका अनुसार भारतबाट गंगामा पानीको सतहबारे तीन ठाउँबाट र ब्रम्हपुत्रको चार ठाउँबाट तथ्याङ्कहरू प्राप्त हुने गरेको छ।

यद्यपि ती तथ्याङ्कहरू नेपाल-बाङ्लादेश सीमा नजिकैका ठाउँहरुबाट मात्र पाइने भएको हुनाले बाढी सम्बन्धी पूर्वसूचना अझै पनि पुग्दो समयअघि पाउन नसकिएको होस्सेइनले बताए।

उनले भने, “भारतबाट पहिलेको तुलनामा गङ्गा र ब्रम्हपुत्रको पानीको सतहबारे अचेल वर्षायाममा हामीले जानकारी ‌पाउने गरेका छौं।

“तर ती नदीहरूबारे सीमाक्षेत्र भन्दा परका भारतीय ठाउँहरूबाट जानकारी पाए बाढी सम्बन्धी पूर्वसूचना दिन हामीलाई धेरै सहयोग पुग्थ्यो तर त्यसो हुन बाँकी छ।“

होस्सेइनले अहिले पाँच दिनअघि सम्म त्यस्तो सूचना दिन सकिएको तर बाङ्लादेशी जनताले एक हप्तादेखि १० दिन पहिले जानकारी पाउनु पर्ने माग गरेको बताए।

क्षेत्रीय सन्जाल

छिमेकी देशहरुका अधिकारीहरूले राखेका त्यस्तो धारणाले क्षेत्रीय सन्जालको खाँचोलाई थप प्रष्ट पारेको भारतको राष्ट्रिय विपद व्यवस्थापन केन्द्रका उपाध्यक्ष एम शशीधर रेड्डीले स्वीकारे।

उनले भने, “क्षेत्रीय स्तरको यस्तो धारणा प्रायजसो कागजबाट कार्यान्वयनसम्म पुग्न केही समय लाग्छ, खास गरी त्यस्तो योजनामा जसमा एक भन्दा बढी देश संलग्न हुनछन्।“

“आउँदा दिनमा क्षेत्रीय स्तरमा बाढी सम्बन्धी जानकारी अदान प्रदान गर्ने योजनाले ठोस रूप लिनेछ भन्ने आशा गर्न सकिन्छ।“

तर विज्ञहरू भन्छन्, जलस्रोतको विकास र पानीको बाँडफाँटको मुद्धामा दक्षिण एसियाली देशहरूबीच मात्र नभइ भारतभित्रकै राज्यहरूबीच पनि गहिरो असहमति छ।

त्यसैले बाढी सम्बन्धी पूर्वसूचनाकालागि आवश्यक नदीमा पानीको सतहबारेको तथ्याङ्क पनि ती देशहरूबीच सजिलै आदान प्रदान हुने सम्भावना कम रहेको उनीहरूको भनाइ छ।