तराई केन्द्रीत दलहरुको भूमिका

  • 13 नोभेम्बर 2013

पछिल्लो संविधानसभाको विशेषताका रुपमा क्षेत्रिय दलहरुको उपस्थितिलाई समेत गन्ति गरिन्थ्यो, यसमा तराई केन्द्रित दलहरुले मुख्य चिनारी पाए।

यसको प्रभावको रुपमा राष्ट्रिय राजनीतिको निर्णायक शक्ति मध्ये एक तराई केन्द्रित दलहरु पनि मानिन थालियो।

त्यति मात्र होइन, पक्ष होस् प्रतिपक्षको राजनीति, दुवैतिर उनीहरु नै प्रभावशाली देखिए ।

आन्दोलन

विगतमा प्रायः तराई केन्द्रित दलहरु एउटा आन्दोलनलाई विराम दिदै सोझै संविधानसभा– १ को निर्वाचनमा होमिएका थिए।

त्यतिखेर तराई केन्द्रित दलका रुपमा तीनवटा थिए, मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी।

यतिखेर एक दर्जन भन्दा बढी दलका रुपमा चुनावमा सहभागि भएका छन्।

यसैले एउटा आम प्रश्न सबै तराई केन्द्रित दलसंग सोधिने गरिएको छ– एकजुट भएर किन आएनौ?

अहिले मधेसको चुनावी राजनीतिलाई ज्वरो लागेको अवस्थासंग दांजिदैछ अर्थात ज्वरो लागेको बेलामा तापक्रम औसतन भन्दा फरक हुन्छ।

लेनदेन

यसरी किन भनिदैछ भने, यतिखेर मधेसी मुद्दा भन्दा पनि जाति र पैसाको लेनदेन अत्यधिक असरकारी देखिन थालिएको छ।

चुनावी हार–जीतको समिकरणको निर्धारणमा राज्य पुर्नसंरचनाको मुद्दा ओझेलमा परेको अवस्था छ।

तर पनि मधेसी बहुल क्षेत्रमा त्यहिंको अनुहार जितिनु पर्ने मनोविज्ञान बलियो देखिएको छ।

समग्रमा संविधानसभा– २ मा तराई केन्द्रित दलहरुको उपस्थिति विगतको भन्दा कम संख्यामा हुने अनुमान गरिदैछ।

टुक्रा–टुक्रामा विभाजित हुने “अमीबावादी” प्रवृतिमा हिडेका तराई केन्द्रित दलहरु मध्ये केही त समानुपातिक प्रकृया मार्फत मात्र अस्तित्व जोगाउने स्थितिमा छन्।

प्रतिस्पर्धा

प्रत्यक्ष निर्वाचनको करिब डेढ दर्जन क्षेत्रमा मधेसी दलहरु माझ नै प्रतिस्पर्धा छ, त्यसैगरि थप दुई दर्जन क्षेत्रमा मधेसी दलहरु माझ मत विभाजित भएर अरु दल उछिन्ने स्थितिमा देखिन्छन्।

छठ पर्व पछि केही निर्वाचन क्षेत्र विशेषका लागि केही तराई केन्द्रित दलहरुवीच आपसी तालमेल हुने बताईएको छ।

तर त्यो सम्भव हुन सकेन, बरु कतिपय क्षेत्रमा पहाडी उम्मेदवार जित्न लागेको अवस्थामा दोस्रो प्रतिस्पर्धीका रुपमा देखिएका मधेसी उम्मेदवारलाई मत हाल्ने सोचाई पनि देखिएको छ।

तर पनि एउटा आम प्रवृतिको रुपमा हेर्दा मधेसी मतदाता माझ विगतको भन्दा सामुदायिक धु्रविकरणको उष्णता यस पटक पक्कै कम छ ।