व्यथा छाडेर गयो भूकम्प

  • 2 मे 2015
भूकम्प पीडित
Image caption भूकम्पमा परी बांच्नेहरु र उनीहरुले ठूलो डर र त्राससंगै भोग्नु परेको बिचल्ली कहालीलाग्दो छ

गत शनिबार गएको विनाशकारी भूकम्पले धेरैको मनमा अनेक व्यथा भरेर गएको छ। धेरैले परिवारका सदस्य गुमाएका छन्। लाखौं घरबारविहीन भएका छन्। देशैभर भूकम्पले अनेक खाले दर्दनाक घटनाहरु भएका छन्।

मान्छेले जीवनभर नबिर्सने त्यस्ता धेरै वियोगका दृश्यहरु देखे। आफन्त गुमाउने, घाइते हुने र घरबारविहीन हुनेहरुको संख्या लाखौं नाघिसक्यो। विनाशको यो क्रम अनुमानै गर्न नसक्ने छ। यो क्रम अझै रोकिएको छैन।

भूकम्पमा परी बांच्नेहरु र उनीहरुले ठूलो डर र त्राससंगै भोग्नु परेको बिचल्ली कहालीलाग्दो छ। त्यस्तो विनाशकारी भूकम्पको केन्द्र बनेको गोरखा जिल्लाको दृश्य झनै कहालीलाग्दो छ।

सदरमुकाम वरपरका अधिकांश घरहरु सग्ला छैनन्। सुत्केरी, बालबालिका र बृद्ध जो सुकै हुन्, खुल्ला चौरमा रात बिताउन वाध्य छन्।

अन्नपात केही जोगाउन नसक्दा उनीहरु अहिले पूर्ण रुपमा अरुले पु-याइदिएको राहतबाट छाक टार्न बाध्य छन्।

सास जोगाउनु प्राथमिकता

Image caption गोरखा पल्साङका ५२ वर्षीय लोकबहादुर गुरुङ अझै टोलाउन छोडेका छैनन्

गोरखा पल्साङका ५२ वर्षीय लोकबहादुर गुरुङ टोलाउन छोडेका छैनन्। घरको कापमा पुरिएर मृत्यु भएकी गर्भवती भाइ बुहारीको अन्तिम संस्कार सकाएर फर्केका उनले घरभित्र पुरिएका आफ्ना कैयौं सामान निकाल्न सकेका छैनन्। निरन्तरको दर्केको झरीले उनलाई अर्को कठिन परिस्थिति ल्याइदिएको छ।

गोरखा सदरमुकाम नजिकको ‘होम स्टे’ को पहिचान बनाउदै गरेको उनको गाउँ अहिले उनीहरुकै लागि बास समेत बाँकी नराखी भत्किएको छ। ‘होम स्टे’ बाट मनग्ये कमाउने सपना बुन्दै ऋणमा घर सजाएका उनको त्यो सपना भग्नावशेष बनेको घरभित्र पुरिसकेको छ। ‘खोइ अब के गर्ने होला?’ आफैसंग प्रश्न गर्दे उनले भने, 'भएको सम्पत्ती यही घर थियो। खेतबारी छैन। अब छोरा नातीलाई पाल्ने कसरी हो? घर बनाँउदाको ऋण कसरी तिर्ने खोई?’

पल्साङ गाउको अग्ला पहराबाट हिमालका दृश्यहरु आँखै अगाडि ठोकिन्छन्। प्रकृतिले त्यति धेरै सुन्दरता दिएकै गाउँलाई भूकम्पले तहसनहस बनायो। हिमाल हेरेर रमाउने गाउँलेका आँखाहरु भग्नावशेष हेरेर रसाएका छन्। यो गाउँको विशेषता नै प्राकृतिक सुन्दरता हो। जहाँ अन्न त्यति फल्दैन। पानीको खुबै दुःख छ।

पीडा

Image caption बारीको पाटोमा आगो तापिरहेका थगबहादुर गुरुङको व्यथा पनि फरक छैन

“मर्ने मरे, हामी मरितुल्य भएका छौं,” सम्पूर्ण गाउँलेको पीडा एउटै छ। विनाशकारी भूकम्पले यहाँका २६ घर भताभुंग पारिदिएको छ।

बारीको पाटोमा आगो तापिरहेका थगबहादुर गुरुङको व्यथा पनि फरक छैन। ‘बनाएको नयाँ घरमा एकदिन पनि बस्न नपाउँदै ध्वस्त भयो। यी यस्तो बारीको बास भएको छ। अब के गर्ने? के खाने?’ नियतिमाथि उनी आफैँ प्रश्न तेर्स्याउँछन्। दुखबाट राहत पाउन पैसा कमाउन गएका छोरा विदेशमै छन्।

उनलाई चिन्ता नलिन उनले भनेका छन्। तर गाउँ सखाप भएको भोगेका बाबुको मन मान्दैन। उनले भने, ‘उसले चिन्ता नलिनु भनेको छ, तर गाउँको यस्तो हविगत हेरेर कसरी मन थाम्नु। मर्ने मरिसके, उनीहरुले त शान्ति पाए। बाँचेका हामी मरे सरह भइरहेका छौं।’

पल्साङमात्रै होइन, छिमेकी गाउँ पिपलथोकको व्यथा पनि उत्तिनै छ। गाउँका वासिन्दाहरु पर डाँडाको कुनामा देखिने बारपाक गाँउलाई हेर्दे भन्छन्, “त्यहाँ जति धनजनको क्षति यहाँ भएको छैन। दुःख भने बराबर नै हो।” पिपलथोक माथिको आकाश हुँदै क्षण क्षणमा हेलिकोप्टर बारपाक गइरहेको हेर्नु उनीहरुको दिनचर्या बनेको छ।

क्षतिग्रस्त

दलितहरुको बाहुल्य रहेको यो गाउँमा रहेका ३० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। छेउको थुम्कोमा रहेको खुल्ला चौरमा गाउँलेहरुले दिन काटिरहेका छन्। युवाहरु शहर र विदेश पसेका कारण गाउँमा बुढापाका, महिला र बालबालिकाहरु बढी देखिन्छन्।

७६ वर्षीय मोतिलाल सुनारले आफुले कल्पनै नगरेको घटना भोग्नुपरेको पीडा सुनाए। उनले भने, “यो जुनीमा कल्पना नगरेको कुरा भोग्नु प-यो। अब बाँकी जीवन खुल्ला चौरमै बित्ला जस्तो छ। खोइ कसले बनाइदेला र हाम्रो घर?”

क्षतिको यो दृश्य गोरखामा मात्रै होइन। सरकारी तथ्यांक अनुसार नै भूकम्प पीडित क्षेत्रमा आंशिक र पूर्ण गरी ३ लाख घरहरु भत्किएका छन्। मानिसका पीडा एउटै छन्। तर ती सबैको वाध्यता शोकलाई शक्तिमा बदल्नुपर्ने भएको छ।