नेपाली कांग्रेस आफ्नै नेतृत्वको सरकारको पक्षमा

  • 15 जुलाई 2010
रामचन्द्र पौडेल
Image caption नेतृत्वको वियमा कांग्रेसको भित्री विवाद भने सकिएको देखिन्न

कांग्रेस केन्द्रिय समितिले सकेसम्म सहमतिय सरकारको लागि र संभव नभए आफ्नै नेतृत्वमा बहुमतिय सरकार बनाउनको निम्ति अन्य दलसँग वार्ता र संवाद थाल्ने निर्णय गरेको छ।

तर उस्ले भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा कसलाई उभ्याउने भन्ने निर्णय अझै गरिसकेको छैन।

बहुमतिय सरकार बन्ने अवस्था आए नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने भन्ने सुझाव दलका केही नेताहरुबाट आएको भन्ने विषयले बिहिबार दिन भर चर्चा पाइरह्यो।

नेतृत्वको दाबी

तर त्यस्को ठिक विपरित कांग्रेस केन्द्रिय समितिको वैठकले भावी सरकारको नेतृत्व नेपाली कांग्रेस आफैंले गर्न आवश्यक संवाद थाल्ने निर्णय गरेको छ।

प्रवक्ता अर्जुन नरसिंह केसीले पहिलो र तेस्रो ठूलो दल नेतृत्वका सरकार विफल भएकाले अब नेपाली कांग्रेसले नेतृत्वका लागि दाबी गर्ने बताए।

प्रवक्ता केसीका अनुसार कांग्रेसको तर्फबाट सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयको छिनोफानो संभवत शनिबार बस्ने वैठकमा हुनेछ।

नेपाली कांग्रेस भित्र अहिले संसदिय दलका नेता रामचन्द्र पौडेल, र वरिष्ठ नेताहरु शेरबहादुर देउबा र कुलबहादुर गुरुङ मध्ये को भावि प्रधानमन्त्रीको उम्मेदवार बन्ने भन्ने विषयलाई लिएर विवाद जारी छ।

बिहिबारको वैठकमा नेतृ सुजाता कोइरालाले बहुमतिय सरकार बन्ने अवस्था आए बेलैमा संविधान नबन्ने र त्यसैले कांग्रेस प्रतिपक्षमा बस्नु पर्ने सुझाव दिएको बुझिएको छ।

तर उनको सुझावलाई वैठकमा गम्भीरतापूर्वक नलिइएपछि उनी वैठक कक्षबाट एकाएका बाहिरिएको बताइएको छ।

उनीसँग प्रतिक्रिया लिने बीबीसीले प्रयास विफल रह्यो।

लुछाचुँडी

दोस्रो ठूलो दल नेपाली कांग्रेस मात्र होइन सबै भन्दा ठूलो एकीकृत माओवादी र तेस्रो ठूलो नेकपा एमालेले पनि अहिले भावि सरकारको नेतृत्व आफैं गर्न कम्मर कसेर लागेका देखिन्छन्।

सहमतिय सरकार निर्माणको सम्भावना क्षीण भएका बेला देखिन थालेको सत्ताको लुछाचुँडीले गठबन्धन निर्माणका क्रममा विगतमा देखिएका जस्ता फोहोरी खेलहरु दोहोरिने सम्भावना बढेको छ।