Got a TV Licence?

You need one to watch live TV on any channel or device, and BBC programmes on iPlayer. It’s the law.

Find out more
I don’t have a TV Licence.

प्रत्यक्ष रिपोर्टिंग

सबै युके समय अनुसार

  1. मतदानको दृश्य

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पहिलो चरण अन्तर्गत बाग्लुङ्गमा भएको मतदानको भिडिओ

    Video content

    Video caption: मतदान प्रकृया
  2. ‘मतदान लगभग सम्पन्न’

    निर्वाचन आयोगले पहिलो चरणको चुनाव अन्तर्गत मतदानका कार्यक्रम लगभग सकिएको जनाएको छ।

    केही ठाउँमा साँझ पाँच बजेसम्म मतदान केन्द्र परिसरमा लामबद्ध भइसकेकाले मत खसाल्न पाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बीबीसीलाई जानकारी दिए।

    उनका अनुसार ३२ वटा जिल्लामा खसेका मतको विवरण संकलन भइरहेको छ र साँझ ६ बजे निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी त्यसबारेका विवरण सार्वजनिक गर्नेछ।

    ‘मतदान लगभग सम्पन्न’
  3. मतदाताको उत्साह

    मतदानमा वृद्धवृद्धा तथा अशक्तहरुले पनि उत्साहका साथ भाग लिएको विवरणहरु आएका छन्।

    मतदाता
  4. व्यासका मतदाताले सदरमुकाममा भोट खसाले

    उत्तरपश्चिम नेपालको दार्चुला जिल्लाको माथिल्लो भेग व्यास क्षेत्रमा हिमपात हुने डरले चुनाव पूर्व नै सदरमुकाम झरेका स्थानीयबासिन्दाले खलंगामा मतदान गरेको हाम्री संवाददाता मञ्जु कल्यालले जनाएकी छन्।

    हिमपात हुने भएका कारण व्यास क्षेत्रका बासिन्दा ६ महिना व्यास क्षेत्र र ६ महिना सदरमुकाम खलंगामा बसाई सर्ने गर्दछन्।

    व्यासका मतदाताले सदरमुकाममा भोट खसाले
  5. मतपेटिका 'विशेष सुरक्षा निगरानीमा' राखिने

    निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि ३२ वटै जिल्लाका मतपेटिका सदरमुकामसम्म ओसार्न बढीमा तीन दिन लाग्ने बताएको छ। थप यो लिङ्कमा: http://www.bbc.com/nepali/news-42126696

    मतपेटिका 'विशेष सुरक्षा निगरानीमा' राखिने
  6. ट्विटरमा चुनावी आँकडा

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका महत्वपूर्ण आँकडा सामाजिक सञ्जालको ट्विटरमा पनि राखिएका छन्।

  7. चिसोमा मतदान

    हिमाली भेगका कतिपय मतदान केन्द्रमा चिसोका कारण मतदाताहरु ढिलो आउँदा कर्मचारीले उनीहरुलाई कुर्नुपरेको थियो।

    चिसोमा मतदान
  8. मतपेटिका जल्यो: निर्वाचन आयोग

    निर्वाचन आयोगले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ को रत्न माध्यामिक विद्यालयस्थित केन्द्रमा प्रतिनिधिसभातर्फको मतपेटिका ‘आफै जल्न थालेको’ मतदान अधिकृतले जानकारी गराएको बताएको छ।

    रुकुम पश्चिमकै आठबिसकोट नगरपालिका ११ को नेरा माध्यमिक विद्यालयको मतदान केन्द्रमा समानुपातिकतर्फको मतपेटिकाबाट धुँवा निस्केको जानकारी प्राप्त भएको पनि उसले बताएको छ।

    ती दुवै स्थानमा मतदान कार्य स्थगित भएको आयोगले जनाएको छ। त्यहाँ ‍शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिएको आयोगको भनाइ छ।

    निर्वाचन आयोग
  9. हुम्लाको एउटा मतदान केन्द्रमा पुगेनन् मतदाता

    हुम्लाको चङखेली गाउँपालिकास्थित मेखोला रारा आधारभूत विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेसम्म कोही मतदाता मतदान केन्द्रमा नगएको निर्वाचन आयोगले जनाएको छ।

    मेखोला गाउँलाई अलग्गै वडा कायम गर्नुपर्ने माग राखी मुख्य दलहरुले चुनाव बहिष्कार गर्न आह्वान गरेका थिए।

    त्यहाँ ११९ जना मतदाता रहेको बताइएको छ।

  10. तिङलावासीद्वारा मतदान बहिष्कार

    प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु तिङलाका बासिन्दाहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मतदान नगरेको बीबीसी संवाददाता सुजाता तामाङले जनाएकी छन्।

    मतदानका लागि तिङलाका पाँचवटै केन्द्रमा कोही पनि मतदाता नगएपछि कर्मचारीहरु घाम तापेर बसेको देखिएको थियो।

    राज्यले तिङलावासीको समस्या सम्बोधन गर्न नचाहेका कारण यस पटक पनि मतदानमा सहभागी नभएको संघर्ष समितिका संयोजक बालकुमार कार्कीले बताए।

    तिङलामा २५ सय ७५ जना मतदाताहरु छन्। अन्य ठाउँहरुमा मतदान भइरहँदा उनीहरु भने आफ्नै दैनिकीमा व्यस्त थिए। उनीहरुले यसअघिको स्थानीय तहको निर्वाचनमा समेत मतदान गरेनन्।

    तिङलावासीद्वारा मतदान बहिष्कार
  11. कति मतदान केन्द्र छन्?

    पहिलो चरणको मतदानमा कति मतदान स्थल तथा कति मतदान केन्द्र छन्? एक भिडिओ

    Video content

    Video caption: निर्वाचन: कति मतदान केन्द्र छन्?
  12. निर्वाचन अघि ४१५ पक्राउ: प्रहरी

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले मतदान भइरहेको ३२ जिल्लामा सुरक्षा समस्या नदेखिएको बताए। उनले केही स्थानमा शंकास्पद वस्तुहरु राखिएको पाइएपनि सुरक्षा निकायले नष्ट गरेको जानकारी दिए।

    त्यस्ता शंकास्पद वस्तुमा अधिकांश ‘नक्कली बम’ पाइएको प्रहरीले बताएको छ।आइतवार बिहानसम्म चुनाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा ४१५ जना पक्राउ परेको प्रहरी प्रवक्ता नेउपानेले जानकारी दिए।

    पक्राउ परेकामध्ये अधिकांश नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् कार्यकर्ता रहेको बताइएको छ।

    त्यसबाहेक चुनावसँग सम्बन्धित झै-झगडा लगायतमा संलग्न भएको आरोपमा अन्य १६१ जनालाई कारबाही गरिएको उनको भनाइ छ। आइतबार बिहानसम्म हातहतियार र विस्फोटक पदार्थसँग सम्बन्धित ३६ वटा घटना भएको प्रहरीले बताएको छ।

    गृह मन्त्रालय
  13. मतपेटिका ढुवानी आज साँझबाटै: सेना

    नेपाली सेनाले ठाउँ-ठाउँमा पैदल गस्ती, हवाई गस्ती भइरहेको र मतदान सकिए लगत्तै आजै साँझबाट मतपेटिका जिल्ला सदरमुकाम ल्याउन सरकारी निकायहरुलाई मद्दत गर्ने सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले बीबीसीलाई बताए। उनका अनुसार प्रत्येक प्रदेशमा हवाई गस्ती र मतपेटिका ढुवानी लगायतमा सघाउन एउटा सैनिक हेलिकप्टर तैनाथ गरिएको छ। चुनावी सुरक्षाका लागि ३२ वटा जिल्लामा झण्डै २९ हजार सैनिक परिचालन गरिएको उनले जानकारी दिए। अहिलेसम्म अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले जनाएका छन्।

    नैनराज दाहाल
  14. दिउंसो ३ बजेसम्म ५५% मतदान सम्पन्न: निर्वाचन आयोग

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ अन्तरगत भएको पहिलो चरणको मतदानमा दिउंसो ३ बजेसम्म ५५% मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बीबीसीलाई बताएका छन्।

    प्रवक्ता निर्वाचन आयोग