Got a TV Licence?

You need one to watch live TV on any channel or device, and BBC programmes on iPlayer. It’s the law.

Find out more
I don’t have a TV Licence.

सारांश

  1. अमेरिका, ब्रिटेन र फ्रान्सले गत शनिवारको सन्दिग्ध रासायनिक अस्त्र आक्रमणको बदलामा भन्दै हवाई र क्षेप्यास्त्र हमला गरेका छन्
  2. रासायनिक अस्त्र प्रयोग गरेको अस्वीकार गरेको सिरियाली सरकारले हमलामा अन्तर्राष्ट्रिय कानूनको सीधा उल्लंघन भएको बताएको छ
  3. सिरियाली सरकारको प्रमुख समर्थक रुसले आक्रमणको घातक परिणाम हुनसक्ने चेतावनी दिएको छ
  4. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरुले “रासायनिक अस्त्र क्षमता भएका स्थानलाई निशाना बनाएको” बताए
  5. राजधानी दमास्कस र होम्स शहरमा विस्फोटका चर्को आवाज सुनिएको थियो

प्रत्यक्ष रिपोर्टिंग

सबै युके समय अनुसार

सिरिया आक्रमणबारे हालसम्म प्राप्त जानकारी

  • अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ।

  • अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले "बर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोग" गरेको बताएका छन्।

  • अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो।

  • रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएकाेमा अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएकाे छ।

  • भ्लादिमिर पुटिनले हवाई आक्रमणलाई "हस्तक्षेपकारी कार्य" भन्दै तत्कालै संयुक्त राष्ट्रसङ्घको बैठक बोलाउनु पर्ने माग गरेका छन्। अमेरिकाका लागि रुसका राजदूत आनाटोली आन्टोनोभले आक्रमणको दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

  • सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण "अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल‌ंघन" भएको बताएको छ।

  • ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमणलाई "उचित र वैधानिक" भन्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन्।

  • मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको साेल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन् - "तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र प्रयाेगकाे मापदण्डकाे अनादर गरेका छन्।"
सिरिया
AFP

हवाई हमलाप्रति इजरेलको समर्थन

इजरेलले सिरिया हमलाबारे वक्तव्य जारी गरेको छ:

"गत वर्ष राष्ट्रपति ट्रम्पले रासायनिक अस्त्रको प्रयोगले सीमा नाघेको प्रष्ट पारेका थिए। आज अमेरिकी नेतृत्वमा संयुक्त राज्य अमेरिका, फ्रान्स र संयुक्त अधिराज्यले त्यो सीमाको पालना गराएका छन्।

"सिरिया घातक गतिविधिमा संलग्न भइरहेको छ र उसले इरानसहितका मुुलुकका लागि त्यस्तो गर्ने आधार पनि दिइरहेको छ। यसले सिरियाको सीमा, उसको फौज र नेतृत्वलाई जोखिममा पारेको छ"।

सिरिया
Reuters

कोही हताहत भएका छैनन्: रुस

रुसको रक्षा मन्त्रालयले आफूले प्राप्त गरेको प्रारम्भिक जानकारीअनुसार सिरियामा भएको हवाई आक्रमणमा कोही पनि हताहत नभएको बताएको छ।

प्रहार गरिएका १०३ मध्ये ७१ वटा क्रूज क्षेप्यास्त्र सिरियाली पक्षले रोकिदिएको उसले जनाएको छ।

चारवटा हवाई अखाडालाई लक्ष्य गरी प्रहार गरिएका सबै र अरू दुई हवाई अखाडातिर प्रहार गरिएकामध्ये आधाभन्दा बढी क्षेप्यास्त्रहरू खसालिएको उसको भनाइ छ।

सिरिया
AFP

'होम्स शहरमा क्षेप्यास्त्र आक्रमणले पुर्याएको क्षतिका तस्बिर'

होम्स
Al-Ikhbariyah al-Suriyah
होम्स
Al-Ikhbariyah al-Suriyah
होम्स
Al-Ikhbariyah al-Suriyah

आक्रमणपछि दमास्कस कस्तो देखिन्छ?

सिरिया हमलाबारे संसदमा बोल्छु: मे

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले सिरियामा गरिएको हमलामा सहभागी हुने आफ्नो निर्णयको बचाउ गर्दै त्यसबारे संसद्‌मा सोमवार बोल्ने बताएकी छन्।

उनले भनिन्, "यो घटनाक्रम र सैन्य गोपनीयताको सन्दर्भमा हामीले जे गर्‍यौँ त्यो उचित थियो भन्ने मलाई लाग्छ।"

मे
BBC

हवाई हमलामा मर्केलको समर्थन

जर्मन चान्सलर एंगेला मर्केलले सिरियामा भएको हवाई हमलाप्रति आफ्नो समर्थन जनाएकी छन्।

उनले उक्त हमला थप रासायनिक अस्त्र प्रयोगविरुद्ध राष्ट्रपति असदलाई सचेत गराउनका लागि ‘आवश्यक र उपयुक्त’ रहेको बताएकी हुन्।

मर्केल
AFP

दमास्कस कस्तो देखियो?

लाना अन्टाकी, बीबीसी कार्यक्रम निर्माता

दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन्छन्।

जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन।

पसलहरू खुला छन् र मानिसहरू काममा गइरहेका देखिन्छन्।

सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिस भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति असदको पक्षमा नाराबाजी गरिरहेका छन्।

उनीहरू आफू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भन्न चाहन्छन् र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको आफ्नो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन नसक्ने बताउंदैछन्।

उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन्।

सिरिया
AFP

रासायनिक हमलामा सिरियाली सरकारनै संलग्न : ब्रिटिश प्रधानमन्त्री

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले गत साता डुमामा भएको रासायनिक हमला सिरिया सरकारबाहेक अरू कुनै समूहले गर्न नसक्ने बताएकी छन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ““हामीलाई थाहा छ सिरियाली शासनले आफ्नै जनताविरुद्ध रासायनिक अस्त्र प्रयोग गर्ने गरेको घृणित इतिहास छ।”

सिरियाली सरकारविरुद्ध गरिएको कारबाहीलाई “उचित र वैधानिक” भन्दै उनले यो कदम त्यहाँको गृहयुद्धमा हस्तक्षेप गर्न भने नचालिएको बताइन्।

टरिजा मे
BBC

हवाई हमला ‘अत्यधिक सफल’: ब्रिटिश रक्षामन्त्री

ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले ब्रिटेनले सिरियामा गरेको हमला ‘अत्यधिक सफल’ भएको बताउँदै हमलामा संलग्न चारवटा लडाकु विमानका सबै चालक दल सकुशल फर्किएको बताएका छन्।

बीबीसीसँग कुराकानी गर्दै उनले भने, ‘‘प्रत्येक प्रारम्भिक संकेतले उक्त मिसन अत्यधिक सफल भएको बताउँछ…….। हाम्रा सुरक्षाकर्मीको महत्त्वपूर्ण भूमिकाले भविष्यमा रासायनिक हतियारको प्रयोग गर्न सक्ने सिरियाली शासन क्षमतालाई कमजोर पारेको छ”।

पश्चिमा हमला ‘असद शासनलाई एउटा स्पष्ट चेतावनी’

रक्षा संवाददाता जोनाथन मार्कसको विश्लेषण

यो हमला झण्डै एक वर्षअघि सिरियाको हवाई अड्डामा अमेरिकी हमला भन्दा उल्लेखनीय थियो तर प्रारम्भिक रुपमा हेर्दा राष्ट्रपति ट्रम्पको भनाइ भन्दा हमला निकै सीमित छ।

गत वर्ष ५९ वटा क्षेप्यास्त्र प्रहार गरिएका थिए। यसपटक करिब दोब्बर संख्यामा क्षेप्यास्त्रहरू प्रयोग भएका छन्।

हालका लागि हमलाको क्रम रोकिएको छ। तर यदि असद सत्ता पुन: रासायनिक हमलामा उत्रिएमा अरु हमलाले निरन्तरता पाउने छन्।

अमेरिकी भनाइमा सिरियाली सर्वसाधारण र रुसीहरु नपरुन भनेर सावधानी अपनाइएको छ।

तर मौलिक प्रश्न कायम नै छ कि के सिरियाली राष्ट्रपति असद विचलित हुनेछन्?

गत वर्षको हवाई आक्रमणले उनको आचरणमा कुनै परिवर्तन ल्याउन सकेन। के यसपटक केही फरक हुनेछ?

सिरिया
AFP

सिरिया हमला ‘कानुनी रुपमा प्रश्न उठाउन सकिने खालको’ : ब्रिटिश विपक्षी नेता

ब्रिटेनका विपक्षी नेता जेरेमी कोर्बिनले सिरियाविरुद्ध हमला गर्ने निर्णय ‘कानुनी रुपमा प्रश्न गर्न सकिने कदम’ भएको बताएका छन्।

उनले प्रधानमन्त्री टरिजा मेले वासिङ्टनबाट निर्देशन लिनुको सट्टा संसदबाट स्वीकृति खोजेको भए हुने बताएका हुन्।

जेरेमी कोर्बिन
BBC

हवाई हमलामा ब्रिटेनको संलग्नता के थियो?

जोनाथन बेल, बीबीसी रक्षा संवाददाता

ब्रिटेनका चार वटा ‘टोर्नेडो’ जेटहरू एकाबिहानै साईप्रस आरएएफ अक्रोटीरीबाट उडे।

प्रत्येक जेटमा एक-एकवटा ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्रहरु रहेका थिए।

क्रूज क्षेप्यास्त्र ५ मिटर (१६ फिट) लामो रहेको छ र तीन सय माइल(४८० किलोमिटर) सम्म प्रहार गर्न सक्छ।

जीपीएसको माध्यमबाट तिनिहरुले आफ्नो निसानामा हान्न सक्ने गरि मिलाइएको थियो।

चार जेटहरूले निकै टाढादेखि सिरियाको हवाई अखडामा प्रहार गरे र सुरक्षित रुपमा फर्किए।

रक्षामन्त्री ग्याभिन विलियम्सनका अनुसार उक्त हमलामा ब्रिटेनको भूमिका सानो देखिन सक्छ तर यो संयुक्त प्रयासले राष्ट्रपति असदलाई स्पष्ट सन्देश दिएको छ।

विमान
MOD

सैन्य हमलाहरु अपराध हो: इरानी सर्वोच्च नेता

इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले सिरियामा पश्चिमाहरूको हमला अपराध भएको र त्यसबाट कुनै उपलब्धि हासिल नहुने बताएका छन्।

उनले भने, “अमेरिकाका साझेदारहरूले केही उपलब्धि हासिल गर्ने छैनन्। सिरियामा भएको आक्रमण अपराध हो”।

इरानी टेलिभिजनद्वारा उद्धृत उनको भनाइमा “अमेरिकी राष्ट्रपति, ब्रिटेनकी प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपति अपराधी हुन्।”

इरान राष्ट्रपति बशर अल-असदको बलियो समर्थक हो।

उसले सिरियाली सरकारलाई मद्दत गर्न आफ्ना फौजहरू परिचालन गरेको छ र अर्बौं डलर खर्च गरेको ठानिएको छ।

खामेनी
AFP/Getty Images

टर्कीले स्वागत गर्दै भन्यो, ‘उपयुक्त’ हवाई हमला'

टर्कीको विदेश मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् राष्ट्रपति बशर अल असदको शासनविरुद्ध गरिएको हवाई आक्रमणलाई ‘उपयुक्त प्रतिक्रिया’भन्दै त्यसको स्वागत गरेको छ।

गत साता डुमामा सिरियाली पक्षले गरेको भनिएको रासायनिक अस्त्रको प्रसङ्ग उल्लेख गर्दै टर्कीले ब्रिटेन, अमेरिका र फ्रान्सले चालेको कदमले "मानवीय चेतनालाई सहज" तुल्याएको टिप्पणी गरेको छ।

अंकाराका दृष्टिमा डुमामा सर्वसाधारणविरुद्ध भएको आक्रमण "मानवताविरुद्धको अपराध" सरह थियो र त्यसलाई दण्डित गर्नै पर्छ भन्ने उनको अडान छ।

सिरिया सरकारले उक्त घटनालाई बढाइचढाइ गरिएको दाबी गरेको छ। उसको साझेदार रुसले भने त्यो घटनामा ब्रिटेनको पनि संलग्नता भएको आरोप लगाएको छ।

टर्कीले सिरियाली सरकारविरुद्ध लडिरहेका विद्रोहीहरूलाई सघाएको छ। तर उसले उत्तरी सिरियामा रहेका कुर्द फौजविरुद्ध पनि सैन्य कारबाही सुरु गरेको छ।

उत्तरी सिरियामा हवाई आक्रमण गर्नका लागि टर्कीले रुससँग एउटा सहमति गरेको बताइएको छ।

आक्रमण
AFP

सिरियाका कुन-कुन स्थानमा हवाई आक्रमण भए?

सिरिया नक्सा
बीबीसी

ब्रिटिश विदेशमन्त्रीद्वारा स्वागत

ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले सिरियाविरूद्धको कारबाहीमा ब्रिटेन संलग्न भएकोमा स्वागत गरेका छन्।

उनले भने, “रासायनिक अस्त्रको जस्तोसुकै प्रयोगविरूद्ध उत्रिन विश्व एकताबद्ध छ, खासगरी सर्वसाधारणविरूद्ध प्रयोग गरिँदा।”

‘हमलाले लक्ष्य हासिल हुँदैन’

इरानद्वारा समर्थित लेबननी लडाकु समूह हिज्बुल्लाहले हमलाको निन्दा गरेको छ।

उसका हजारौँ लडाकुहरूले सिरियाली युद्धमा त्यहाँको सेनालाई सघाउँदै आएको छ।

हिज्बुल्लाहले एउटा वक्तव्यमा भनेको छ, “अमेरिकाले जुन युद्ध सिरिया, त्यस क्षेत्रका जनता, प्रतिरोध र मुक्ति आन्दोलनविरूद्ध गरिरहेको छ त्यसले आफ्नो उद्देश्य पुष्टि गर्नेछैन।”

सिरिया
Reuters

रुसी अखडाहरू ‘अछुतो’

अमेरिकी नेतृत्वको हमलाले सिरियास्थित रुसी नौसैनिक र हवाई अखडा नजिकको क्षेत्रहरूलाई निशाना नबनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ।

सिरियाली राष्ट्रपति बशर अल असदको समर्थनमा रुसी सेनाले सन् २०१५ मा हवाई आक्रमण शुरू गरेको थियो जुन असदको पक्षमा युद्ध पार्नका लागि महत्त्वपूर्ण साबित भयो।

समर्थकहरूसँग इयु एकबद्ध रहन्छ: डोनल्ड टुस्क

युरोपेली परिषद्‌का अध्यक्ष डोनल्ड टुस्कले शनिबार बिहान ट्वीटरमार्फत सिरियामा पश्चिमा शक्तिहरूले गरेको हवाई हमलाबारे प्रतिक्रिया जनाएका छन्।

उनले भनेका छन्, “अमेरिका, फ्रान्स र ब्रिटेनले गरेको हमलाले स्पष्ट पारेको छ कि सिरियाली सत्ता रुस र इरानसँग मिलेर अब यो मानवीय विपद्‌लाई निरन्तरता दिन सक्दैन, कम्तीमा कुनै मूल्य नचुकाइ।”

संयम अपनाउन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये तीन मुलुक अमेरिका, ब्रिटेन र फ्रान्सले आक्रमण गरेका विवरणहरूलाई नियालिरहेको बताएका छन्।

उनले ‘राष्ट्रसंघीय बडापत्र तथा सामान्य अन्तर्राष्ट्रिय कानून अनुसार कदम चाल्न’ उनीहरू जिम्मेवार रहेको बताए।

गुटेरसले थपे, “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारी हो। म परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकढिक्का हुन र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दछु।”

“म सबै सदस्य राष्ट्रहरूलाई यो खतरनाक स्थितिमा संयम अपनाउन र त्यहाँको स्थिति तथा सिरियाली जनताको पीडालाई झन् बिगार्न सक्ने अवस्था आउन नदिन आग्रह गर्दछु।”

गुटेरस
Reuters

सिरियामा युद्ध किन?

अमेरिका भन्छ, "सिरियाली शहर डुमामाथि रासायनिक हमला भएको प्रमाण छ"

दुष्परिणाम निम्तिने इरानी चेतावनी

इरानले आफ्नो विश्वासिलो सरकारविरूद्धको ‘त्रिपक्षीय हमला’ को निन्दा गरेको छ र क्षेत्रीय दुष्परिणाम निम्त्याउने’ चेतावनी दिएको हिज्बुल्लाहको अल-मनार टेलिभिजनले जनाएको छ।

समाचार संस्था एएफपीले इरानी विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, “संयुक्त राज्य अमेरिका र उसका साझेदार मुलुकहरूसँग कुनै प्रमाण छैन र उनीहरूले रासायनिक अस्त्र नियन्त्रणसम्बन्धी निकाय (ओपीसीडब्ल्यू) ले धारणा नबनाउँदै आक्रमण गरेका छन्। र, उनीहरू क्षेत्रीय दुष्परिणामका लागि जिम्मेवार छन्।”

सिरियाको गृहयुद्धमा राष्ट्रपति बशर अल असदलाई सघाउन इरानले आफ्ना सयौँ फौज खटाएको र अर्बौं डलर सहयोग गरेको बताइन्छ।

सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको छ?

राष्ट्रपति बशर अल असदको सरकारले रासायनिक हतियार कहिल्यै प्रयोग नगरेको दोहोर्याउँदै आएको छ र गत शनिबार डुमामा विद्रोहीहरुले जालसाजी गरेर उक्त घटना गराएको बताएको छ।

सरकारले उसको सम्पूर्ण रासायनियक अस्त्र निर्माणगृह सन २०१३ को आक्रमणलगत्तै अमेरिका र रुसले गरेको मध्यस्थतापछि ध्वस्त पारेको बताउँछ। त्यसपछि स्नायुप्रणालीमा असर पार्ने सरिन तत्व भरिएको रकेट दमास्कस शहरबाहिर रहेका विपक्षी नियन्त्रित क्षेत्रमा प्रहार गरिएको थियो जसबाट सयौं मानिस मारिएका थिए।

तर रासायनियक अस्त्रविरुद्धको राष्ट्रसंघीय निकाय ओपीसीडब्लुले त्यसपछि भएका चारवटा रासायनिक अस्त्र आक्रमणमा सरकारको संलग्नता रहेको बताएको छ। त्यसमध्ये एप्रिल २०१७ मा विद्रोही नियन्त्रित नगर खान शेखुनमाथि भएको आक्रमण पनि एक हो। त्यस आक्रमणमा पनि सरिन प्रयोग गरिएको थियो र ८० जनाको ज्यान गएको थियो।

सिरिया
BBC