
कोभिड खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि दिइने र आजका अन्य प्रमुख खबरहरू
आज फागुन २१ गते शुक्रवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू यो पेजमा अपडेट हुनेछन्।
आज फागुन २१ गते शुक्रवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू यो पेजमा अपडेट हुनेछन्।
प्रत्यक्ष रिपोर्टिङ
सबै युके समय अनुसार
कोभिड अपडेट: थप १२० सङ्क्रमित
विगत २४ घण्टामा थप १२० जना कोरोनाभाइरस सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सो अवधिमा ३,३९९ जनामा पीसीआर परीक्षण गरिएको थियो।
साथै थप ८३ जना कोरोनाभाइरसमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ८३२ रहेको मन्त्रालयको तथ्याङ्क छ।
दोस्रो मात्रा कोभिड खोप वैशाख ७ गतेदेखि
पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाइने स्वास्थ्य अधिकारीले जनाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताएको सरकारी समाचार संस्था राससले जनाएको छ।
पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारी गरी करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशील्ड’ खोप लगाइएको थियो।
सहमति हस्ताक्षरपछि प्रधानमन्त्री ओली र विप्लवले के भने?
नेपाल सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि प्रधानमन्त्री ओली र विप्लवले के भने?
विप्लवले आजको दिनलाई नेपाली राजनीतिको "एउटा नयाँ दिन" भनेका छन्।
सहमति भएको तीन बुँदाप्रति प्रतिबद्ध रहेको र त्यसलाई पालना गर्ने चन्दले बताए।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिलाई ठूलो सफलताको सङ्ज्ञा दिए।
साहसिक कदम चालेको भन्दै प्रधानमन्त्रीले नेकपाका महासचिव चन्दलाई धन्यवाद दिए।
थप पढ्नुहोस्।
सरकार र चन्द नेतृत्वको नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर
नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच काठमाण्डूको राष्ट्रिय सभागृहमा सहमतिपत्रमा हस्ताक्षर भएको छ।
सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले तीन बुँदे सहमतिमा उल्लिखित बुँदाहरू पढेर सुनाएका थिए।
उनका अनुसार सहमतिमा पुग्नुअघि सरकार र नेकपाबीच झन्डै एक वर्षदेखि विभिन्न तहमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छलफल हुँदै आएका थिए।
नेकपाको तर्फबाट वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले शुक्रवार ऐतिहासिक दिन भएको भन्दै आजको दिनले नेपालको इतिहासमा एउटा योगदान दिने बताए।
'विप्लव' औपचारिक रूपमा सार्वजनिक, केहीबेरमा सम्बोधन गर्दै
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित भएका हुन्।
औपचारिक रूपमा सार्वजनिक 'विप्लव'ले भने - 'सरकारसँगको सहमति पालना गर्छौँ'
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित भएका हुन्।
थप जानकारीनेत्रविक्रम चन्दको नेकपा र सरकारबीच सहमतिमा हस्ताक्षर हुँदै
नेपाल सरकार र नेत्रविक्रम चन्द 'विप्लव' को नेपाल कम्युनिस्ट पार्टीले आज काठमाण्डूको राष्ट्रिय सभागृहमा हिजो भएको सहमतिमा हस्ताक्षर गर्दैछन्।
सरकार र प्रतिबन्धित रहँदै आएको चन्द नेतृत्वको नेकपाबीच बिहीवार तीन बुँदे सहमतिमा नेकपाले आफ्ना सबै राजनीतिक विषयहरूको समाधानका लागि संवादको बाटो अपनाउने, राजनीतिक गतिविधिहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनेलगायत विषयहरू छन्।
सो कार्यक्रममा सहभागी हुन चन्द काठमाण्डू आइपुगिसकेको बताइएको छ।
२०७५ सालको फागुन अन्तिम सातातिर सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि चन्द सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
उनी सार्वजनिक रूपमा देखा परेको अन्तिम कार्यक्रम कुन थियो त? त्यहाँ उनले के भनेका थिए? पढ्नुहोस्।
चीनले हङ्कङको निर्वाचन प्रणाली नै परिवर्तन गर्ने
चीनले आफ्नो सबैभन्दा ठूलो राजनीतिक बैठकमा 'देशभक्त'हरू लागि शक्तिमा ल्याउन हङ्कङको निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ।
यो घोषणा हङ्कङमा चिनियाँ नियन्त्रण कसिलो बन्दै गइरहेको समयमा गरिएको छ।
एक साता लामो न्याश्नल पिपल्स कंग्रेसमा यससम्बन्धी एउटा मस्यौदा निर्णयमा छलफल हुनेछ।
सो बैठकमा हजारौँ नीति निर्माता सांसदहरू सहभागी छन्।
केन्द्र सरकारका नीतिहरूलाई पारित गर्ने सो बैठकले हङ्कङ विषयको निर्णय लगायत अन्य आर्थिक र वातावरणीय नीतिहरू पारित गर्ने अपेक्षा गरिएको छ।
अवार्ड पाएपछि मुस्कान खातुन के भन्छिन्?
Video content
तेजाब हमलामा परेकी मुस्कान खातुनले यो वर्ष अमेरिकी सरकारले दिने एउटा प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी छन्।
अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन्।
"यो पुरस्कार मैले पाएँ भनेर मैले आज बिहानै दूतावासबाट फोन आएपछि थाहा पाएँ, एकदमै खुसी लागेको छ र यो क्षेत्रमा अझ धेरै संघर्ष गर्नेछु," खातुनले बीबीसी न्यूज नेपालीसँग भनिन्।
थप पढ्नुहोस्।
मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी अवार्ड
पन्ध्र वर्षको उमेरमा तेजाब हमलामा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छन्।
यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन्।
उक्त अवार्ड मार्च ८ मा भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले प्रदान गर्नेछिन्।
उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन्।
नमस्कार। बीबीसी नेपालीको लाइभ पेजमा स्वागत छ।
शुक्रवार फागुन २१ गते दिनभरका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाको ताजा विवरण हामी यो लाइभ पेजमा प्रस्तुत गर्नेछौँ।
हालसम्मका पछिल्ला अन्तर्राष्ट्रिय समाचारहरू: