Got a TV Licence?

You need one to watch live TV on any channel or device, and BBC programmes on iPlayer. It’s the law.

Find out more
I don’t have a TV Licence.

प्रत्यक्ष रिपोर्टिङ

सबै युके समय अनुसार

  1. थप १४५ जना सङ्क्रमित

    स्वास्थ्य मन्त्रालयले बुधवार थप १४५ जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ।

    गत २४ घण्टामा एक जनाको मृत्यु भएको र ९० जना निको भएको मन्त्रालयको तथ्याङ्क छ।

    सो अवधिमा ३,९६३ जनाको पीसीआर परीक्षण गरिएको थियो।

    कोभिड
  2. अविश्वास प्रस्ताव फिर्ता लिन एमाले संसदीय दलको निर्देशन

    विक्रम निरौला

    बीबीसी न्यूज नेपाली, विराटनगर

    प्रदेशसभा

    नेकपा एमाले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्रीविरुद्ध संसद्मा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिन सांसदहरूलाई निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतकले बताएका छन्।

    तत्कालीन नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदहरूले गत पुसको दोस्रो साता मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

    उक्त समूहले भीम आचार्यलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो।

    तीमध्ये केही सांसदले यसअघि नै अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेश सभालाई दिइसकेको बताइएको छ।

    प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, "तत्कालीन एमालेबाट निर्वाचित सांसद जसले उक्त प्रस्तावमा हस्ताक्षर गर्नु भएको छ, उहाँहरुलाइ हस्ताक्षर फिर्ता लिन लिखित रूपमै पत्राचार गरिने छ।"

    अविश्वासको प्रस्ताव दर्ता गर्न अगुवाइ गरेका सांसद लक्षुमन तिवारीले परिस्थिति परिवर्तन भएकाले उक्त प्रस्ताव फिर्ता लिन आफूहरू तयार रहेको बताए।

    सबै प्रक्रिया मिलाएर केही दिनमै मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तिवारीले बताए।

    कुल ९३ जना सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेबाट निर्वाचित सांसदको सङ्ख्या ५१ रहेको छ। माओवादी केन्द्रका १६ , नेपाली काँग्रेसका २१ जना र अन्य साना दलका पाँच जना सांसद छा ।

    शेरधन राई
  3. भारतको १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस भेटियो

    भारतको १८ राज्यमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको डबल म्यूटेन्ट भाइरसबीच सम्बन्ध स्थापित गर्न नसकिने पनि बताएको छ।

    नयाँ प्रकारको कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको र ती बढी सङ्क्रामक रहेको भारतले जनाएको छ।

  4. सङ्क्रमण बढेपछि दिल्लीका विमानस्थलमा कोभिड परीक्षण

    भारत परीक्षण

    भारतको राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेसनहरूमा यात्रुलाई कोरोनाभाइरसको परीक्षण गरिने भएको छ।

    लगातार कोरोनाभाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्लीले सो निर्णय गरेको हो।

    गत साता मुम्बईले पनि व्यस्त स्थलहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो।

    भारतमा हालैका सातामा सङ्क्रमण ह्वात्तै बढेको छ। आइतवारदेखि दैनिक ४०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएका छन्।

    यो वर्षको सुरुका केही दिनहरूमा भारतमा दैनिक सङ्क्रमण १०,००० भन्दा तल झरेको थियो।

    दिल्लीले सिनेमा हल, मेट्रो रेल र धार्मिक स्थानबाट सङ्क्रमण धेरै फैलिन सक्ने बताउँदै त्यहाँ मानिसहरूलाई मास्क र दूरी अनिवार्य गर्ने बताएको छ।

    भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई एप्रिल ३० सम्म थपेको छ।

  5. सबैभन्दा ठूलो चिनियाँ कार निर्माताले विद्युतीय कार बनाउने

    कार

    चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी गिलीले सुविधासम्पन्न विद्युतीय कार बनाएर टेस्लालाई चुनौती दिने बताएको छ।

    भोल्भो र लोटस कारको स्वामित्व लिएको चिनियाँ कम्पनीले मङ्गलवार चिनियाँ बजारलाई लक्षित गरेर जीकर विद्यूतीय कारको घोषणा गरेको हो।

    सन् २०२१ को तेस्रो त्रैमासिकसम्म उपलब्ध हुने बताउँदै गिली कम्पनीले ती कार सुविधासम्पन्न हुने बताएको छ।

    गिलीको स्वामित्वमा रहेको स्वीडेनको भोल्भोले पनि चीनमा पोलस्टार नामक विद्युतीय कार बनाउँछ भने लोटसले इभिजा भन्ने विद्युतीय सुपरकार विकास गरिरहेको छ।

    टेस्लाको मोडेल ३ चीनमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार हो। चीनमा नियो, एक्सपेङ र ली अटोले पनि विद्युतीय कार बनाउँछन्।

  6. राजकुमार ह्यारीले मानसिक स्वास्थ्यसम्बन्धी संस्थामा काम गर्ने

    ह्यारी

    ब्रिटिस राजकुमार ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत बन्ने भएका छन्।

    एक विज्ञप्तिमा राजकुमार ह्यारीले नयाँ भूमिकाका सम्बन्धमा एकदमै उत्साहित रहेको बताएका छन्।

    उनको जिम्मेवारी, काम गर्ने समय र तलबका बारेमा बताइएको छैन।

    गत मार्चमा शाही जिम्मेवारीबाट पन्छिएपछि उनले कमाउन काम गर्न थालेका हुन्।

    राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उनको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण तयार गर्ने हुने बताएका छन्।

    बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार राजकुमार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोस्थित कार्यालयमा केही समय बिताउने बताएका छन्।

    सन् २०१३ मा स्थापित बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ। यसका ६६ देशमा ४९ भाषा बोल्ने २,००० परामर्शदाता रहेको बताइएको छ।

  7. उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण उक्साउन नगरिएको बाइडनको भनाइ

    बाइडन

    उत्तर कोरियाले गरेको छोटो दूरीको क्षेप्यास्त्र परीक्षण ‘उक्साउनका लागि गरेको’ नठानेको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

    आइतवार बिहान उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

    बाइडनले त्यसलाई रक्षा अधिकारीहरूले सामान्य गतिविधिको रूपमा लिएको बताए।

    उत्तर कोरियाले सप्ताहान्तमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रतिबन्ध नमिचिने गरी क्षेप्यास्त्र परीक्षण गरेको थियो। यो परीक्षण बाइडन सत्तामा आएपछि पहिलो पटक गरिएको हो।

    हालै उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो।

    बाइडन प्रशासनले उत्तर कोरियासँग कूटनीतिक सम्पर्क गर्ने प्रयास असफल भइरहेको विवरणमाझ पछिल्लो घटनाक्रम भएको हो।

  8. स्वागतम्

    शुभप्रभात। नमस्कार।

    बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।

    यो पेजमा हामी आज चैत्र ११ गते बुधवार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र समाचारहरू सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नेछौँ।