माओवादीले लोकतन्त्र सखाप पार्न लागेको विपक्षी आरोप

पछिल्लोपल्ट अपडेट गरिएको: 01.02.13, 22:11 NST सम्मका समाचार
विपक्षी नेताहरु

विपक्षी नेताहरुले माओवादीको चर्को आलोचना गरेका थिए

सरकारविरोधी आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले एकीकृत माओवादीले लोकतन्त्र सखाप पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

दैलेखको दुल्लुमा शुक्रबार आयोजित विरोधसभामा बोल्दै नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीले मुलुकमा अधिनायकवाद लादी लोकतन्त्र सखाप पार्ने षड्यन्त्र गरेको आरोप लगाए।

"एकीकृत माओवादीले मुलुकमा अधिनायकवाद लादी लोकतन्त्र सखाप पार्ने षड्यन्त्र गरेको छ"

सुशील कोइराला, नेपाली काङ्ग्रेसका सभापति

उनले अन्यत्र जस्तै नेपालमा पनि त्यस्तो अधिनायकबाद नटिक्ने उल्लेख गरे।

कार्यक्रमका अर्का वक्ता पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार निरंकुश बन्दै गएको र यसलाई आन्दोलनको बलबाटै ढाल्ने दावी गरे।

उनले माओवादी सरकारमा बसेपनि उसका कार्यकर्ताहरुले गाउंगाउंमा जनता धम्क्याउने काम गरिरहेको आरोप पनि लगाए।

"वर्तमान सरकार निरंकुश बन्दै गएको छ र यसलाई हामी आन्दोलनको बलबाटै ढाल्नेछौं"

माधवकुमार नेपाल, नेकपा एमालेका वरिष्ठ नेता

सभामा बोल्दै विपक्षी नेताहरुले, उनीहरुकै शब्दमा, माओवादीको सत्ता मोह सहमतिको वाधक भएको पनि बताएका थिए।

आन्दोलन

द्वन्द्वकालमा माओवादी कार्यकर्ताहरुद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाका हत्याराहरुलाई कारवाही गरिनुपर्ने माग गर्दै पत्रकारहरुले देशव्यापी आन्दोलन चलाएपछि दैलेख जिल्ला विगत केही सातादेखि चर्चामा रहंदै आएको छ।

दैलेखमा विपक्षी कार्यकर्ताहरुले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको उपस्थितिमा हुनलागेको सभालाई अवरोध पुराउन खोजेपछि माओवादी समर्थक तथा विपक्षी कार्यकर्ताहरुबीच हालै भीडन्त पनि भएको थियो।

एकीकृत माओवादी नेतृत्व शनिबारदेखि शुरु हुने आफ्नो सातौं महाधिवेशनका क्रममा हेटौंडा पुगिरहंदा वरिष्ठ विपक्षी नेताहरु भने दैलेख पुगेका थिए।

उनीहरुले आमसभामा स्थानीय जनसमुदायको उत्साहजनक उपस्थिति रहेको बताउंदै यसबाट सरकार विरोधी मानसिकता छर्लङ्ग भएको पनि जनाएका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।