जिनेथ बेडोया, ३८, कोलम्बिया

सन् २००० को मे २५ मा कोलम्बियाली पत्रकार जिनेथ बेडोया बोगोटाको ला मोडेलो जेलको ढोकाबाटै अपहरणमा परिन्। त्यहाँ उनी आफ्ना एक सम्भावित सूत्रसंग भेट्न गएकी थिइन्। उनलाई तीनजना पुरुषहरुले १६ घण्टासम्म बन्दी बनाए। उनलाई यातना दिइयो र बलात्कार गरियो। पछि तिनीहरु कोलम्बियाको प्रमुख अर्धसैनिक संगठन यूनाईटेड सेल्फ डिफेन्स फोर्सेस अफ कोलम्बियाका (AUC) सदस्य रहेको पहिचान भयो जसमाथि उनले अनुसन्धान गरिरहेकी थिइन्।

“बलात्कारपछि सबभन्दा गाह्रो कुरा के थियो भने म एक्लै थिएं मेरा शरीरमा घाउ लागेका थिए। म एकदमै असहाय थिएं। मलाई लाग्यो मैले आफ्नो जीवन चलाउनै पर्छ। अघि बढ्नै पर्छ। तर मलाई अघि बढ्न मन लागेन। त्यसैले शुरुमा त आत्महत्याको विचार आयो। तर त्यसको लागि अघि बढ्नपनि साहस आएन। मलाई डर लाग्यो कतै मैले गर्ने कोशिश विफल भए के होला। जे होस् बाँच्नका लागि मलाई कारण चाहियो। अनि एउटै जवाफ के आयो भने मैले मलाई सबैभन्दा प्यारो लाग्ने काम जारी राख्नुछ, त्यो हो पत्रकारिता।

तर बाहिर निस्कनु गाह्रो थियो किनभने मेरो शरीरभरी घाउ थिए। मेरो हात पाखुरा तिनिहरुले हानेको मुक्काका कारण निलाम्मे थियो…मेरो हात, मेरो शरीर, मेरो अनुहार जताततै घाउ थिए। मानिसहरुले यो हालतमा मलाई नदेखुन् भन्ने म चाहन्थें। तर जतिबेला मानिसहरुको अगाडि मेरो अनुहार देखाउन तयार भएं – घटनाको करीब दुई सातापछि – म तुरुन्तै मेरो अखबारमा (एल एस्पेक्टाडोर) फर्किएं।

त्यो एकदमै भावनात्मक क्षण थियो। किनकि म त्यहाँ बल्लबल्ल हिंड्दै निर्दशकका साथमा पुगें। सबैजना उभिए – करीब २०० पत्रकारहरु – अनि ताली बजाए। उनीहरुले लामो लाइन बनाए र मलाई अंगालो हाले।

त्यसपछि हामीले केवल अपहरणका कुरा गर्‍यौं। बलात्कारको कुरा कहिल्यै गरेनौं। मेरा कतिपय सहकर्मीलाई त म बलात्कृत भएको पनि थाहा भएन। तर जब घटनाको महिनौंपछि उक्त संगठन AUC का मुख्य कमान्डर कार्लोस कास्तानोले सो कुरा एउटा टिभी अन्तर्वार्ता मार्फत खुलाइदिए त्यसपछि दुई दिनसम्म म कार्यालय गइनं। त्यसपछि मैले सो विषयमा छलफल गर्न नचाहेको बताएं जुन कुरा अरुले सम्मान गरे।

त्यो ताका कोलम्बियामा अपहरणका घटना निकै साधारण हुने गर्थे। रिपोर्टहरुमध्ये ९० प्रतिशत त्यही बारे हुने गर्थे। त्यसैले मैले त्यही बारे लेख्न थालें। पहिलो महिना त हरेको रिपोर्ट लेख्दा अन्तमा म रुने गर्थैं। तर मैले आफुले आफैंलाई सम्हालें। किनकि मैले केही नराम्रो गरेको थिइनं।

देशको उत्तरी भागमा अर्धसैनिक बल र विद्रोही गुरिल्लाबीच भीडन्त भएका थिए। अपहरणको ६ महिना भएको थियो, मैले त्यहाँ जानको लागि अनुमति मागें। पत्रिकामा साथीहरु सुरक्षाका कारण त्यति उत्साही हुनुहुन्थेन। तर मैले कार्लोस कास्तानोलाई एउटा इमेल लेखें। उनलाई मैले काम जारी राख्न चाहेको र अर्धसैनिकका तर्फबाट केही ग्यारेन्टी खोजेको बताएं। उनले सकारात्मक जवाफ पठाएपछि म त्यहाँ गएं। र त्यो एउटा कठिन परीक्षा थियो किनकि मैले फेरि मेरो घाउका लागि जिम्मेदार अर्धसैनिकहरुको सामना गर्न पर्थ्यो।

मैले शुरुमै अर्को कठिन निर्णय लिएं। आफ्नो परिवारबाट टाढिने। मेरी आमाको नजिक म रहें तर बाँकि सबै आफन्तबाट टाढिएं। मैले मेरो बुबासंग फेरि कुनै कुराकानी गरिनं। मैले मेरो पीडा एक्लै बेहोर्न चाहें। अरु कसैका निम्ति बोझ बन्न चाहिनं।

पहिलो वर्षको दौरान मैले मनोवैज्ञानिक सहारा पनि पाएं। तर एउटा यस्तो समय आयो जब मलाई लाग्यो अब यसको काम छैन अनि मैले त्यो पनि छाडिदिएं।

सन् २०११ मा आएर बल्ल न्यायिक प्रक्रिया पुन: शुरु भयो। त्योपनि मैले बोल्ने निर्णय लिएपछि मात्र। सो प्रक्रिया भर्खरै शुरु भएको छ र अति पीडादायी छ किनभने मेरो अपहरणमा मैले नसोचेका कतिपय पात्रहरु संलग्न थिए। अहिले जब मसंग यति धेरै स्रोतहरु छन्, जब महान्यायाधिवक्ताको सोझो सम्पर्क नम्बर मसंग छ, यतिखेर त केही टुंगो लागेको छैन भने अन्य मुद्दाहरुको हकमा के भएको होला? कोलम्बियाको समस्या यही हो। मेरो मुद्दामा केही हुन सकेको छैन भने, अन्य कोलम्बियाली महिलाहरुले के आशा गर्नु?”

बेडोयाले बलात्कार लगत्तै प्रहरीलाई खबर गरेकी थिइन्। तर ११ वर्ष वितिसक्दापनि त्यसमा कुनै प्रगति भएन। त्यसैले सन् २०११ को मे महिनामा उनले आफ्नो मुद्दा मानव अधिकार सम्बन्धी अन्तर अमेरिकि आयोग सामुन्ने लगिन्। त्यसपछि कोलम्बियाको अभियोजनकर्ताको कार्यालय सक्रिय भयो। लगत्तै एकजना पूर्व अर्धसैनिक समातिए जसले अपहरणमा आफ्नो संलग्नता स्वीकारे। सन् २०१२ को सेप्टेम्बरमा अभियोजनकर्ताको कार्यालयले बेडोयाको अपहरण तथा बलात्कारलाई मानवता विरोधी अपराध भएको संज्ञा दियो किनकि अर्धसैनिक बलले त्यसलाई “युद्धको अंगको रुपमा लिएको थियो जसले गर्दा उनीहरुको ज्यादती र अपराधलाई नंग्याउन खोज्ने जो कोहीको मुख थुन्न सकियोस्”। त्यसरी मानवता विरोधी अपराधको कोटीमा सो प्रकरण राखिएपछि अब यस मुद्दामाथि कुनै कानुनी समय सीमा रहंदैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।