India cyclone
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतमा आँधीका कारण हजारौ विस्थापित

  • 13 अक्टोबर 2013

भारतको पूर्वी तटमा आएको शक्तिशाली समुन्द्री आँधी पायलिनले झण्डै पांच लाख मानिस विस्थापित गरिदिएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उक्त आँधीका कारण उडिसा राज्यमा पांच जनाको ज्यान गइसकेको छ ।

क्षति

दुई सय किलोमिटर प्रतिघण्टा रफ्तारको आँधी पायलिन, उडिसा राज्यको गोपालपुर नजिकको समुन्द्री तटबाट बेलुकी सवा ९ बजेदेखि सुरु भएको थियो।

अधिकारीहरुले कम्तीमा तीन मिट सम्म समुन्द्री लहरहरु उठ्न सक्ने र यसले अझ व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन्।

आज भन्दा १४ वर्ष अघि सन् १९९९ मा आएको आँधीमा हजारौ मानिस मारिएकाले अहिले सुरक्षाको लागि त्यसबेलाको भन्दा राम्रो पूर्वतयारी गरेको अधिकारीहरुले बताएका छन्।

उडिसामा रहेका बीबीसी संवाददाता संजय मजुम्दारले त्यहाँको स्थिति बारे जानकारी दिंदै भने, “रुखहरु ढलिरहेको विवरणहरु आएका छन्। केही क्षेत्रमा विद्युत आपूर्ति बन्द छ। घर तथा घरका छतहरु उडाएका छन्। यो एकदमै प्रारम्भिक चरणमा छ। आँधी अझै थुप्रै घण्टासम्म चलिरहने अनुमान गरिएको छ।”

उद्धार

उडिसा र आन्ध्र प्रदेशको समुन्द्री तटमा रहेका घरहरुमा बस्नको लागि कसैलाई पनि अनुमति नदिएको अधिकारीहरुले बताएका छन्। तर कतिपयले भने आफ्नै घरमा बस्ने इच्छा व्यक्त गरेका छन्।

आपतकालीन उद्धारको लागि सेनालाई तैनाथ गरिएको छ।

आँधी प्रभावित क्षेत्रमा राहत वितरणका लागि खाद्यान्न र हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको बताइएको छ।