'बम हमलाकारीको पहिचान छिट्टै'

  • 12 अक्टोबर 2015
टर्की प्रमं
Image caption प्रधानमन्त्री डाभुटोग्लुले शनिबार गरिएको बम हमलाका लागि प्रमुख संदिग्ध इस्लामिक स्टेट समूह भएको बताएका छन्

टर्कीका प्रधानमन्त्री एहमट डाभुटोग्लुले भनेका छन्, गत शनिबार झण्डै एकसय जनाको ज्यान जानेगरी एउटा शान्ति -यालीमा गराइएका आत्मघाती बम हमलाका लागि जिम्मेवार दुई मध्ये एकजनाको पहिचान गर्ने कार्यमा अधिकारीहरु सफलताको नजीकै पुगेका छन्।

प्रधानमन्त्री डाभुटोग्लुले उक्त घटनाका अनुसन्धानकर्ताहरुले डीएनए परिक्षणको परिणामको प्रतीक्षा गरिरहेको बताए।

प्रधानमन्त्री डाभुटोग्लुले शनिबार अंकारा शहरमा गरिएको बम हमलाका लागि प्रमुख संदिग्ध इस्लामिक स्टेट समूह भएको पनि बताए।

जिम्मेवारी

हालसम्म उक्त आक्रमणको जिम्मेवारी कसैले पनि दावी गरेको छैन, तर टर्कीको सरकारले उक्त घटनामा दुईजना आत्मघाती बम हमलाकारीहरुको संलग्नता रहेको ठानेको छ।

सो हमलामा मारिनेहरुको औपचारिक संख्या ९७ रहेको छ ।

तर शान्ति -यालीको आयोजक मध्येको एउटा समूहले १२८ जनासम्म मारिएका हुन सक्ने जनाएको छ।

प्रधानमन्त्री डाभुटोग्लुले उक्त हमलामा संलग्न मध्ये एकजनाको पहिचान गर्ने कार्यको नजीक अधिकारीहरु पुग्न लागेका बताए।

डीएनए परिक्षणको नतिजाबाट उक्त हमलाकारीको पहिचान हुन सकेमा उक्त हमलाका लागि जीम्मेवार समूहको पनि पहिचानमा सघाउ पुग्न सक्ने ठानिएको छ।

यसअघि उनले त्यस्तो हमलाका लागि आइएस, पीकेके वा अन्य चरम वामपन्थी समूहहरु जिम्मेवार हुन सक्ने बताएका थिए।

सोमबार पनि उक्त हमलामा मारिएकाहरु मध्ये केहिको अन्त्येष्टि गरिएको थियो।

विष्फोट

शनिबार टर्कीको राजधानी अंकारास्थित मुख्य रेल स्टेशन बाहिर भेला भएका अभियानकर्ताहरुको भीडमा दुई वटा बम विस्फोट भएको थियो।

त्यहां भेला भैरहेका अभियानकर्ताहरु, टर्कीको सरकारी सैन्य र उग्रवादी कुर्दीस्तान वर्कर्स पार्टी पीकेकेबीच भैरहेको हिंसा अन्त्य हुनु पर्ने माग गर्दै आयोजीत एउटा शान्ति -यालीमा सहभागी हुन गैरहेका थिए।

त्यति ठूलो स्तरको हमला रोक्न नसकेको भनी टर्कीमा अधिकारीहरुप्रति आक्रोशको भावना विद्यमान छ भने विपक्षी समूहहरुले उक्त घटनाका सम्बन्ध सरकारी दावी प्रति आशंका व्यक्त गरेका छन्।