ओलिम्पिक टर्च: १९३६ देखि २०१६ सम्म

  • 3 अगस्ट 2016

ओलिम्पिक्सको आरम्भ प्राचिन समयमा भएको भताएपनि, खेल आयोजनाअघि ओलिम्पिक ज्योतिको रिले दौड आयोजना गरिनु सापेक्षित रुपमा नयां प्रचलन हो, जुन सन् १९३६ मा बर्लिनमा आयोजित ग्रीष्मकालिन ओलिम्पिक्स् बाट शुरु भएको हो।

हरेक ओलिम्पिक्सका लागि नयां डिजाइनको टर्चमा ग्रीसको ओलिम्पियाबाट ओलिम्पिक ज्वाला खेल आयोजक शहरसम्म लग्ने गरिन्छ र यो क्रम यसपटक रियोमा पनि कायम राखिने छ।

गत केहि महिनादेखि नै सन् २०१६ को लागि तयार पारिएको नयां टर्चमा ओलिम्कि ज्योति ब्राजिलका विभिन्न भागहरुको यात्रामा रहेको छ।

त्यहि यात्रामा रहेको ज्योतिबाट ओलिम्पिक खेल आयोजना हुने मुख्य रंगशालामा रहेको मुख्य ओलिम्पिक ज्योति प्रज्वलन गरेर प्रतियोगिताहरुको शुभारम्भ गरिनेछ।

उक्त यात्रामा रहेको ओलिम्पिक ज्योतिको डिजाइन र सन् १९३६ देखि हालसम्मको ओलिम्पिक ज्योतिको रिलेका बारे थाहा पाउन हाम्रो तलको क्लिक गर्न मिल्ने गाइड हेर्नुहोला।

CLICKABLE
  • ओलिम्पिक टर्चहरु

    ×
  • २०१६ रियो ड जनिरो

    ×

    दक्षिण अमेरिका महादेशमा पहिलोपटक हुन लागेको ओलिम्पिक प्रतियोगिताका लागि चेलेस एण्ड हायाशी डिजाइन स्टुडियोले पुनर्प्रयोग गरिएको आलुमिनियम र रेजिनबाट नौलो टर्च बनाएको छ।

    टर्चमा रंगको प्रयोग ब्राजिलको समुद्र, जमिन, पहाड, आकाश र घामका साथै राष्ट्रिय झण्डासँग पनि मेल खानेगरी भएको छ।

    हरेक टर्चको तौल एकदेखि डेढ किलोसम्मको छ। बन्द अवस्थामा यो ६३.५ सेमि लामो हुन्छ भने खुला अवस्थामा यसको लम्बाई ‍६९ सेमि हुन्छ।

  • २०१२ लण्डन

    ×

    लण्डनले तेस्रोपटक ओलिम्पिक खेल आयोजना गरेको हुंदा, यस पटक प्रयोग भएको टर्चको आकार पनि तीन कुने बनाइएको थियो, जस्को डिजाइन गरेको थियो बारबर ओसगर्बीले। आलुमिनियम मिसिएको धातुबाट बनाइएको सुनौलो रंगको उक्त टर्चमा ८,००० वटा प्वाल पारिएको थियो जसले टर्च रिलेमा सहभागी ८,००० जनालाई संकेत गरेको थियो।

    ८० सेमि लम्बाईको उक्त टर्च सबैभन्दा लामोमध्येमा परेको भएपनि त्यसको तौल ८०० देखि ८५० ग्राम थियो।

  • २००८ बेइजिंग

    ×

    पाण्डुलिपिको मुठो जस्तो आकारको यो पटकको टर्चमा “भाग्य” अथवा “पवित्र बादल” को चित्र कुंदिएको थियो, जसको उद्देश्य चिनियाँ लोककथा अनुसार मेलमिलाप र सौहार्द्रता जनाउने शुभ संकेतहरु प्रस्तुत गर्नुथियो। उक्त टर्चले वातावरणप्रेमी र उच्च प्रविधियुक्त जनताका ओलिम्पिक्सको संकेत गर्ने उद्देश्य पनि राखेको थियो।

  • २००४ एथेन्स

    ×

    ग्रीक औद्योगिक डिजाइनर आन्द्रेआस भारात्सोसले ओलिम्पिक प्रतियोगिताको प्राचीन मूललाई विचार गरेर जैतुनको आकारको यो बेलाको टर्च म्याग्नेसियम र काठको मद्दतले बनाएका थिए।

  • २००० सिड्नी

    ×

    यो बेला प्रयोग भएका टर्चको डिजाइनका लागि सिड्नीस्थित प्रसिद्ध ओपरा हाउस, बुमर्यांगको घुमाई र प्रशान्त महासागरको नीलो रंगबाट प्रेरणा लिइएको थियो।

    यसमा रहेको तीन तहको संरचनाले पृथ्वी, आगो र पानीको संकेत गर्दछन्।

    अष्ट्रेलियाको आदिवासी एबोरिजनल समुदायकी धाविका क्याथी फ्रीमनले उक्त टर्चको मद्दतले मुख्य ओलिम्पिक्स रंगशालामा रहेको ठूलो ज्योति प्रज्वलित गरेकी थिइन् र उनले ४००मिटर दौडमा स्वर्ण पदक पनि जितेकी थिइन्।

  • १९९६ एटलान्टा

    ×

    मालकम ग्रीअरले डिजाइन गरेका यो ओलिम्पिक्सको बेला प्रयोग भएको टर्च केहि नर्कटहरुलाई डोरीले बाँधेर बनाइएको राँको आकारको थियो जुन प्राचीन टर्चहरुको डिजाइनबाट प्रेरित हो। प्रत्येक आधुनिक ओलिम्पिक्सलाई प्रतिनिधित्व गर्दै २२ वटा नर्कट जनाउने आलुमिनियमको संरचना यसमा छ। बीचको भागको ह्याण्डल काठबाट बनेको छ। यो ग्रीष्मकालीन ओलिम्पिक्समा प्रयोग भएकामध्ये सबैभन्दा लामो टर्च थियो। केही भाग पग्लिएपछि यसमा पछि पनि केही परिवर्तनहरु गरिएका थिए। यो टर्चमा ज्योति देखिन मुश्किल थियो र ग्रीसको खण्डमा भएको रिलेका क्रममा ज्योति निभेको थियो।

  • १९९२ बार्सिलोना

    ×

    बार्सिलोनाका एकजना औद्योगिक डिजाइनर आन्द्रे रिकार्डले “ल्याटिन” चरित्र झल्कने गरी यो ओलिम्पिक्सका लागि विशेष प्रकारको टर्च बनाएका थिए। टर्च रिले ६५२ केन्द्रहरु भएर अघि बढेको थियो।

    त्यसबेला मुख्य रंगशालामा रहेको ओलिम्पिक ज्योतिलाई एकजना प्यारालिम्पिक तिरंदाजी खेलाडी एन्टोनियो रेबोलोले, आगोको टुप्पो भएको वाण प्रहार गरी प्रज्वलित गरेका थिए।

  • १९८८ सोल

    ×

    यो ओलिम्पिकस् को ज्योति बोक्ने टर्च “कोरिया एक्सप्लोसिभ कम्पनी लिमिटेड” ले पित्तल, प्लास्टिक र छालाको प्रयोग गरेर बनाएको थियो, यसअघिको टर्चको डिजाइनमा आधारित भएर। यसमा रहेको दुईवटा ड्र्यागनको परम्परागत कोरियाली चित्रले पूर्व र पश्चिमबीचको लयात्मक सम्बन्धलाई दर्शाएको थियो। उक्त टर्चलाई २२ दिन लगाएर, ४,१६७.८ किलोमिटरको दूरी पार गरी, विभिन्न २१ वटा शहरहरु हुँदै, १,४६७ जना ज्योतिबाहकहरु र हजारौं सहयोगी तथा मार्गदर्शकहरुले अन्तिम गन्तव्यसम्म पुर्याएका थिए।

  • १९८४ लस एन्जलस्

    ×

    यो ओलिम्पिक्समा प्रयोग गरिएको टर्च पित्तले मोडेको आलुमिनियमबाट बनेको थियो र यस्को ह्याण्डल छालाको थियो। यो टर्चमा १९८४ र १९३२ का मुख्य आयोजनास्थल “मेमोरिएल कोलिसियम” को तस्वीर पनि थियो।

    अमेरिकाले टर्च बोकेर दौडेवापत प्रति किलोमिटरको ३,००० डलरको दरले धावकहरुसँग पैसा लिएपछि ओलिम्पिक ज्योतिको रिले दौड विवादास्पद बनेको थियो र ग्रीकहरु त्यस्तो कदमप्रति असन्तुष्ट थिए।

  • १९८० मस्को

    ×

    यो ओलिम्पिक्सका बेला सुनौलो, चांदी र रातो रंगको टर्चको बर्नरको माथि एउटा कप रहेको थियो। बोरिस टुचिनले डिजाइन गरेका उक्त ग्यास टर्च ६,२०० वटा बनाइएको थियो। उक्त टर्चलाई तत्कालीन सोभियत संघमा राज्यको आविष्कारका रुपमा दर्ता गरिएको थियो र त्यसको प्रमाणपत्र नम्बर ७२९४१४ थियो।

    त्यसबेला ओलिम्पिक ज्योतिले ग्रीस, बल्गेरिया, रुमेनिया भएर सोभियत संघसम्मको यात्रा गरेको थियो।

  • १९७६ मोन्ट्रिओल

    ×

    यसपटकको ओलिम्पिक टर्चका डिजाइनरहरु जोर्ज हुएल र मिसेल डालएरको मुख्य चिन्ता टर्च टेलिभिजनमा कस्तो देखिएला भन्ने नै थियो। तिनीहरुले रातो ह्याण्डल र कालो बर्नरसहितको टर्च बनाएका थिए र त्यस्को विशेष संस्करण सुनौलो र कालो रंगको थियो।

    पहिलोपटक ओलिम्पिक ज्वालालाई भूउपग्रहमार्फत लेजर किरणको प्रयोग गरी एथेन्सबाट ओटावा पुर्याइएको थियो। तर ओलिम्पिक खेलको ग्रीक मूललाई ध्यानमा राखेर टर्च भने परम्परागत रुपमा जैतुनको तेलबाट बालिएको थियो।

    जुलाई २२ तारिखका दिन आँधीहुरीका कारण मुख्य रंगशालामा बालिएको विशाल ओलिम्पिक ज्योति निभेको थियो। र, त्यसलाई जगेडामा राखिएको ओलिम्पिक ज्वालाको मद्दतले फेरि बालिएको थियो।

  • १९७२ म्युनिख

    ×

    यो प्रतियोगितामा ओट्ल आइखरले धर्काहरुको प्रयोगगरी बनाएका खेलाडीहरुको चित्र उल्लेख्य रहेका थिए।

    त्यसबेलाको ओलिम्पिक टर्च ह्यान्डल, प्लेट र अग्निनली गरी तीन खण्डमा निकेल क्रोमियम स्टिलबाट बनाइएको थियो। खराब मौसममा पनि काम गर्न सक्ने गरी यो टर्चको निर्माण गरिएको थियो।

    ग्रीसबाट जर्मनीसम्मको ओलिम्पिक ज्योति यात्राका क्रममा तापक्रम ४६ डिग्री सेल्सियस पुग्दा विशेष दबाबयुक्त टर्चहरुको प्रयोग गर्नुपरेको थियो।

  • १९६८ मेक्सिको सिटी

    ×

    यो ओलिम्पिक खेलका बेला ओलिम्पिक ज्योतिले अन्वेशक क्रिस्टोफर कोलम्बसले युरोपबाट त्यसबेला नयाँ विश्व भनिएको स्थानसम्म पुग्न प्रयोग गरेका मार्ग पछ्याएको थियो। यसबेला नै पहिलोपटक खेल आयोजना हुने मुख्य रंगशालामा अवस्थित ओलिम्पिक ज्योति एकजना महिला एन्रीकेटा बासिएलोले प्रज्वलित गरेकी थिइन्।

  • १९६४ टोक्यो

    ×

    कालो र चांदी रंगको यो टर्च आलुमिनियम र स्टिलको प्रयोग गरेर बनाइएको थियो र यसमा राखेर ओलिम्पिक ज्योतिलाई हवाई, स्थल र जलमार्गको प्रयोग गर्दै ओलिम्पियाबाट टोक्यो लगिएको थियो। जापान पुगेपछि ओलिम्पिक ज्योतिको यात्रालाई चारवटा फरक मार्गमा विभाजित गर्दै अन्त्यमा फेरि एकाकार तुल्याइएको थियो। सन् १९४५ को अगस्ट ६ तारिखमा हिरोशिमा शहरमा परमाणु बम खसालिएको दिन जन्मेका योशिनोरी साकाइ ओलिम्पिक ज्योति बोक्ने अन्तिम धावक थिए र उनले नै मुख्य रंगशालामा रहेको विशाल ओलिम्पिक ज्योति प्रज्वलित गरेका थिए। त्यसअघि रंगशालमा ओलिम्पिक ज्योति प्रवेश गर्दा दर्शकदीर्घामुनिबाट त्यहाँ अत्तर छर्किइएको थियो।

  • १९६० रोम

    ×

    केही सुरिलो मुरली जस्तो डिजाइन भएको यसपटकको टर्चको तौल ५८० ग्राम थियो। प्राचीन स्मारकहरुमा देखिने जस्ता टर्चहरुको डिजाइनमा आधारित यो ओलिम्पिक टर्चको डिजाइन अमेडेओ माइउरीले गरेका थिए। उनी रोमको पुरातात्विक भग्नावशेस पम्पेईको अध्ययनका लागि विख्यात पुरातत्वविद् पनि थिए। ओलिम्पिक ज्योतिको रिले ग्रीसबाट आरम्भ भएर प्राचीन मानवहरुले सिसिलीमा आफ्नो उपनिवेश बनाउनका लागि प्रयोग गरेका मार्गहरु पछ्याउँदै रोम पुर्याइएको थियो।

  • १९५६ मेलबर्न

    ×

    मेलबर्नमा प्रयोग भएका टर्चहरुका लागि लण्डन ओलिम्पिक्सका बेला राल्फ लेभर्सले डिजाइन गरेका टर्चहरुबाट प्रेरणा लिइएको भनिन्छ। त्यसबेला घोडचढी खेलहरु स्वीडेनको स्टकहोमा आयोजना गरिएको थियो। त्यसैले ओलिम्पिक ज्योति बोकेका टर्चहरु अष्ट्रेलिया र स्विडेन दुवै स्थानमा पुर्याइएको थियो। झण्डै २०,४७० किलोमिटर दूरी पार गरी ३,११८ जना धावकहरुको प्रयासमा ओलिम्पिक ज्योति मेलबर्न पुर्याइएको थियो।

  • १९५२ हेल्सिन्कि

    ×

    यो ओलिम्पिक्समा ज्योति रिलेका लागि, सयौं टर्चहरुको साटो जम्मा २२ वटा मात्र टर्चहरु बनाइएको थियो। र, तिनीहरुमा ज्योति कायमै राख्‍न १६ सयवटा ग्यास क्यानिस्टरहरु तयार पारिएको थियो। ६०० ग्राम चांदीको शीर्षभाग रहेको उक्त ओलिम्पिक ज्योति बोक्ने टर्च, खेल आयोजनापछि ओलिम्पिक र खेल संगठनहरुलाई प्रदान गरिएको थियो।

    ओलिम्पिक ज्योति बोकेर पुरुषहरुले १ किलोमिटर दूरी दौडने गर्दथे भने महिलाहरुले केही कम। र, हरेक २० मिनेटपछि त्यसमा ग्यासको नयाँ क्यानिस्टर फेर्ने गरिन्थ्यो।

  • १९८४ लण्डन

    ×

    लण्डनमा प्रयोग भएको ओलिम्पिक टर्चको डिजाइन राल्फ लेभर्सले गरेका थिए, जो “क्लासिकल” वास्तुकलाका प्रशंसक थिए। उनी युरोप यात्रा गर्ने त्यस्तो टर्च बनाउन चाहन्थे जुन महंगो पनि नहोस् र कलात्मक पनि होस्। त्यस बेला दुई प्रकारका टर्च बनाइयो- एउटा एलुमिनियमबाट बनेको र अर्को खेल आरम्भ हुने मुख्य रंगशालामा ओलिम्पिक ज्योतिको अन्तिम चरणको रिले दौडमा प्रयोग गर्नका लागि स्टिलबाट बनेको।

  • १९३६ बर्लिन

    ×

    बर्लिन खेल अघि प्रथम ओलिम्पिक ज्योति रिले आयोजना गरिएको थियो।

    कलाकार वाल्टर लेम्कले डिजाइन गरेका र फ्रेडरिक क्रप नामको विशाल स्टिल कम्पनीले निर्माण गरेको उक्त ओलिम्पिक ज्योति बोक्ने टर्च, ३,३३१ जना धावकहरुका लागि ३,८४० वटा बनाइएको थियो। स्टेनलेस स्टिलबाट बनेका २७ सेमि लम्बाईका टर्चहरुको तौल ४५० ग्राम थियो।