dr gobinda kc
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मनकारी डाक्टर: डा. गोविन्द केसी

  • 9 सेप्टेम्बर 2016

मनकारी डाक्टर श्रृंखलामा यसपटक कुराकानी गर्दैछौं डा. गोविन्द केसीसँग। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हाडजोर्नी विशेषज्ञ डा. केसीबारे धेरैलाई थाहा छ – उनी चिकित्सा शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न भन्दै आठपठक आमरण अनशन बसिसके। सार्वजनिक हितका लागि त्यसरी बारम्बार अनशन बस्ने शायद उनी संसारमै दुर्लभ प्रकृतिका व्यक्ति होलान्। उनको व्यक्तित्वको अर्को पाटो पनि त्यत्तिकै आश्चर्यजनक छ, ठूल्ठूला प्राकृतिक विपत्ति परेको खबर आउने वित्तिकै उनी स्वदेश होस् या विदेश आफ्नै पैसाले औषधी किनेर कुदिहाल्छन्। प्रस्तुत छ स्वास्थ्य शिविर र अन्य स्वास्थ्यसम्बन्धी गतिविधि गर्न देशको ७५ जिल्ला पुगिसकेका डा केसीसँग रमा पराजुलीले गरेको कुराकानी।

कतै विपत्ति परेको खबर आएक किन कुदिहाल्नुहुन्छ?

वास्तवमा मलाई थाहा छैन। मनले भन्छ ल जानुपर्छ भनेर, त्यसपछि म बस्न सक्दिन।

त्यहाँ जाँदा औषधी पनि लग्नुहुन्छ?

हो औषधी पनि लग्छु।

के औषधी लग्नुहुन्छ?

कस्तो खालको प्राकृतिक प्रकोप हो त्यसमा निर्भर गर्छ। डुबान छ भने पानीबाट सर्ने रोगहरु विशेषगरी छालाका लागि हुने अथवा झाडापखालाका औषधी लग्छु। भूकम्पमा जानु छ भने चोटपटक निको पार्ने औषधीहरु लग्छु। शीत लहरमा जाँदा न्याना कपडा लिएर जान्छु र त्यसै सम्बन्धी औषधी पनि लग्छु।

औषधी किन्ने पैसा कहाँबाट आउँछ?

म एक्लो मान्छे। मेरो तलब छ त्यो जम्मा हुन्छ। कहिले काहिँ ऋणात्मक पनि हुन्छ किनभने पेश्की लिनुपर्ने हुन्छ। त्यस्तो ठाउँमा जानुको मुख्य उद्देश्य विरामीहरुको उपचार हो भने र अर्को विपतमा परेकालाई तपाईँहरुको दुखमा हामी पनि सँगै छौं हामी पनि दुखित भएका छौं भनेर उहाँहरुलाई महशुस गराउन पनि जाने गर्छु।

त्यसरी अहिलेसम्म कहाँकहाँ जानुभएको छ?

नेपालमा त धेरै ठाउँमा गएको छु। बाढी आयो अथवा पहिरो गयो अथवा शीतलहर चल्यो अथवा महामारी फैलियो भने त्यस्तो ठाउँमा म पुग्ने गर्छु। पचहत्तरै जिल्ला पुगेको छु। त्यसरी जानुको एउटा उद्देश्य त्यहाँका स्वास्थ्यकर्मीहरुलाई म हाड जोर्नी विशेषज्ञ भएकाले आधारभुत ज्ञान दिन सक्यो भने स्थानीयहरुले सानोतिनो समस्यामा शहरमा आउन नपरोस्। उनीहरुको उपचार आफ्नै ठाउँमा होस् भन्ने हो। त्यसरी जाँदा निशुल्क स्वास्थ्य शिविर पनि गर्छु।

त्यसरी नेपालका ठाउँ ठाउँमा प्राकृतिक विपत परेको बेलामा मात्र कि अरु बेला पनि जानुहुन्छ?

अरु बेला नियमित रुपमा जान्छु।

नियमित भनेको कहिले कहिले जानुहुन्छ?

वर्षको दुइचोटि जान्छु छुट्टि लिएर। एकपटक जाँदा दुइ हप्ताको हुन्छ। प्राकृतिक प्रकोप भएका विदेशमा गएर पनि मैले सेवा गरेको छु। जस्तो बांग्लादेशमा १९९३ हो की १९९२ मा ठूलो समुन्द्री आँधी आएको थियो। म त्यो बेला पढ्थेँ पनि त्यहाँ। त्यसमा स्वयंसेवक भएर सेवा गरेँ। सन २००१ मा गुजरातको भुजमा ठूलो भूकम्प गयो। त्यहाँ गएर मैले तीन हप्ताजति सेवा गरेर आएँ। २००५ मा काश्मिर र नर्थवेष्ट प्रोभिन्समा ठूलो भूकम्प गयो। असी हजार जति मान्छे मरेका थिए। एक लाख जति घाइते भएका थिए। त्यहाँ पनि गएर मैले दुई हप्ता सेवा गरेँ। त्यसपछि २००८ मा बर्मामा ठूलो समुन्द्री आँधी आएको थियो। त्यहाँ गएर दश दिन सेवा गरेर आएँ। २०१० मा हेइटीमा ठूलो भूकम्प गयो। अढाई हप्ता जति त्यहाँ सेवा गरेँ। २०१० मै पाकिस्तानमा ठूलो बाढी आयो। त्यहाँ गएर सेवा गरेँ। २०१३ मा फिलिपिन्समा अहिलेसम्मको सबभन्दा ठूलो समुन्द्री आँधी गएको थियो। र ताक्लोबान शहर पुरै बगाएको थियो। त्यहाँ मैले तीन हप्ता सेवा गरेँ। २०१३ मै केदारनाथ बद्रीनाथमा ठूलो बाढीपहिरो आएको थियो। ती दुई ठाउँमा गएर सेवा गरेर आएँ।

प्राकृतिक प्रकोप भएको ठाउँमा तपाईँ गएको कारणले ज्यान बचाउन सकेको अथवा केही फरक पार्न सकेको घटना सम्झिनुहुन्छ?

त्यो त धेरैपटक भएको छ। अपरेशन गरेन भने ज्यान जाने स्थितिमा धेरैको ज्यान जोगाइएको छ।

नेपालमा ठूलो भूकम्प जाँदा पनि बाहिर निस्केर काम गर्नुभयो?

म त्यो बेला जाजरकोट गएको थिएँ। त्यहाँ महामारी चलेको बेला। त्यहाँ पनि भूकम्प गयो तर धेरै क्षति भएन। धरहरा लडेर कति मान्छे मरे भन्ने सुन्ने वित्तिकै मैले त्यहाँ भन्दा यहाँ मेरो आवश्यकता महशुस गरेर त्यहाँका मानिसहरुलाई बरु पछि फर्कौंला भनेर दौडिँदै यतै आएँ। हिँडेको तिन दिनमा आइपुगेँ। दुइ हप्ता जति टिचिङ अस्पतालमा विताएँ। यति विरामीहरु हुनुहुन्थ्यो। त्यहिँ व्यस्त रहेँ। त्यसपछि गएँ चौतारा, रसुवा, नुवाकोट र गोरखा पनि गएँ।

विदेशमा पनि डाक्टरहरु हुन्छन् विपतका बेला तपाईँको आवश्यकता पर्छ र जानुहुन्छ?

यदि सानोतिनो भुईँचालो अथवा समुन्द्री आँधी भयो भने धेरै मान्छेको मृत्यु हुँदैन धेरै मान्छे घाइते हुँदैनन्। त्यस्तोमा म जाँदै जान्न। जब हजारौंको मृत्यु हुन्छ, हजारौं घाइते हुन्छन् जस्तै विकसित राष्ट्रमा पनि त्यस्तो स्थितिमा धेरै स्वास्थ्यकर्मीको जरुरत पर्छ। र अहिलेसम्म जहाँ जहाँ गएँ एकदिन पनि खेर फालेको छैन। जाने वित्तिकै केही घण्टामा म काम शुरु गर्छु।

त्यो बाहेक तपाईँले गर्दै आएको अर्को काम स्वास्थ्य शिक्षा क्षेत्रमा रहेको बेथिति अन्त्य गर्न आठपटक अनशन बसिसक्नुभयो। अहिलेसम्म ८३ दिन बसिसक्नुभयो भन्ने पढ्न पाइन्छ। त्यस्तो किन गर्नुहुन्छ?

मैले अघि नै तपाईँलाई भनिसकेँ, म नेपालका ७५ जिल्ला पुगेको छु। नेपालको सबै ठाउँको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य सम्बन्धी स्थिति मलाई पूर्ण ज्ञान छ। म आँफै पनि गाउँमा पढे हुर्केको मान्छे। शहरमा बसेर अहिले काम गरिरहेको छु।मलाई अनुभव छ ज्ञान छ। विदेशमा पढेँ। विदेशको तालिम लिएको छु। त्यहाँ पनि के भइरहेको छ कसो छ भन्ने मलाई ज्ञान छ। नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा राजनीतिक भागबण्डा छ। राजनीतिक हस्तक्षेप संस्थाहरुको पार्टिकरण गरेर धराशायी बनाइसकेका छन्। सेवा, सुविधाहरु छन् सबै शहर केन्द्रित छन्। शहर भन्दा बाहिर ग्रामीण भेगमा छैनन्। मलाई थाहा छ के भइराखेको छ र के हुनुपर्थ्यो? अर्को कुरा स्वस्थ्य रहेर जिउन पाउने प्रत्येक नेपालीको नैसर्गिक अधिकार हो। तर त्यो भइरहेको छैन। दुई तिहाइदेखि तीन चौथाई जनसंख्या आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित छन्। शिक्षा पनि धेरै महँगो भएको हुनाले ग्रामीण भेगका मानिसको पहुँच भन्दा बाहिर छ। उनीहरुलाई संविधानले दिएको अधिकार नै कुण्ठित भइरहेको छ। राजनीतिक नेतृत्व वा राज्यको गैर जिम्मेवारपन र हेलचक्र्याईँको कारणले। त्यसकारणले उनीहरुको अधिकार प्राप्तीका लागि हामी लडिराखेका हौं। शिक्षा गुणस्तरीय हुनुपर्छ, मर्यादित हुनुपर्छ त्यसका लागि हामी लडिराखेका छौं।

अब यस्तो अनशन कहिलेसम्म बस्न सक्नुहुन्छ? उमेरले पनि केहि समस्या देला। तर स्वास्थ्य र शिक्षा क्षेत्रमा जुन सुधारका लागि हामी लडिराखेका छौं जबसम्म त्यो प्राप्त हुँदैन र त्यसलाई विथोल्ने प्रयास गरिन्छ तबसम्म लड्छु।

मेरो विवेकले जे देख्यो मैले त्यो गरेँ। मैले परोपकार गर्छु समाज सेवा गर्छु भनेर यो काम गरेको होइन। मैले एउटा नागरिकको कर्तव्य निर्वाह गरेको मात्र हुँ। त्यसले मलाई आत्मसन्तुष्टी दिने हुनाले त्यस्तो काम गर्ने गरेको हुँ।