dr bhagaban koirala mankari doctor
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मनकारी डाक्टर: डा. भगवान कोइराला

  • 15 सेप्टेम्बर 2016

जतिबेला शहीद गंगालाल हृदयरोग केन्द्रको नेतृत्व भगवान कोइरालाको हातमा आयो त्यसबेला नेपालमा मटुरोग उपचारको राम्रो व्यवस्था थिएन। गंगालालाई मुटुरोग अस्पतालको रुपमा स्थापित गर्न नेतृत्वदायी भूमिका खेलेका थिए डा. कोइरालाले। गंगालाल स्थापित हुने क्रममा मुटुरोग उपचारमा विपन्नहरुको पहुँच बढाउने काम पनि क्रमश: बन्दै गयो। गंगालाल पछि टिचिङ अस्पताल महाराजगञ्जमा मनमोहन कार्डियोथोर्यासिक सेन्टर पनि मुटुरोग उपचार केन्द्रको रुपमा स्थापित भइसकेको छ। प्रस्तुत छ, दैनिक ८-१० जना मुटुरोग विरामीको शल्यक्रिया गरेर अहिलेसम्म हजारौंको मन जितिसकेका भगवान कोइरालासँग संस्था स्थापना गर्दाको अनुभवबारे रमा पराजुलीले गरेको कुराकानी।

गंगालाल अस्पताल तपाईँको हातमा आउँदा कस्तो थियो कस्तो बनाएर छोड्नुभयो?

मैले कस्तो थियो भन्न सक्छु। कस्तोमा पुर्याएँ भन्नु जायज नहोला मेरो तर्फबाट।

त्यसो भए के के गर्नुभयो भन्नोस् न त।

शुरुमा जाँदाखेरि केहि साथीहरु हुनुहुन्थ्यो तर उहाँहरु पनि नयाँ कुराहरु शुरु गर्न नपाएकोमा छटपटीमा हुनुहुन्थ्यो। ओपीडी सेवा सञ्चालनमा थियो। र सात बेडको एउटा सानो वार्ड जस्तो अहिले ओपीडी चलेको भवनमा थियो। र यो छाला जुत्ताको कारखानाका धेरैजसो घरहरु भत्केको अवस्थामा त्यतिकै थिए। छोटकरीमा त्यो छाला जुत्ताकै गन्ध आउने एउटा स्थान थियो। त्यसलाई हामीले मुटुको स्तरीय सेवा दिने अस्पतालमा परिणत गर्नुथियो। यो एउटा चुनौती थियो। पहिलो मीटीङमै हामीले मुटुको विशेषज्ञ सेवा कसरी विकास गर्ने कसले के को जिम्मा लिने भन्ने छलफल गर्यौं। पाँचसात वर्ष लाग्ला त्यतिञ्जेलमा एउटा संसारको विश्वास योग्य अस्पतालमा पर्न सकौं भनेर शुरु गरेको।

सरकारले पैसा दियो त त्यति बनाउन?

शुरुमा हामीलाई बडो अफ्ठ्यारो थियो। त्यो बेलामा नसर्ने रोगको प्रकोप विशेष गरी मुटुरोगको प्रकोपको बारेमा चेतना पनि थिएन। नेताहरुले हाम्रै अस्पतालको मञ्चमा आएर जिल्लामा पोष्टमार्टम गर्ने डाक्टर नभएको बेलामा यो मुटुरोग जस्तो फ्यान्सी रोगलाई हामीले पैसा हाल्न सक्छौं? भनेर हामीलाई प्रश्न गर्नुहुन्थ्यो, हाम्रै अध्यक्षले पनि। त्यस्तो ठाउँबाट शुरु गरेको हामीले काम। म त्यहाँ गएको केही महिनामै हामीले सेवा सुचारु गर्यौं। इमर्जेन्सी शुरु भयो, अपरेशन पाँच महिनापछि शुरु गर्यौं। त्यसपछि त यसको एउटा नाम भयो। परिणामहरुले बोल्दै गएपछि जनताको स्तरमा यसको बारेमा धेरै आवाज उठ्न थाल्यो। शुरु शुरुमा त कुनै ‘स्कीम’हरुपनि थिएन। सरकारी बजेटपनि कम। त्यसैले हामीले विभिन्न व्यक्ति, विदेशी या नेपाली संघ संस्था, दाताहरुको धेरै सहयोग लिनुपर्यो। धेरै व्यक्तिहरु स्वस्फुर्त रुपमा आउनुभयो। गोपाल राजभण्डारी भन्ने एकजना रोटरियन असाध्यै ठूलो दिल भएका व्यक्ति हुनुहुन्थ्यो। उहाँ आँफै आएर ‘डाक्टर साहेब तपाईँकोमा भर्ना गर्ने बेड पनि छैन रे अब त’ भन्नुभयो। उहाँ हाम्रो बोर्ड सदस्य पनि हुनुहुन्थ्यो। मैले भने - हो दाइ अब के गर्ने? म बनाइदिउँ? भनेर सोध्नुभयो आँफै आएर। मैले भने- बनाइदिनोस्। असी-पचासी लाख खर्च गरेर एउटा ब्लक बनाइदिनुभयो। अर्कोपटक उहाँ फेरि आएर म अपरेशन थियटर एउटा बनाइदिन्छु भन्नुभयो। सवा करोडजतिको योजना थियो त्यसबेलामा एकतला थपेर बनाउनुपर्ने थियो। त्यो प्रस्ताव बोर्डमा लिएर जाँदा मेरो तत्कालीन मन्त्रीले त्यो पैसा लिन दिनुभएन।

किन?

त्यसको जवाफ त मैले यहाँ दिन सक्दिन। त्यो बोर्डबाट पारित हुन सकेन।

तर उनले अन्त्यमा त्यो अपरेशन कक्ष त बनाइदिए नि, हैन?

त्यसको धेरै पछि मन्त्रालयमा मन्त्रीसँग मेरो विवाद भयो। व्यक्तिले दिने सहयोग यसरी रोक्न मिल्दैन, लिउँ, राम्रै हुन्छ भनेँ। अन्तिममा मैले उहाँलाई मनाउन सकेँ, उहाँले मान्नुभयो पछि। अनि लियौं। त्यसपछि हाम्रो कामको स्तर ह्वात्तै बढ्यो।

मुटुरोग अलि धेरै पैसा लाग्ने रोग। गरिबको पहुँच पुर्याउन पनि यहाँले काम गर्नुभएको छ त्यसबारे बताइदिनोस् न।

हामीलाई दुई तीन थरिको चुनौती एकैपटक थियो। एउटा सेवा स्थापित गर्ने छँदै थिएन। त्यसको पहुँच जनतामा कसरी पुर्याउने भन्ने अर्को चुनौती। त्यहाँ पदमा बसेको नाताले मेरो औपचारिक जिम्मेवारी पनि थियो त्यो। त्यो मैले विशेष गरेको भन्न मिल्दैन। राहतका कार्यक्रमहरु: दोश्रो-तेश्रो वर्षमै निशुल्क भाल्भका कार्यक्रमहरु सरकारलाई अनुरोध गर्यौं। विपन्नका राहतका कार्यक्रमहरु ल्याइयो। बच्चा र बृद्धहरुको उपचार निशुल्क गर्न धेरै पहलकदमी गरियो। बच्चाको आफ्नो कुनै दोष नभैकन उनको खानपान जीवनशैलीको केही पाप छैन तापनि उनीहरु जन्मजात रोग लिएर आएका हुन्छन् भने त्यस्ता बच्चाहरु पैसाको अभावमा मर्न नपरोस्। अहिलेसम्म गंगालाल मात्र होइन त्यसपछि मनमोहन कार्डियो थोर्यासिक सेन्टर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्जमा खोलेपछि त्यहाँ पनि सबै कार्यक्रम निशुल्क भाल्भ, विपन्नको सेवा बच्चा र बृद्धको सेवाहरु उपलब्ध छन्।

अनि जयन्ती ट्रष्टबाट पनि मुटुरोगीहरुलाई पैसा आउँछ हैन?

त्यसको कार्यविधि प्रस्ताव गरेको बेलामा जनतामुखी नभै अलि अर्कै थियो। तर त्यो छलफलमा म पनि सहभागी हुन पाएको बेला डा मृगेन्द्रराज पाण्डे र हामीहरुले गरिब जनताले सहयोग पाउने किसिमको मोडल प्रस्ताव गर्यौं, उहाँहरुले मान्नुभयो। फिसटेल लज पोखराको पाँचतारे होटल हो। त्यसको सम्पूर्ण शेयर जयन्ती ट्रष्टको नाममा सारियो।

त्यो होटल सञ्चालन भएर आएको नाफा सबै जयन्ती ट्रष्टमा आउँछ र त्यसबाट मुटुरोगीको उपचारमा लगाइन्छ होइन?

हो,सम्पूर्ण खर्च मुटुरोगीलाई जान्छ।

नेपालमा धेरै मान्छेहरु गरिब छन्, कति मुटुरोगीले यस्तो सहयोग पाउन सक्छन्?

सरकारी गैर सरकारी सबै मिलाएर राहत कार्यक्रम हेर्दा खेरि आजको दिनमा साँच्चै भन्ने हो भने पैसै नभएको कारणले कमसेकम मुटुरोगमा ‘तिम्रो उपचार गर्न सकिन्न जाउ फर्केर’ भन्नु पर्ने स्थिति छैन।

गंगालाल अस्पताल छोडेपछि शिक्षण अस्पताल फर्किनुभयो। त्यहाँको मनमोहन कार्डियो थोर्यासिक सेन्टरमा गंगालालमा सिकेको कुरा काम लाग्यो?

धेरै काम लाग्यो। मुटुरोग सेवा थप परिस्कृत गर्न सकियो। जस्तो- विभिन्न अंगको रोग लागेका विरामीहरुलाई पनि सबै विज्ञहरु शिक्षण अस्पतालमै भएका हुनाले त्यो प्रयोग गर्ने मौका पाइयो। त्यसले धेरै सहज भएको छ।

तपाईँ त मुटुको शल्यक्रिया गर्ने मान्छे। अपरेशनको साथसाथमा त्यसरी संस्था बनाउन के ले प्रेरणा दियो?

जुन देशमा प्रणाली विकसित भएर विशेषज्ञहरुलाई आफ्नै काममा केन्द्रित हुने सुविधा मिलेको छ उनीहरुले त्यही गरि बसेपनि हुन्छ। हाम्रो देशमा त्यो प्रणाली बनिसकेको छैन। म दक्ष चिकित्सक बनेर फर्के देखि नै सेवा विस्थापित नगरीकन आफुले जानेको पनि व्यवहारमा उतार्न नसकिने भयो। तर आजको दिनमा त मैले कामै मात्र गरेर बसे पनि हुन्थ्यो अरुले नै बनाइदिन्छन्। तर म केमा कन्भिन्स छु भने कुनै प्रणाली बनाएर यो सेवा व्यवस्थित गरिएन र अनन्त कालका लागि अनौपचारिक रुपमा मात्र मात्र भयो भने त्यसले लामो समयसम्म समाजलाई सेवा गर्न सक्दैन। त्यसैले विशेषज्ञ सेवा दिन सक्नु एउटा पाटो हो भने त्यसलाई व्यवस्थित गरिदिनु भेदभावरहित र समानतामुखी प्रणाली जनताका लागि कायम गर्नु त्यतिकै महत्वपूर्ण छ भन्ने हामीले बुझेका छौं। म त पन्ध्र-सोह्र वर्ष अगाडि आउने वित्तिकै त्यस्तो काममा परेँ। नयाँ ठाउँमा केही व्यवस्थापकीय अनुभव प्रयोग गर्दा यदि प्रणाली राम्रो हुन्छ र जनतालाई सेवाको स्तरमा बृद्धि गर्न सकिन्छ भने आफ्नो अनुभव किन प्रयोग नगर्ने भन्ने मेरो निर्णय हो। त्यसैले यस्तो नीतिगत र व्यवस्थापकीय काममा म संलग्न भइ नै रहेको छु अहिलेसम्म र गरिरहन्छु होला शायद।

निजी अस्पतालहरु पनि छन् जहाँ गएर धेरै पैसा कमाएर पनि बस्न सक्नुहुन्थ्यो। त्यसो नगरीकन सरकारीमै बसेर धेरै मानिसको मुटु चिरेर बस्नुभएको छ। त्यो गर्ने प्रेरणाचाहिँ के हो?

त्यसलाई त धेरै प्रश्न सोधिराख्न र जवाफ दिन पर्छ जस्तो पनि मलाई किन लाग्दैन भने हामीहरु पैसै कमाउन यो जागिर खाएको होइन। कम्तिमा मेरो सन्दर्भमा त्यो स्पष्ट छ। जीविकोपार्जन गर्न पैसाको महत्व छ भन्ने कुरा चाहिँ म नकार्दिन। त्यो पारदर्शी कानुनसम्मत तरिकाले कमाउन ठिकै हुन्छ। आफ्नो नाम र इज्जत र जनतालाई निशर्त सेवा गर्दा पाउने खुशीको अगाडि पैसा ठूलो कुरा होइन भन्ने मलाई स्पष्ट छ। प्राइभेटमा पनि सर्वसाधारण हुन्छन तर ठूलो स्केलमा सर्वसाधारणलाई सेवा दिने मौका पनि हो यो। यस्तो मौका छोडेर थोरै व्यक्तिलाई विपन्न या धेरै अवसर नपाएका व्यक्तिहरुलाई सेवा गर्ने मौका छोडेर पैसाका लागि थोरै जनसंख्यालाई सेवा गर्ने क्षेत्रमा जान म तयार भइन र शायद हुन्न पनि होला।

विपन्नहरु एकदम गरिब मानिसहरुलाई मुटु अपरपेशन गरेर बचाइसकेपछि एकदम छोएको घटनाहरु छन्?

मेरो जीवन त धेरैजसो त्यस्तै अपरेशन गरेर बित्यो। प्रत्येकपटक निशर्त, कुनै व्याख्याबिना गरेको अपरेशनपछि विरामी निस्कँदाखेरिको आत्मसन्तुष्टी त्यो आँफैसँग मात्रै हुन्छ। त्यो व्यक्त गर्न पनि सकिन्न। जरुरी पनि छैन। तर त्यसैले मलाई बहुत कठीन परिस्थितिमा पनि फर्केर त्यहि ठाउँमा गएर फेरि निशर्त निशुल्क सेवा गर्ने बल दिन्छ।