भारतको नगद संकटमा 'पैसा खेताला'

  • 24 नोभेम्बर 2016
एकजना निर्माण कामदार
Image caption भारतमा नगद संकटका बेला अवसर खोज्ने 'पैसा खेताला' हरु देखा परेका छन्

भारतमा भ्रष्टाचारविरुद्धको कदम भन्दै ५०० र १००० दरका ब्यांक नोटहरुमा प्रतिबन्ध लगाउन सरकारले रातारात गरेको निर्णयले देशको प्राय: नगदमा आधारित अर्थतन्त्रमा सञ्चालनमा रहेको ८६% नगद प्रभावित भएको छ। तर केही चलाख भारतीयहरुले नगद संकटको अवस्थालाई पनि अवसरका रुपमा प्रयोग गरिरहेका छन् भन्छन् बीबीसीका विकास पाण्डे।

दिल्लीको उपनगरीय क्षेत्र नोयडाको एउटा ब्यांक अगाडि एकजना युवाले सोधे-"पैसा वैध बनाउने हो?"

"एकदम सजिलै सबै काम हुन्छ, यहीं उभिएरै कारोबार गर्न सकिन्छ, गर्ने हो?"

ती २८ वर्षीय युवा मुकेशकुमार ब्यांकको ढोका बाहिरको लामा लाइनमा छैनन्।

तर उनी भारतमा देखा परेका थुप्रै "पैसा खेताला"मध्येका एक हुन् जसले नगद संकटको बेलामा पनि फाइदा लिने तरिका फेला पारेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले अचानक गरेका घोषणापछि थुप्रै मानिसहरुको गैरकानुनी पैसा अलपत्र परेको छ जसलाई भारतमा "कालो धन" भन्ने गरिन्छ।

कतिपय मानिसहरु आफूसँग भएका सबै पैसा ब्यांकमा जम्मा गर्न डराइरहेका छन्।

किनकि सरकारले आम्दानीको स्रोत नखुलेका पैसामा २००% कर जरिवाना गर्ने र आम्दानीको स्रोतमाथि छानबिन गरिने बताएको छ।

तर मुकेशकुमार जस्ता मानिसहरु ती चिन्तितहरुलाई "सहयोग" गर्न तत्पर देखिन्छन्।

"सरकारले ब्यांक खातामा २,५०,००० भन्दा कम रकम भएकाहरुलाई कुनै प्रश्न नसोधिने बताएको छ। "मेरो खातामा तपाईंको 'कालो धन' जम्मा गर्न सकिन्छ। म तपाईंलाई १०% शुल्क लगाउँछु अनि तपाईंको बाँकी पैसा केही हप्तापछि फिर्ता गरिदिन्छु," मुकेशले आत्मीयता दर्शाउँदै भने।

एकजना घरजग्गा निर्माण कामदार उनी अरुले "पैसा खेताला" भनेकामा नराम्रो मान्दैनन्। "जबसम्म मैले पैसा कमाउन पाउँछु मलाई जसले जे भने पनि हुन्छ।"

Image caption पिंकु यादव आफ्नो ब्यांक खाता 'भाडामा' लगाउन आएका छन्।

'लाम बस्न भाडामा'

खाताबाट पैसा निकाल्न मानिसहरुले निकै परिश्रम गर्न परिरहँदा ब्यांक तथा पैसा निकाल्ने एटीएम मशिनहरुका अगाडि लामो लश्कर देखिनु अनौठो लाग्न छाडेको छ।

मानिसहरुलाई परिचयपत्र देखाएर थोरै संख्यामा प्रतिबन्धित ब्यांक नोटहरु साट्न अनुमति दिइएको छ।

पहिले ४,५०० सम्म साट्न पाइने सीमालाई गत हप्ता २,००० रुपैयाँमा झारिएको थियो।

त्यो भन्दा बढी रकम छ भने ब्यांक खातामा जम्मा गर्नु पर्छ।

सयौं भवन निर्माणस्थलहरु भएको नोयडामा अरु पनि कामदारहरु भेटिन्छन् जो नगद संकटको अवस्थाबाट केही पैसा कमाउन सकिन्छ कि भन्ने अवसरको खोजीमा देखिन्छन्।

अर्का कामदार सन्दिप साहु २००-३०० रुपैयाँ दिएमा प्रतिबन्धित नोटहरु साटिदिनका लागि लाममा बस्न तयार रहेको बताउंछन्।

"मानिसहरुका लागि पैसा साट्न छदेखि आठ घण्टा लाममा उभिनु सकसपूर्ण काम हो तर मेरो लागि भवन निर्माण कामदारको कामभन्दा यो सजिलो छ।"

सन्दिप भन्छन्, "धनी मान्छेहरुलाई लाममा बस्ने धैर्य हुँदैन" र त्यहीं भएर "तिनीहरु लाम बसिदिए बापत मलाई पैसा दिन खुशी नै हुन्छन्।"

"मेरी श्रीमती र छोराले पनि यस्तै काम गरिरहेका छन्, सबैको पैसा मिलाउँदा आम्दानी राम्रै भइरहेको छ।"

तस्वीर कपीराइट Getty Images
Image caption नगद निकाल्नका लागि मानिसहरुले निकै संघर्ष गर्न परिरहेको छ

'भाडामा ब्यांक खाता'

अर्को ब्यांकमा पिंकु यादव भेटिए। उनले आफ्नो ब्यांक खाता "भाडामा लिने" ग्राहक फेला परेको बताए।

"म २०% कमिसन लिएर अरु कसैका लागि मेरो खातामा २००,००० रुपैयाँ जम्मा गर्दैछु," उनी भन्छन्।

आफ्नो झोला देखाउँदै पिंकु यादव भन्छन् यति धेरै पैसा उनले जीवनमा अहिलेसम्म देखेका थिएनन्।

"म प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको समर्थन गर्छु। धनी मानिसहरुको चिन्तित अनुहार हेर्न पाउँदा सन्तोषको अनुभव हुन्छ।"

सन्दिप साहुले त्यसोभन्दा लाममा उभिएका मानिसहरुले ठूलो आवाज निकालेर समर्थन जनाए।

उनी जे गर्दैछन् त्यो गैरकानुनी काम हो भन्ने उनलाई थाहा छ कि छैन भनेर सोध्दा सन्दिप साहु भन्छन्, "हो मलाई थाहा छ तर मलाई मतलब छैन।"

"सरकार म जस्तो गरीबको पछि लाग्दैन। म यसो थोरै-थोरै पैसा कमाउँदै छु। बरु धनी मानिसहरु रोइरहेका छन् किनकि तिनीहरुको पैसा अवैध हुन पुगेको छ।"

स्थानीय समय अनुसार साढे १२ बज्दा ब्यांक अगाडिको लाम झन झन बढ्दो छ।

Image caption प्रविणकुमार भन्छन् सरकारले कर प्रणालीमा सुधार गर्न जरुरी छ

लामा बसेका केहीले बिहान आफ्नो साथ ल्याएका बट्टाहरुबाट निकालेर खानेकुरा खान थालेका छन्।

नजिकैको गार्मेण्ट कारखानामा काम गर्ने प्रवीण सिंह पनि आफ्नो ब्यांक खातामा २,५०,००० रुपैयाँ जम्मा गर्न पालो कुरेर बसेका छन्।

"हो, यो मेरो आफ्नो पैसा होइन। मेरो हाकिमको पैसा म आफ्नो खातामा हाल्दैछु। उनले विगतमा मलाई निकै सहयोग गरेका थिए," उनले बताए।

"म अहिलेको अवस्थालाई धनी र गरीबबीचको द्वन्द्वका रुपमा हेर्दिनँ। मौका पाएको खण्डमा जो पनि कर छली गर्न चाहन्छन्। सरकारले त्यस्तो धारणामा परिवर्तन ल्याउने प्रयास गर्नु पर्छ र सबैलाई कर तिर्न प्रेरित गर्नुपर्छ।"

*लेखमा उल्लेख भएका नामहरु परिवर्तित हुन्।