चीनको शिनजिआङमा राहदानी जफत

  • 24 नोभेम्बर 2016
शिनजिआङ तस्वीर कपीराइट AP

चीनका अधिकारीहरुले पश्चिमी शिनजिआङ प्रान्तका मानिसको राहदानी जफत गर्न थालेका छन्।

मानव अधिकारवादी समूहहरुबाट त्यो कदमको बृहत्तर आलोचना भएको छ।

एउटा औ‍पचारिक अनलाईन घोषणामार्फत प्रहरीले राहदानी फिर्ता लिने सूचना दिईएको हो।

चीनको सुदूरपश्चिममा रहेको मुसलमान बाहुल्य भएको शिनजिआङका सबै मानिसले अब यात्राका लागि आवश्यक कागजातहरु प्रहरीलाई बुझाउनुपर्ने हुन्छ।

यात्रामाथि नियन्त्रण

प्रहरीले त्यसपछि ती कागजात सुरक्षित राख्ने बताएको छ।

अबदेखि त्यो ठाउँका मानिसले यात्रा गर्नु भन्दा अघि आफ्नो राहदानी फीर्ता पाउनका लागि पहिले देश छोडेर बाहिर जाने अनुमति माग्दै निवेदन दिनुपर्ने हुन्छ।

मानव अधिकारवादी संस्था ह्युमन राईट्स वाचले त्यो कदमलाई मानिसहरुको आवागमनको स्वतन्त्रताको हनन भनेको छ।

'सामाजिक व्यवस्थाका लागि'

आवागमनमाथिका प्रतिबन्धबारे पछिल्ला हप्तामा छिटपुट खबरहरु प्राप्त भएका थिए तर अहिले भने ती खबर चीनको राष्ट्रिय सञ्चार माध्यमले प्रकाशित गर्न थालेको छ।

चीनको सरकारी समाचार माध्यमले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै भनेको छः सामाजिक व्यवस्था कायम गर्नका लागि र आतंकवादको खतराको सामना गर्नका लागि त्यो कदम जरुरी भएको हो।

तिब्बतमा पनि त्यस्तै किसिमको राहदानी नियन्त्रण गर्ने प्रणाली यो भन्दा अघि नै लागू गरिएको छ।