तपाईं महिला भएर पनि…?

  • 25 नोभेम्बर 2016

केही समयअघि नेपाली भाषा लेखाइसम्बन्धी विवाद निकै चर्कियो।

"विद्यालय" लाई विद्यालय वा विदयालय लेख्ने विषयमा भाषाविद्हरू विभाजित भए, र नेपाली सञ्चारमाध्यममा पनि यसबारे बहस चल्यो।

"विद्यालय" र "परिषद्" को हिज्जेबारे बहस चलिरहँदा म र मेरी साथी इतिशा हाम्रो पड्कास्ट "बोजुबज्यै" (soundcloud.com/bojubajai) मा पनि भाषाकै कुरा गर्दै थियौँ।

तर हाम्रो बहस हिज्जेमा नभएर महिलाहरूलाई सञ्चारमाध्यममा चित्रण गर्दा महिलाहरूबारे लेख, रिपोर्ट आउँदा प्रयोग गरिने भाषा र त्यसले महिलाहरूको सफलता, कथा र व्यथाहरूलाई कतिको उचित ढंगले प्रस्तुत गरिरहेका छन् त भन्ने सेरोफेरोमा केन्द्रित थियो।

गम्भीरतापूर्वक

नेपालका कतिपय पत्रिका, टिभी र रेडियोमा महिलालाई वा महिलाका विषयलाई स्थान दिँदा बेलाबखत होच्याएर वा गिज्याएर प्रस्तुत गर्ने गरेको पनि देखिन्छ।

त्यसैगरी लैङ्गिक समानताबारे सामाजिक सञ्जालमा वा कार्यालयमा सहकर्मीहरूसँग बहस थाल्दा "विकासे गफ" भनेर त्यसलाई गम्भीरतापूर्वक नै हेरिँदैन।

राष्ट्रिय दैनिकको पहिलो पृष्ठदेखि ट्वीटर र फेसबुकका भित्ताहरूमा महिला वा महिलाहरूका विषयमा टीका टिप्पणी गर्दा प्रयोग गरिने भाषाले गर्दा कतिपय महत्वपूर्ण विषयहरू छायाँमा समेत परेको देखिन्छ।

हालैको उदाहरण हो, सामाजिक सञ्जालमा कांग्रेस नेतृ सुजाता कोइरालाले स्तन क्यान्सरको उपचारको निम्ति राज्यकोषबाट पाएको ५० लाख रुपैयाँ पछिको बहस।

यो विषय नेताहरूले पाउने विशेष सुविधा, राज्यकोषको अनुचित प्रयोग र स्वास्थ्यसम्बन्धी समाचार र चर्चाको विषय हो।

तर यो बहस सामाजिक सञ्जालमा महिलाको शरीरको एउटा अंगबारे भद्दा टीका टिप्पणीमा सीमित रह्यो।

र, यस्तै भाषाको बहसको अर्को पाटो हो सञ्चारमाध्यममा प्रयोग हुने शब्द, सोधिने प्रश्नहरू र एउटा सीमित परिधिभित्रमात्र महिलाहरूलाई चित्रण गरिने अभ्यास।

उदाहरणका लागि कुनै सफल महिला उद्यमीको अन्तर्वार्तामा महिलालाई सामान्यतया "तपाईं महिला भएर पनि कसरी?" बाट उनको सफलताको कथा शुरू हुन्छ र "अहिलेसम्म अविवाहित किन?" वा "घर र व्यवसायबीच समय कसरी मिलाउनुभयो?" जस्ता प्रश्नहरूकै क्रममा नै टुंगिन्छ।

सफलता

यस्ता प्रश्नले ती महिलाहरूले प्राप्त गरेका व्यावसायिक सफलताहरू गौण हुन जान्छन्।

अझ घरेलु हिंसा, यौन दुराचारजस्ता विषयलाई पनि असंवेदनशील र हल्का तरिकाले नेपाली सञ्चारमाध्यमले प्रस्तुत गर्ने गरेको आरोप लाग्ने गरेको छ।

उदाहरणका लागि सभामुख ओनसरी घर्ती र एकजना चर्चित महिला तेक्वान्डो खेलाडीलाई "तपाईंको श्रीमान् ले मायाले वा रिसले तपाईंलाई कहिले पिट्नुभएको छ?" भन्ने प्रश्न पनि सोधेको देखियो।

अहिले झन् अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यौन दुराचार र महिलाहरूका शरीरकाबारेमा गरेका भद्दा टिप्पणीहरूलाई जसरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत गरियो, त्यसले महिलाहरू र उनका विषयहरूमा हुने बहस अझ तल धकेलिने डर बढेको छ।

भाषा सूचनाको मात्रै नभएर कुनै समुदाय वा वर्गको चित्रण गर्ने वाहक पनि हो।

त्यसैले नेपाली भाषाबारे झगडा भइरहँदा हाम्रा सञ्चारमाध्यमले पनि महिलाबारे सामाग्री तयार पार्दा भाषाको ख्याल गर्न थाल्नुपर्छ।

अनि मात्र चिया पसलदेखि सामाजिक सञ्जालसम्म लैङ्गिक समानताका विषयमा हुने बहस अर्थपूर्ण हुन थाल्छन।