क्युबाका पूर्व राष्ट्रपति काष्ट्रोको निधन

  • 26 नोभेम्बर 2016
काष्ट्रो तस्वीर कपीराइट AFP

क्युबाका पूर्व राष्ट्रपति फिडेल काष्ट्रोको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको छ।

उनी ९० वर्षका थिए।

उनका भाइ समेत रहेका वर्तमान राष्ट्रपति राउलले काष्ट्रोको निधन भएको घोषणा गरेका थिए।

उनले वामपन्थी आन्दोलनका 'प्रमुख कमाण्डर'को निधन भएको बताए।

स्थानीय समय अनुसार शनिबार अबेर उनको अन्त्येष्टि गरिने बताइएको छ।

फिडेल काष्ट्रोको जीवनी

काष्ट्रो: महत्वपूर्ण मितिहरु

  • सन् १९२६: क्युबाको दक्षिण-पूर्वी ओरिएन्टे प्रान्तमा जन्म
  • १९५३: बाटिस्ट शासनविरुद्ध असफल विद्रोहको नेतृत्व गरेकोमा कैद
  • १९५५: माफी दिने समझदारी अनुसार जेलबाट रिहा
  • १९५६: चे ग्वेभारासँग मिलेर सरकारविरुद्ध सशस्त्र युद्ध शुरु
  • १९५९: बाटिस्ट शासन च्यूत, प्रधानमन्त्रीका रुपमा शपथ
  • १९६१: अमेरिकी गुप्तचर निकाय सिआइएद्वारा प्रायोजित क्युबाली निर्वासितहरुको बे अफ पिग आक्रमणविरुद्ध लडाइँ
  • १९६२: तत्कालीन सोभियत संघलाई क्युबामा पारमाणविक क्षेप्यास्त्र परिचालन गर्न दिने सहमति जसका कारण क्युबाली क्षेप्यास्त्र संकट उत्पन्न
  • १९७६: क्युबाको नेशनल एसेम्बलीद्वारा राष्ट्रपति पदमा निर्वाचित
  • १९९२: क्युबाली शरणार्थीबारे अमेरिकासँग सम्झौता
  • २००८: स्वास्थ्यसम्बन्धी समस्या देखाउँदै राष्ट्रपति पद त्याग

एकदलीय

काष्ट्रोको स्वास्थ्यबारे चिन्ताहरु व्यक्त भइरहँदा पछिल्लोपटक गत अगस्टमा उनी सार्वजनिक रुपमा देखिएका थिए।

आफ्ना भाइ राउल काष्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गर्नुअघि एकदलीय शासन व्यवस्था अन्तर्गत झण्डै आधा दशक उनले शासन गरेका थिए।

काष्ट्रोका समर्थकले क्युबालाई जनतामा फर्काएका नेताको रुपमा उनको प्रशंसा गर्दछन् तर उनका विरोधीले विपक्षीमाथि क्रुरतापूर्वक दमन गरेको आरोप लगाउने गरेका छन्।

कम्युनिस्ट पार्टीको सम्मेलनको अन्तिम दिन गत एप्रिलमा उनले विरल भाषण गरेका थिए।

आफू वयोवृद्ध भएको स्वीकर्दै उनले क्युबाली वामपन्थी विचारधारा अझै सान्दर्भिक भएको र क्युबाका जनता 'विजेता हुने' बताएका थिए।