क्युबाली नेता फिडेल काष्ट्रो एक बर्बर तानाशाह: डोनल्ड ट्रम्प

  • 27 नोभेम्बर 2016
फिडेल काष्ट्रो तस्वीर कपीराइट AFP/Getty

नब्बे वर्षको उमेरमा निधन भएका क्यूबाका पूर्व नेता फिडेल काष्ट्रोलाई अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले एक बर्बर तानाशाहको संज्ञा दिएका छन्।

जनवरीमा कार्यभार सम्हाल्न लागेका ट्रम्पले अब क्युबालीहरु स्वतन्त्र भविष्य तर्फ लम्कने आशा व्यक्त गरेका छन्।

हाँक

सन् १९५९ मा सत्तामा पुगेका काष्ट्रोले कम्युनिष्ट क्रान्ति गरे।

उनले शक्तिशाली छिमेकी अमेरिकालाई दशकौंसम्म हाँक दिए। आफ्नो ज्यान मार्ने कैयौं षडयन्त्रबाट समेत उनी जोगिए।

समर्थकहरुले उनले क्युबा देश जनतालाई सुम्पिएको बताउने गरेका छन् भने विरोधीहरुले उनलाई तानाशाह बताउने गरेका छन्।

एक वक्तव्य जारी गर्दै ट्रम्पले क्युबा अझैपनि एक सर्वसत्तावादी टापु रहेको भन्दै अब अन्तत: क्युबाली जनताले स्वतन्त्र भविष्यतर्फ पाइला चाल्ने आशा व्यक्त गरे।

सम्बन्ध

अमेरिकाले क्युबासंगको सम्बन्ध सन् १९६१ मा शीतयुद्धकालीन तनावका माझ तोडेको थियो।

क्युबामाथि उसले लगाएको कडा आर्थिक प्रतिबन्ध आधा शताब्दीभन्दा धेरै समय गुज्रिसक्दापनि जारी छ।

तस्वीर कपीराइट AP

राष्ट्रपति बराक ओबामाको कार्यकालमा दुई देशबीच सम्बन्ध केही सुधार हुन थाल्यो।

सन् २०१५ मा कुटनीतिक सम्बन्ध पुनर्स्थापित भए।

तर ट्रम्पले चुनावी अभियान ताका ओबामाको क्युबा नीतिको खुलेर आलोचना गरेका थिए।

पछिल्लो वक्तव्यमा ट्रम्पले यसअघि आफुले वाचा गरेजस्तो सम्बन्ध सुधारका प्रयास उल्ट्याइदिने बारे केही उल्लेख गरेका छैनन्।

बरु, आफ्नो प्रशासनले क्युबाली जनताको सम्पन्नता र स्वतन्त्रतातर्फको यात्रा सुनिश्चित पार्न सकेको प्रयत्न गर्ने उनले जनाएका छन्।

यसबीच राष्ट्रपति ओबामाले चाहीं काष्ट्रोको प्रभाव र कार्यलाई इतिहासले जाँच्ने भन्दै यो घडीमा अमेरिकाले क्युबाली जनतासमक्ष मित्रताको हात अघि बढाउन चाहेको बताएका छन्।

सम्बन्धित समाचार