‘पूर्वी अलेप्पोका इलाकामा सरकारी नियन्त्रण’

  • 27 नोभेम्बर 2016
अलेप्पो तस्वीर कपीराइट AFP

सिरियाली सैन्यले पूर्वी अलेप्पोमा विद्रोहीहरुको नियन्त्रणमा रहेका दुईवटा इलाकामाथि फेरि नियन्त्रण कायम गरेको जनाएको छ।

जबल बद्र तथा हानानोमा नियन्त्रण जमाएपछि सरकारी सैन्यलाई विद्रोहीहरुको नियन्त्रणमा रहेका इलाकामाथि कारवाही गर्न सहयोग पुग्ने बताइएको छ।

सैयौं सर्वसाधारण ती क्षेत्र छाडेर भागेको समाचारहरुमा जनाइएको छ।

विद्रोही सूत्रहरुले हानानो इलाका अब सरकारी नियन्त्रणमा गएको पुष्टि गरेका छन्। झण्डै पाँच वर्षअघि विद्रोहीहरुले अलेप्पो शहरको उक्त इलाकामाथि कब्जा जमाएका थिए।

अब सरकारी सैन्यले विद्रोहीहरुको नियन्त्रणमा रहेका अन्य पूर्वी इलाकाहरुमाथि पनि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेका छन्।

घेरावन्दी

गएको १३ दिनदेखि सिरियाली सेनाले पूर्वी अलेप्पोलाई चारैतिरबाट गरिरहेको घेराबन्दीमा झण्डै पौने तीन लाख मानिस परेको अनुमान गरिएको छ।

युकेमा मुख्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले सेनाको पछिल्लो हमलामा २७ जना केटाकेटी सहित दुईसय जनाभन्दा बढी सर्वसाधारणको ज्यान गएको जनाएको छ।

उक्त संस्थाका अनुसार पू्र्वी अलेप्पोमा खानेकुरा र औषधीको अभाव छ।

सिरियामा गएको साढे ६ वर्षदेखि जारी गृहयुद्धमा पुरै अलेप्पो शहरमाथि नियन्त्रण कायम गर्नु राष्ट्रपति बसर अल असदको सरकारकालागि एउटा ठूलो जीत हुनेछ।

विद्रोहीहरुले गएको केही दिनयता रुसी समर्थन प्राप्त सिरियाली सैन्यले भीषण हवाइ हमला जारी राखेको बताएका छन्।

उनीहरुले सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पोमाथि रकेट हमला जारी राखेका छन्।

ध्वस्त

ती हमलामा ११ जना केटाकेटी सहित कम्तीमा २७ जना सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ।

गृहयुद्धअघि सिरियाको व्यापारिक तथा औद्योगिक केन्द्रको रुपमा रहेको अलेप्पो शहर अहिले ध्वस्त जस्तै बनेको छ।

शहरको पश्चिमी भागमा सरकारी नियन्त्रण कायम छ भने पूर्वी भाग विद्रोही नियन्त्रणमा छ।

अलेप्पोमा सर्वसाधारण बसोबास गरिरहेका इलाकामा पनि हवाइ हमला गरेको भनी रुसको कडा आलोचना गरिएको थियो।

तर अहिले रुसले उसका हवाइ सेना सिरियाका अरु भागमा सक्रिय रहेको तर अलेप्पोमा जारी हवाइ हमलामा उनीहरुले भाग नलिएको जनाएको छ।

मानवीय सहायता संस्थाहरुले गएको झण्डै तीन महिनादेखि पूर्वी अलेप्पोमा कुनै सहायता सामग्री पठाउन नसकेको जनाएका छन्।

हतियार

संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसले त्यहाँ अत्यावश्यक सामग्री पठाउन अस्थायी युद्ध विरामकालागि आह्वान गरेका छन्, तर अहिलेसम्म त्यो संभव भएको छैन।

संवाददाताहरु भन्छन्, "अलेप्पोमा खाने कुरा र पिउने पानीलाई युद्धको हतियारको रुपमा प्रयोग गरिएको छ। बजारमा पीठो सकिएको छ, न तरकारी नै पाइन्छ। जे पाइन्छ, तिनको मूल्य आकासिएको छ।"

गत महिना दुईवटा अस्पताललाई हवाई हमलाको निशाना बनाइँदा तीनजना चिकित्सक तथा दुईजना नर्सको ज्यान गएको थियो।

हाम्रा संवाददाता भन्छन्, "अलेप्पोमा युद्धविराम गराउने अन्तर्राष्ट्रिय प्रयास सफल नहुँदा त्यहाँ मानिसहरुको जीवन अत्यन्तै कठिन बन्दै गएको छ।"