मध्यदक्षिणपन्थी फियो राष्ट्रपतीय उम्मेदवार

  • 28 नोभेम्बर 2016
फ्रास्वाँ फियो तस्वीर कपीराइट AFP
Image caption मध्यदक्षिणपन्थी उम्मेदवार फ्रास्वाँ फियोले व्यापक आर्थिक सुधारको वाचा गरेका छन्

फ्रान्समा आगामी वर्षको राष्ट्रपति निर्वाचनका लागि पूर्व प्रधानमन्त्री फ्रास्वाँ फियो मध्यदक्षिणपन्थीहरुका उम्मेदवार चुनिएका छन्।

पार्टीभित्र भएको चुनावमा उनले आफ्ना प्रतिद्वन्द्वी--अर्का पूर्व प्रधानमन्त्री एलाँ जुपेलाई पराजित गरेका हुन्।

सबै मतहरु लगभग गणना भइसक्दा त्यसमध्ये फियोले ६७ प्रतिशत मत पाइसकेका छन्।

वाचा

उनका प्रतिद्वन्द्वी अर्को पूर्व प्रधानमन्त्री जुपेले हार स्वीकारिसकेका छन् र फियोलाई राष्ट्रपति दौडमा सघाउने वाचा गरेका छन्।

फियोले आफूले थप निष्पक्ष समाज बनाउन चाहेको बताएका छन्।

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फियोले देशमा आमूल परिवर्तन ल्याउने वाचा पनि गरे।

उनले भने, "यदि फ्रान्सेली जनताले ममाथि विश्वास राख्छन् भने त्यसलाई सम्मानपूर्वक पालना गर्नु मेरो दायित्व हो। म परिस्थितिको गम्भीरता र देशवासीको अपेक्षा बुझ्छु"।

उनले आगामी एप्रिलमा हुने राष्ट्रपतीय चुनावमा कट्टरदक्षिणपन्थी उम्मेदवार मारि ल पेन र अर्का एक जना समाजवादी उम्मेदवारको सामना गर्नुपर्नेछ।

तस्वीर कपीराइट Reuters
Image caption एलाँ जुपेले फियोलाई राष्ट्रपतीय दौडमा सहयोग गर्ने घोषणा गरिसकेका छन्

प्रस्ताव

६२ वर्षे फियोले नाटकीय आर्थिक सुधारहरुको प्रस्ताव गरेका छन्।

जसमा ५ लाख सरकारी जागिर कटौती गर्ने, निवृत्त हुने उमेर बढाउने र सम्पत्ति कर हटाउने लगायतका योजना छन्।

अब सबैको आंखा सोसलिस्ट पार्टीमाथि छ र राष्ट्रपति फ्रास्वाँ ओलान्द अर्को कार्यकालका लागि आफ्नो पार्टीको उम्मेदवार बन्ने दौडमा सहभागी हुन्छन् वा हुंदैनन् भनेर हेरिएको छ।