‘प्रतिरक्षा गर्नसक्ने स्थानमा विद्रोही’

  • 29 नोभेम्बर 2016
सिरिया तस्वीर कपीराइट Reuters
Image caption अलेप्पोको विद्रोही नियन्त्रित क्षेत्रको ४० प्रतिशत हिस्सामा अहिले सरकारी उपस्थिति छ

पूर्वी अलेप्पोका सिरियाली विद्रोहीहरुले सरकारी फौजको आक्रमणपछि आफूहरु थप प्रतिरक्षा गर्न सक्ने स्थानमा फर्किएको बताएका छन्।

अलेप्पोमा सरकारले पुन: नियन्त्रण कायम गरिहाल्यो भने पनि आफूहरुको विद्रोह अन्त्य नहुने विद्रोहीहरुका एक जना वरिष्ठ वार्ताकारले जनाएका छन्।

धक्का

सरकारी फौजलाई सघाइरहेको रुसको विदेशमन्त्रालयले विद्रोही कब्जामा रहेका कुल भूभागको ४० प्रतिशत सरकारको नियन्त्रणमा आएको बताएको छ।

विमानबाट भीषण बमबारीपछि प्राप्त उक्त सफलता राष्ट्रपति बसर अल असदका सशस्त्र विपक्षीहरुका लागि ठूलो धक्का हो।

राष्ट्रिय टेलिभिजनले विस्फोटक पदार्थ र धरापहरु निस्क्रिय पार्दै सरकारी फौज अगाडि बढिरहेको जनाएको छ।

भीषण लडाइँका कारण हजारौं सर्वसाधारण सुरक्षित स्थानको खोजीमा भागेको विवरणहरु प्रकाशमा आएका छन्।

संकेत

विद्रोहीहरुले लामो समय आफ्नो पकडमा रहेको पूर्वी भूभागसंगै उत्तरी क्षेत्र वरपरका स्थान पनि गुमाएका छन्।

तस्वीर कपीराइट Reuters
Image caption हजारौं सर्वसाधारण सुरक्षित स्थानको खोजीमा अलेप्पोबाट भागेका छन्

विद्रोही समूहका वरिष्ठ वार्ताकार जोर्ज साब्राले बीबीसीसंग कुरा गर्दै अलेप्पोमा सरकारले पुन: नियन्त्रण कायम गरिहाल्यो भने भने त्यसले विद्रोह रोकिएको संकेत नगर्ने बताएका छन्।

उनले भने, "क्रान्तिका लागि अलेप्पो महत्वपूर्ण स्थान हो तर त्यो अन्तिम भने होइन। समस्या चाहिँ के हो भने, जब रुसी र इरानीहरुले अलेप्पोमा कुनै व्यक्तिलाई मार्छन् भने उनीहरुले संगसंगै राजनीतिक प्रक्रियाको एउटा हिस्साको हत्या गरिरहेका छन्"।

दुई जना विद्रोही अधिकारीहरुले रोयटर्स समाचार संस्थालाई जनाए अनुसार विद्रोही समूह अहिले थप प्रतिरक्षा गर्न सक्ने स्थानमा फर्किएको छ।