‘विश्व फुटबल जगतको सहानुभूति’

  • 30 नोभेम्बर 2016
ब‍्रजिल तस्वीर कपीराइट AFP/GETTY

कोलम्बियामा भएको हवाई दुर्घटनामा आफ्ना अधिकांश खेलाडी र प्रशिक्षक गुमाएको श्यापेकोएन्सी क्लबप्रति विश्व फुटबल जगतले सहानुभूति व्यक्त गरिरहेको छ।

क्लबको दक्षिण ब्रजिल स्थित गृहनगरमा जम्मा भएर दशौँ हजार समर्थकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनो र सबैभन्दा चर्चित खेलाडी पेलेले फुटबल क्षेत्र शोकमा परेको बताएका छन्।

ब्रजिलका पहिलो डिभिजनका ११ टोलीले अब पाँच जना खेलाडीमात्रै जीवित रहेको श्यापेकोएन्सीको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएका छन्।

श्रद्धाञ्जली

उक्त टोलीका खेलाडीहरु आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगितामा भाग लिने क्रममा दक्षिण अमेरिकी क्लब फुटबलको फाइनल खेल्न कोलम्बियातर्फ गइरहेका थिए।

प्रतिस्पर्धी कोलम्बियाली टोली एटेलेटिको न्याशिओनलले आफू पराजित भएको स्वीकार्दै श्यापेकोएन्सीलाई विजेता घोषणा गर्न प्रस्ताव गरेको छ।

सामाजिक सञ्जाल ट्विटरमार्फत क्लबले उक्त खेल निर्धारित भएको समयमा सेतो पोशाक लगाएर रंगशालमा आउन आफ्ना समर्थकहरुलाई अपिल गरेको छ।

ब्रजिलको प्रथम श्रेणीका क्लबहरुले श्यापेकोएन्सीलाई खेलाडीहरु नि:शुल्क सापट उपलब्ध गराएर टोली पुनर्निर्माणमा सघाउने बताएका छन्।

उनीहरुले ब्रजिलको लिगलाई तीन वर्षसम्म उक्त क्लबलाई घटुवा नगर्न आग्रह गरेका छन्।

बार्सिलोना क्लबका लिओनेल मेस्सी र नेमार अनि म्यानचेष्टर युनाइटेडका वायन रुनी सहित कयौँ फुटबल हस्तीहरुले हालैका वर्षमा अप्रत्याशित सफलता निकालिरहेका श्यापेकोएन्सीका खेलाडी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कोलम्बियाली नागरिक उड्ययन अधिकारीहरुले दुर्घटनाग्रस्त विमानमा २१ जना पत्रकारहरु पनि रहेको र दुवै विमानका फ्लाइट डेटा रकर्डरहरु फेला परेको बताएका छन्।

तस्वीर कपीराइट AP

श्यापेकोएन्सी टोलीका खेलाडी बोकेको ७७ जना सवार उक्त चार्टड विमान दुर्घटना हुँदा ६ जनाको जीवितै उद्दार गरिएको थियो।

सपना

कोलम्बिया उड्नुअघि फेसबुकमा राखिएको भिडियो सन्देशमा श्यापेकोएन्सीका व्यवस्थापकले मेडेलिनको यात्रालाई क्लबको अहिलेसम्मको सबैभन्दा महत्वपूर्ण क्षण भनेका थिए।

तस्वीर कपीराइट AFP

झन्डै दुई लाख मानिसहरुको बसोवास रहेको एउटा सानो नगरको टोलीले निश्चय पनि कोपा सुडअमेरिकाना जस्तो प्रतियोगिताको फाइनल खेल्नुलाई अभूतपूर्व उपलब्धिका रुपमा हेरिएको थियो।

सन् १९७३ मा स्थापना भएको उक्त क्लबले सन् २०१४ यता ब्रजिलको पहिलो डिभिजन प्रतियोगिता खेलिरहेको छ।

श्यापेकोएन्सी अघिल्लो हप्ता दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताको फाइनलमा तीन वर्षयता पुग्ने पहिलो ब्रजिली टोली बनेको थियो।

क्लबका एक जना संस्थापकले पछिल्लो दुर्घटनाले सबैजनाको सपना चकनाचुर पारिदिएको बताएका छन्।