दुर्घटनाग्रस्त विमानमा ‘इन्धन अभाव तथा विद्युतिय गडबडी’

  • 1 डिसेम्बर 2016
ब्रजिल तस्वीर कपीराइट EPA

कोलम्बियाका अधिकारीहरुले ब्रजिलको फुटबल टोली श्यापेकोएन्सीका खेलाडीहरु चढेको विमान इन्धन अभावका कारण दुर्घटनाग्रस्त भएको बताएका छन्।

मेडेलिन शहर नजिकैको विमानस्थलमा अवतरण हुनु केही मिनेट अघि विमानचालकले एअर ट्राफिक कन्ट्रोललाई विमानमा इन्धन कम भएको र भयानक विद्युतिय गडबडी देखिएको बताएका थिए।

अधिकारीहरुले विमानको 'ब्लायक बक्स' अनुसन्धानका लागि ब्रिटेनमा पठाइने र त्यसको निर्माता कम्पनी बीएइले त्यसलाई खोलेर जाँचबुझ गर्ने उल्लेख गरेका छन्।

ब्रजिलका सैनिक विमानहरु मृतकका शव स्वदेश लैजान विहिबार कोलम्बिया पुग्दैछन्।

कारण

कोलम्बियाली अधिकारीहरुले दुर्घटनाको कारणबारे मुख खोल्नु अघि नै विमानको चालक दलका सदस्य र कोलम्बियाको एअर टाफ्रिक कन्ट्रोलका अधिकारी बिच भएको कुराकानीको चुहाइएको श्रव्य रेकर्डिङ्ग बाहिर आएको थियो।

त्यसमा दुर्घटना हुनुअघिको हताशपूर्ण संवादको अंश भेटिन्छ र चालकले विमानमा गम्भीर विद्युतिय गडबडी भएको र इन्धन अभाव रहेको चेतावनी दिइरहेको सुनिन्छ।

संवाद सकिने समय अघि चालकले आफूले नौ हजार फिटको उचाईमा विमान उडाइरहेको बताएका थिए।

तस्वीर कपीराइट Reuters

कोलम्बियाको मेडलिन शहर नजिकैको पहाडी क्षेत्रमा सोमबार अबेर उक्त विमान दुर्घटनाग्रस्त भएको थियो।

विमान खस्दा समेत विस्फोटन नभएकाले इन्धन अभाव रहेको पुष्टी हुने एक जना कोलम्बियाली सैनिक सूत्रले एएफपी समाचार संस्थालाई बताएका छन्।

विमानमा इन्धनको अभाव कसरी भयो, चुहावटका भएको थियो वा उडान भर्ने समयमा नै पर्याप्त इन्धन हालिएको थिएन कि भन्नेबारे अझै केहि प्रष्ट भएको छैन्।

अनुसन्धानकर्ताहरुले अहिलेसम्म दुर्घटनाको कुनै एक कारण दिएका छैनन् र जाँचबुझको पूर्ण प्रतिवेदन आउन महिनौँ समय लाग्न सक्छ।

शोक

तस्वीर कपीराइट Reuters

दुर्घटनाग्रस्त विमानमा सवार ७७ यात्रु मध्ये जम्मा ६ जनाको जीवितै उद्दार गरिएको थियो।

यसबिच सेतो पोशाक लगाएर मैन बत्ती बोकेका दशौँ हजार मानिसहरुले कोलम्बियाको मेडेलिन शहरको फुटबल मैदानमा जम्मा भएर मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

श्यापेकोएन्सी र एटलेटिको न्याशिओनेल क्लबबिचको प्रतिस्पर्धा शुरु गर्ने भनी तय गरिएको समयमा नै रंगशालामा श्रद्धाञ्जली कार्यक्रम शुरु भएको थियो।

समारोहमा उपस्थित ब्रजिलका विदेशमन्त्रीले समर्थकहरुलाई ऐक्यबद्धताका लागि धन्यवाद दिएका थिए।