ओलाँद दोस्रो कार्यकालका लागि चुनाव नलड्ने

  • 2 डिसेम्बर 2016
फ्रान्स तस्वीर कपीराइट AFP

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले आगामी वर्षको एप्रिलमा हुने राष्ट्रपतिय चुनावमा आफू नलड्ने घोषणा गरेका छन्।

इमान्दारीसाथ फ्रान्सको सेवा गरेको तर आफ्नो उम्मेदवारीले समर्थकहरुलाई विभाजित गराउनेमा सचेत रहेको बताए।

विश्लेषकहरु भन्छन् फ्रान्सको भावी राष्ट्रपति पदका लागि हुने चुनावमा मध्य दक्षिणपन्थी उम्मेदवार फ्राँस्वा फियों र उग्र दक्षिणपन्थी उम्मेदवार मरिन ली पेनबिच कड्डा टक्कर हुने देखिन्छ।

अलोकप्रिय

पछिल्ला केहि महिनाहरुमा नै राष्ट्रपति ओलाँदको पुनर्निर्वाचनको बाटो एकदमै कठिन हुने प्रष्ट भइसकेको थियो।

मत सर्वेक्षणहरुले उनी जनतामाझ एकदमै अलोकप्रिय रहेको देखाउँदै आएका थिए।

उनले बेरोजगारी घटाउन सफल भए मात्रै पुन: उम्मेदवार बन्ने बताएका थिए।

त्यसमा सफलता हात लाग्न थालेको उल्लेख गर्दै उनले उक्त परिणाम एकदमै ढिलो आएको बताएका छन्।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै उनले भने, "मेरो उम्मेदवारीले मेरा समर्थकहरुलाई एकताबद्ध बनाउँदैन। त्यही भएर मैले दोस्रो कार्यकालका लागि प्रयास नगर्ने र राष्ट्रपति चुनावका लागि उम्मेदवार नबन्ने निर्णय गरेको छु।"

कमजोर

राष्ट्रपति ओलाँदको लोकप्रियताको स्तर एकदमै खस्किएको छ र धेरै मतदाताहरुले अहिले उनलाई एक जना निर्णय लिन नसक्ने र कमजोर नेतृत्व क्षमताका नेताका रुपमा लिने गरेका छन्।

तस्वीर कपीराइट AP
Image caption प्रधानमन्त्री म्यानुएल भाल्सले मनोनयनका लागि पार्टीभित्र प्रतिष्पर्धा गर्ने बताएका छन्

देशको अर्थतन्त्र व्यवस्थापनको विषयलाई लिएर उनले आफ्नै दल भित्रबाट गहिरो विभाजनको सामना गरिरहनुपरेको छ।

प्यारिसबाट बीबीसीका एक जना संवाददता भन्छन् ओलाँदको पछिल्लो निर्णय उनको समाजवादी पार्टी र सम्भवत: स्वयं उनका लागि एउटा ठूलो राहत जस्तो देखिन्छ।

'फिफ्थ रिपब्लिक' भनिने अहिलेको संविधान कार्यन्वयनमा आएयता दोस्रो कार्यकालका लागि लड्न आफू योग्य नरहेको बताउने उनी पहिलो बहालवाला राष्ट्रपति हुन्।

बीबीसी संवाददाता भन्छन्, त्यो निश्चय नै लाजमर्दो हो र त्यो भन्दा पनि बढी लाजमर्दो चाहीं उम्मेदवारी दिने निर्णय गरी राष्ट्रपति चुनावको मनोनयनको पहिलो चरणमा आफ्नै पार्टीभित्र हार्नु हुने थियो।