ट्रम्प र ताइवानका राष्ट्रपतिबिच कुराकानी

  • 3 डिसेम्बर 2016
डोनल्ड ट्रम्प तस्वीर कपीराइट AP

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले सन् १९७९ मा औपचारिक सम्बन्ध तोडिएपछि स्थापित अमेरिकी नीतिको बेवास्ता गर्दै ताइवानका राष्ट्रपतिसंग टेलिफोनमार्फत प्रत्यक्ष कुराकानी गरेका छन्।

ट्रम्पका अधिकारीहरुका अनुसार उनले ताइवानका राष्ट्रपति साइ इंग वेन संग अमेरिका र ताइवानबीच नजिकको आर्थिक राजनीतिक तथा सुरक्षा सम्बन्धबारे चर्चा गरे।

रुष्ट

उक्त कदमले बेइजींग निकै रुष्ट हुने ठानिएको छ।

ताइवानलाई आफ्नो देशको अभिन्न अंग मान्ने चीनले उक्त टापुतर्फ सयौं क्षेप्यास्त्र तेर्स्याएर राखेको छ र परेको खण्डमा बल प्रयोग गरेरै भएपनि उसलाई गाभ्ने चेतावनी दिंदै आएको छ।

तस्वीर कपीराइट EPA
Image caption राष्ट्रपति साइको दल स्वतन्त्रताको पक्षधर मानिन्छ

ट्रम्पको कुराकानीबारे हालसम्म बेइजींगले कुनै सार्वजनिक टिप्पणी गरिसकेको छैन।

ट्रम्प टोलीका अधिकारीहरुले कुराकानीका बिचमा उनले साइले गत जनवरीमा भएको चुनाव जितेको प्रति बधाइ दिएको जनाएका छन्।

५९ वर्षीय साइले उनको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टिलाई गत चुनावमा भारी बहुमत दिलाउँदै ताइवानकी पहिलो महिला नेतृ बन्न पुगेकी थिइन्।

उनको दल परम्परागत रुपमै चीनबाट स्वतन्त्रताको पक्षमा रहने गरेको छ।

वाशिंगटनले ताइवानसंग सन् १९७९ मा कुटनीतिक सम्बन्ध तोड्दै बेइजींगको एक चीन नीतिप्रति समर्थन जनाएको थियो।

विवाद समाधानका निम्ति बेइजींगले हंगकंग जस्तै एक देश दुई प्रणालीको नीति अपनाउने भन्दै आएको छ।

अमेरिकाले ताइवानसंग अनौपचारिक मित्रवत सम्बन्ध भने कायमै राख्दै आएको छ।