दिवंगत खेलाडीहरुका शव गृहनगरमा

  • 3 डिसेम्बर 2016
कोलम्बिया तस्वीर कपीराइट Reuters

कोलम्बियामा विमान दुर्घटनामा ज्यान गुमाएका ब्रजिलका फुटबल खेलाडीहरुका शव उनीहरुको गृहनगर पुर्याइएको छ।

शापेको शहरस्थित रंगशालामा गर्न लागिएको श्रद्धाञ्जलीसभामा एक लाखभन्दा बढी मानिसहरु सहभागी हुने अनुमान गरिएको छ।

मेडेयीन शहरको बाहिरी भेगमा गत सोमबार भएको उक्त विमान दुर्घटनामा ६ जनामात्र बाँच्न सफल भएका थिए।

त्यहाँ खेलाडीहरु क्षेत्रीय प्रतियोगिता अन्तर्गत अन्तिम खेलका लागि गएका थिए।

अवतरण

विमान दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन तर पाइलटले इन्धन अभावका कारण अवतरण गर्नुपर्ने भन्दै कन्ट्रोल टावरमा गरेको कुराकानीको रेकर्डिङ्ग बाहिर आएको छ।

राष्ट्रिय झण्डामा बेरिएको दिवंगत खेलाडीहरुका शव बोकेको सैनिक विमान शापेको विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलमा आयोजित सभामा उपस्थित राष्ट्रपति मिसेल टेमेरले दिवंगत खेलाडीका परिवारप्रति समवेदना व्यक्त गरे।

रंगशालामा आयोजना गर्न लागिएको श्रद्धाञ्जलीसभामा राष्ट्रपति उपस्थित नहुन सक्छन् किनकि त्यहाँ उनीविरुद्ध प्रदर्शन हुन सक्ने ठानिएको छ।

स्थानीय समय अनुसार शनिबार बिहानै शव बोकेका दुईमध्ये पहिलो सैनिक विमान अवतरण गर्दा सम्मानमा आतिशबाजी गरिएको थियो।

लामबद्ध

दिवंगत खेलाडीहरुप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न शुक्रबार मेडेयीनका सडकको दायाँबायाँ मानिसहरु लामबद्ध भएका थिए।

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुमा ६४ जना ब्रजिलका, पाँचजना बोलिभियाका र एक-एकजना भेनेजुएला एवं पाराग्वेका थिए।

गाडीमा राखी उनीहरुको शव शापेको शहरको रंगशालामा पुर्याइनेछ जहाँ श्रद्धाञ्जलीसभा गरिनेछ।

भारी वर्षामाझ शनिबार बिहानैदेखि शुभचिन्तकहरु जम्मा हुन थालेका थिए भने कतिपय शुक्रबारनै रंगशाला पुगेका थिए।

एकजना शुभचिन्तक पामेला लोप्सले समाचार संस्था रोएटर्सलाई भनिन्, "शवपेटिका र खेलाडीका आफन्तहरुलाई देखेपछि मात्रै मलाई विश्वास लाग्नेछ।"

यो सप्ताहन्तमा हुने सबै खेलअघि एक मिनेट मौन धारण गरिनेछ।