‘डा.केसीले अनसन तोड्दै’

  • 4 डिसेम्बर 2016
डा केसी

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधारको मागसहित संघर्षमा उत्रिएका वरिष्ठ चिकित्सक गोविन्द केसीले आइतबार आफ्नो आमरण अनसन तोड्न लागेको वार्ताकारहरुले बताएका छन्।

उनी २२ दिनयता अनसनरत छन्।

वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन नियुक्ति लगायतका १० बुंदे माग डा. केसीले पछिल्लो अनसनका क्रममा राखेका थिए।

संशोधन

तिनै माग समेट्ने गरी वार्ताकारहरुले शनिबार अबेर एउटा खाका डा. केसीलाई दिएका थिए र त्यसमा केही भाषिक संशोधन गरेपछि उनले सहमति जनाएको वार्ताकारहरुले जनाएका छन्।

शनिबारै वरिष्ठताका आधारमा डा. जेपी अग्रवाललाई आइओएमको डीनमा नियुक्त गरिएको थियो।

डा. केसी पक्षधर र सरकारी टोलीबीचको वार्तामा संलग्न नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले डा. केसी आइतबार बिहान अनसन तोड्न सहमत भएको जानकारी दिए।

सहमति अनुसार एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र १० प्रतिशत बढाएर ३८ लाख रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिएको छ।

उपत्यकाबाहिर चाहिँ उक्त शुल्क ४२ लाख रुपैयाँ हुनेछ।

विवाद

डा.केसीको पछिल्लो प्रमुख मागमध्येको त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा भने प्रष्ट रुपमा सम्बोधन भएको देखिदैंन।

उपकुलपतिहरुको नियुक्तिसम्बन्धी मापदण्ड बनाउन शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा समिति बनाउने सहमति भएको बताइएको छ।

उपकुलपतिको विवादमा दुवै पक्षले यसलाई मिलनविन्दु ठानेजस्तो प्रतीत हुन्छ।

अब बन्ने मापदण्ड बहालवालाको हकमा पनि लागू हुने वा नहुने भन्नेबारे प्रष्ट छैन।