राष्ट्रपतिद्वारा सहमतिमा जोड, दलहरु अडानमै

  • 4 डिसेम्बर 2016
सर्वदलीय तस्वीर कपीराइट PM Secretariat

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक ध्रुवीकरणबाट आफू चिन्तित भएको भन्दै यसको निकास खोज्न सदनमा रहेका दलका शीर्षस्थ नेतालाई आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले दलका नेतालाई आफ्नै निवासमा बोलाएर यस्तो आग्रह गरेकी हुन्।

बैठकमा सहभागी नेताले गतिरोध अन्त्यका निम्ति उपाय सुझाउनेभन्दा पनि आफ्ना अडानको पुष्टि गर्ने प्रयास गरेका थिए।

सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालले संसद् अवरुद्ध गर्दै आएको छ।

राष्ट्रपतिको इच्छा

प्रदेश सीमांकनमा गरिएको परिवर्तनविरुद्ध प्रदेश नम्बर ५ का जिल्लामा विरोध जारी छ।

यी विषयलाई लिएर सत्तापक्ष-प्रतिपक्ष र तराईकेन्द्रित दलबीच त्रिकोणात्मक किचलो देखा परेको छ।

बैठकमा राष्ट्रपति भण्डारीले राजनीतिक निकाशकै उपायको खोजी गर्न आग्रह गरेको जनाउँदै नेकपा मालेका अध्यक्ष सीपी मैनालीले भने, "पछिल्लो स्थितिका बारेमा चिन्ता व्यक्त गर्दै उहाँले निकास के हुन सक्छ भनेर जान्न र आश्वस्त हुन चाहको कुरा राख्नुभयो।"

संविधानको कार्यान्वयन त्यसको संशोधन र संविधानमा व्यवस्था गरिएका निर्वाचनहरुका बारेमा समेत बैठकमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीले छलफल गरेर सहमति खोज्न आफू तयार रहेको धारणा राखेका थिए।

अडान

तर सदनमा प्रतिनिधित्व गर्ने सबैजसो दलका शीर्षस्थ नेताले दलीय अडान नै प्रस्तुत गरेका थिए।

उनले भने, "काँग्रेसका नेताले संशोधन प्रस्तावको औचित्य पुष्टि गर्न खोज्नुभयो। प्रतिपक्षी दलले प्रस्तावित संशोधन राष्ट्रहितमा नरहेको मत राख्यौँ। सबैले आ-आफ्ना धारणा राख्ने काम नै भयो।"

तराई केन्द्रित दलका नेताले संशोधनमा थप परिमार्जनको आवश्यकता औंल्याएका थिए।

राष्ट्रपतिले आह्वान गरेको बैठकले दलहरुलाई बढ्दो दूरी कम गर्न केही मात्रामा भएपनि दवाव हुने कतिपयको आंकलन छ।

तर बैठकमा सहभागी नेताले आ-आफ्ना धारणा राख्नमै केन्द्रित भएकाले निकासको खोजीका लागी दलबीचमै थप छलफल आवश्यकता औंल्याएका छन्।